रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता, बुटवलबाट सबै भन्दा बढी

डिसी नेपाल
१७ वैशाख २०७९ ९:३७

भैरहवा। रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । देशव्यापी रुपमा पनि उम्मेदवारी फिर्ता शुक्रबार सम्पन्न भएको छ।

रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यसैगरि मायादेवी र रोहणिीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदावरी फिर्ता लिएका छन्।

भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन। सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन।

यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन्। सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन्।

उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन्। यसका अलावा अन्य पार्टीका केही उम्मेदवार पनि रहेका छन्। उनीहरुमध्ये अधिकांशले हाल इच्छा नभएकोले स्वेच्छाले स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २३को उपदफा १ बमोजिम नाम फिर्ता लिएका छन भने केहीले, नेपाली कांग्रेस केन्द्रिय कार्यालयको पत्रानुसार उम्मेदवारको सूचिबाट नाम हटाएका छन्।

रुपन्देहीको १६ पालिका मध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेको छैन। १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन्। जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन्।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्नेछ। शुक्रबार अन्तिम नामावली प्रकाशन गरसँगै आयोगले आज साँँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्छ।

चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउँछन्। चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *