जिल्ला नेतृत्वको सहमति पालिकाका उम्मेदवारले मानेनन्

डिसी नेपाल
१७ वैशाख २०७९ ८:३२

सुर्खेत। सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन्। १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो। मनोनय फिर्ता नलिएपछि अब एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था आएको छ।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कंग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो। तर कांगेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए। गठबन्धनविरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेपनि त्यसो नहुँदा जिल्लामा टुंगो लागेका स्थानीय तहबाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ। छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ।
नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो। माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरेपनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता गरे पनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन्।

१५ वैशाखमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरेपनि उम्मेदवारले त्यो कुरा नमान्दा सहमति विथोलिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *