लौरो पुराण: अटेरी लौरोको इतिहास र वर्तमान 

डिसी नेपाल
२० वैशाख २०७९ ७:२५
464
Shares

लौरोलाई संस्कृतमा दण्ड पनि भनिन्छ। पुराणहरू, महाभारत र विदुर नीतिमा समेत लौरोको वर्णन छ। अराजकतापूर्ण कालमा देवताहरूको आग्रहमा ब्रह्माले दंडनीति शास्त्र रचना गरे। महाभारत युद्ध पछि शान्तिपर्व, अध्याय १५ मा पनि दण्डको वर्णन छ।

दण्डः शास्ति प्रजाः सर्वा दण्ड एवाभिरक्षति।
दण्डः सुप्तेषु जागर्ति दण्डं धर्मं विदुर्बुधाः।।

अर्थात् दण्ड (लौरो) नै शासन गर्छ। लौरो नै रक्षा गर्छ। जब सब सुती रहेका हुन्छन् त्यस बेला पनि दण्ड जागा नै रहन्छ। बुद्धिमानले दण्डलाई धर्म पनि भनेका छन्। भ्रष्ट र अपराधिलाइ नियन्त्रणमा राख्नको लागी दण्डको व्यवस्था प्रभावी र सफल शासकीय संयन्त्रको आवश्यक अङ्ग हुन्छ।

मधेसमा एउटा उखान छ जसको लौरो उसकै भैँसी! आउनुहोस् केही ऐतिहासिक अटेरी लौराहरूको चर्चा गरौँ जसले चार जात छत्तीस वर्णको साझा फूलबारीमा मत्ता भई चरेर समृद्धिका  बिउ खाएर गरिब किसानलाई सधैँ मार्का पार्ने विभिन्न जन्तुहरूलाई धपाउन या नियन्त्रणमा लिन सफल भए।

शुक्रराज जोशीको लौरो, दशरथ चन्द ठाकुरको अटेरी लौरोले जहानियाँ राणा शासन विरुद्ध अटेरी गरे। त्यो लौरो खुकुरी र तरबार विरुद्ध
लड्यो। यी अगुवाहरूको लौरो अत्याचार विरुद्ध खम्बाझैँ  अडिग रह्यो। व्यवस्था हल्का बदलियो।

जनताको खेतबारीमा सरु खाने रागोंलाई यो लौरोले धपाएर प्रजातन्त्रको गोठमा बाँधेर राख्न सफल भयो। तर एउटा राँगो बल्ल नियन्त्रण  गरेको केही समय भित्रै  अर्को जहानियाँ राज शाही शासनको मत्ता हात्ती मैमत्त भएर डुल्न थाल्यो। त्यो मत्ता हात्तीको सामन्ती संरक्षणमा अरू छावाहरूको मण्डल नै खडा भयो जसले एकात्मक राज्य लादेर दसकौँ स्वतन्त्रता र समृद्धिका  रङ्गी  विरङ्गी फुल फक्रिन दिएन।

सबै जनता शहरमा लौरो (रुखको हाँगा), कलम लिएर र जंगलमा  हँसिया-हथाैडा, बन्दुक लिएर बल्ल बल्ल  यो मत्ता हात्ती नियन्त्रण गरे।  २४० वर्ष पछि जनता  रैतीहरू प्रजा हुँदै सार्वभौम नागरिक बने! तर दुर्भाज्ञ नेपालीको कि जनताको दूध खाएर विष वमन गर्ने सर्प मरेझैँ भयो तर विभेदको वैचारिक विष छद्म भेषमा बाँकी नै रह्यो।

गणेशमानको अटेरी लौरो, कृष्ण प्रसादको अटेरी लौरो अनि मनमोहनको अटेरी लौरोले निरङ्कुश ताना शाही विरुद्ध अडिग रही रैतीलाई प्रजासम्म बनायो। व्यवस्था आधा मात्रै बदलियो किनकि वास्तविक लौरो (राजदण्ड) र बन्दुक (सेना) राजाको हातमा थियो।

व्यवस्था अल्लि फराकिलो हुँदै थियो तर सीमान्तकृत वर्ग, महिला इत्यादिमाथि दमन र विभेद कायम नै रह्यो।  यसै बीच  सब रूढिवादी पुरातन सोचको प्रतीक राजतन्त्रको हात्ती फेरी अनियन्त्रित भयो ! यो हात्तीका माउतेहरू सँग पनि लौरो र बन्दुक थिए !

सबै जनता शहरमा लौरो (रुखको हाँगा), कलम लिएर र जंगलमा  हँसिया-हथाैडा, बन्दुक लिएर बल्ल बल्ल  यो मत्ता हात्ती नियन्त्रण गरे।  २४० वर्ष पछि जनता  रैतीहरू प्रजा हुँदै सार्वभौम नागरिक बने! तर दुर्भाज्ञ नेपालीको कि जनताको दूध खाएर विष वमन गर्ने सर्प मरेझैँ भयो तर विभेदको वैचारिक विष छद्म भेषमा बाँकी नै रह्यो।

क्रान्तिको लौरो अल्लि कमजोर भयो कि यो पुरातन सोचको सर्प फेरी प्रतिगामी फणी उठाई हाल्छ।  अब यो जडसुत्रवादी पुरातन सोचको हरेली सर्प  यो साझा फूलबारीको घाँसमा यसरी लुकेर बसेको छ कि चिन्न नै मुस्किल छ।  घाँस भनेर हातले समाए डस्न सक्छ। त्यसैले यी दिग्भ्रमित हातले अब लौरो समाऔँ । टाढै बाट लौरो चलाई घाँस र सर्प छुट्टाऔँ।

राजनीति शास्त्रको  दोस्रो नाम नाम दंडनीति पनि हो। विदुर नीति अध्याय ३, श्लोक ४० पनि दण्डको माहात्म्य वर्णन छ।

न देवा दण्डमादाय रक्षन्ति पशुपालवत् ।
यं तु रक्षितुमिच्छन्ति बुद्ध्या संविभजन्ति तम् ॥

अर्थात् देवताहरू हामीलाई गोठालाले लौरोले रक्षा गरेझैँ गर्दैनन्, जसको रक्षा गर्नु छ देव तिनलाई बुद्धिमत्ता र विवेक प्रदान गर्छन्! अटेरी बनौँ, विवेकको लौरो समाऔँ!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *