स्पाइसजेटको यात्रुवाहक विमान भयंकर तुफानमा फस्यो

डिसी नेपाल
१९ वैशाख २०७९ १५:४८
588
Shares

काठमाडौं । आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी ७३७ विमान टर्बुलेन्स तुफानमा फस्यो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तर, पाइलटको सुझबुझका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा काल वैशाखीको आँधीमा फसेको थियो । त्यसपछि विमान डगमगाउन थाल्यो र केबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए ।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। यसपछि पनि खानाको ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका छन् । नाम नखुलाइएका अधिकारीले सिट बेल्टको साइन अन गरेपछि खाना सेवा बन्द गर्नुपर्थ्यो भनेका छन् । साथै, सबै यात्रुहरू आफ्नो सिटमा पुग्नुपर्ने थियो, तर यी सबै कुरालाई बेवास्ता गरियो।

विमान अवतरण गर्ने वित्तिकै घाइतेहरुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै स्पाइसजेटका प्रवक्ताले घाइतेलाई हरसम्भव सहयोग गर्ने पनि बताएका छन् ।

अप्रिल र मेमा पूर्वी भारतमा मेघ गर्जन, चट्याङ र तीव्र हावा सामान्य मौसमी घटनाहरू हुन्। यसलाई काल वैशाखी वा नोर्भेस्टर भनिन्छ। झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशामा काल वैशाखीको प्रभाव देखिन्छ। यो प्रायः हिन्दू महिना वैशाखमा हुन्छ, त्यसैले यसलाई काल वैशाखी भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *