आडम्बरी समाजको चिरफार ‘रुइबा’ – Dcnepal

आडम्बरी समाजको चिरफार ‘रुइबा’

अमेरिका बसेपनि करेँसामा अकबरे खुर्सानी रोपेकी छु। रायोको साग, फर्सी लगाएकी छु। वरिपरी फूल फुलाएकी छु। मलाई माइती गाउँ सम्झाउने साथीहरू हुन् अकबरे खुर्सानी, रायोका साग र फूलहरू।  अरूले पनि रोपेका छन् तर उनीहरूको सोख र मेरो सोख फरक छन्।

इलाममा जन्मिएर हुर्केकी भएकाले मेरो माइती गाउँ सम्झाउने कोसेलीका रूपमा बगैँचामा तिनै वनस्पतिलाई सुम्सुम्याउँछु र फुर्सदमा उनीहरूसँगै खेल्ने गर्छु। अझ इलामबाट ल्याएर चिया रोप्ने रहर छ मेरो।

नेपाली भाषा र साहित्य पढेकी म। काठमाडौँमा दशकबढी नेपाली साहित्य पढाएँ पनि। अमेरिका आएपछि नेपाली साहित्यका किताब पढ्ने अवसर निकै कम प्राप्त हुन्छ। जति हात लाग्छन् खुरुखुररु पढ्छु। यही मेसोमा एउटा पृथक विषयवस्तुको नेपाली उपन्यास पढ्ने अवसर जुट्यो। उपन्यास पढेपछि मेरो धारणालाई यहाँ राख्ने कोशिस गरेकी छु।

फेसबुक म्यासेन्जरमा साथी चेतनाथ आचार्यले एउटा सन्देश छोडेछन्। लेखेका थिए ‘मेरो उपन्यासका केही प्रति अमेरिकामा पनि उपलब्ध छन्। इच्छा लागेमा पढ्नुहोला।’

चेतनाथ आचार्य मेरा साथी अनि माइती जिल्ला इलामकै एकजना पत्रकार। हाल बेइजिङमा बसेर पत्रकारिता गरिरहेका छन् उनी। आचार्यले लेखेको नयाँ उपन्यास ‘रुइबा’का बारेमा फेसबुकतिर चर्चा देखेकी थिएँ। पढ्ने मन निकै अगाडिदेखि लागेको थियो। नेपालबाट कोही अमेरिका आउने भएमा मगाएर पढौँला भन्ने सोचिरहेका बेला अमेरिकामै उपलब्ध छ भन्दा खुशीले उत्तेजित हुँदै उनले दिएको फोनमा तुरून्तै सम्पर्क गरेँ।

भुटानी शरणार्थीका रूपमा अमेरिका आएका केशव नेपालसँग रहेछ किताब। फोन गरेको भोलिपल्टै केशवले मलाई किताब पठाइ दिए। किताब तुरून्तै हातमा आइपुगे पनि कार्यव्यस्तताका कारण निकै दिनपछि मात्र पाना पल्टाउन पाएँ। जब पढ्न थाले छोड्नै मन लागेन। पढिसकेपछि केही लेख्नुपर्छ भन्ने लाग्यो।

किनभने उपन्यासले उठाउन खोजेका कुराहरू प्रतीक र बिम्बका रूपमा छन्। ती हामी सबैका साझा कहानी हुन सक्छन्। लामो समय भएको छ लेख्न छोडेको तर उपन्यासको कथाले लेख्न झकझक्यायो।

रुइबाको अर्थ वंश रहेछ भन्ने कुरा उपन्यास पढेपछि जानकारी भयो। उपन्यासमा न्याउली एउटी प्रतिनिधि पात्र रहिछन्। पढेका नपढेका, नेपाली महिलाहरू आफ्नो काम गर्ने ठाउँमा रुइबाकी न्याउलीको जस्तै भित्तामा पुर्‍याइएका यथार्थहरू अप्रकाशित रूपमा धेरै रहेका छन्।

उपन्यास पढिरहँदा मुख्य पात्र न्याउलीमाथि ज्यादति गर्ने हरेक चरित्रहरू मेरा आँखा अगाडि नामैसहित आए झैँ लाग्यो। यस्ता चरित्रहरूले न्याउलीलाई सताइरहँदा घरकी आफ्नी श्रीमतीलाई छल गरिरहेको हुन्छ। एउटा अत्याचारी चरित्रले धेरैवटा कोणमा धेरैजनामाथि धोका दिइरहेको हुन्छ। त्यो नेता जो अत्याचार र यौन शोषण गर्छ, के उसकी श्रीमतीमाथिको धोका होइन? उसका सन्तानमाथिको अन्याय होइन?

धादिङको पाबाङबाट काठमाडौँ छिरेकी न्याउलीले हरेक हण्डर र ठक्कर खाइसकेपछि मन्दिरमा भेटिएककी ‘दिदी’ले आफ्नो संस्थामा लगेर विभिन्न सीपमूलक तालिम दिँदा टुसाएका आशाहरू ‘देवी’ र ‘दया’ दिज्यूहरूले नेताको घर सजाउन पठाउँदा केही थाहा नपाएकी न्याउली फर्केर आउँदा जे अनुभव बटुल्छे, त्यही नै नेपालको चुरो हो।

न्याउलीको नियति भोग्ने अमान्छेहरू काठमाडौँमा थुप्रै छन्। सडकमा जिन्दगी बिताउनेहरूको अवस्था भुसिया कुकुरकोभन्दा नाजुक रहेको कुरा उपन्यासले सशक्त रूपमा उठाएको छ।

एउटा नेता महिला कल्याणका नामको संस्था खोल्छ, दया र देवीहरू दुःख पाएका दिदीबहिनी बटुलेर जम्मा पार्छन्। नेताको बलले राज्यले महिला कल्याणका लागि छुट्ट्याएको रकम यिनकै संस्थामा प्राथमिकताका साथ जान्छ। तालिम सीप सिकाइन्छ र संस्थागत रूपमा कल्याण गर्न जम्मा गरिएका दिदी बहिनीहरूको तिनै नेताका घर पठाएर शोषण/यौन शोषण गरिन्छ।उजुरबाजुर लाग्दैन किनकि हरेक निकाय यस्तैले नियन्त्रण गरेका छन्। दोहोरो चरित्र बोकेर देश र भ्रष्टाचार/बेथिति सँगै चलाइन्छ।

हो, यो नेपालको एउटा रूप हो। समाजले भोगिरहेको दारूण अवस्था हो। न्याउली मात्र होइन, म, तपाईं, हामी र हामीभन्दा फरक शोषक बलत्कारीहरूका श्रीमतीहरू पनि अहिले संस्थागत रूपमा पीडित छन्। छोराछरीलाई थाहा हुँदैन, बाबु-आमा किन यति धेरै पैसा भएर पनि ओखर र पाङ्ग्राजस्ता छन्?

संसदसम्म पहुँच भएका यस्ता नेता, मानवअधिकारकर्मी, हाँस्य-व्यङ्ग्यका ठेकेदार, शिक्षण संस्थाका फाउण्डर जो न्यायपालिका र कार्यपालिकामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा (डोनरका रूपमा) पहुँच राख्छन् र धन्दा चलाउँछन् अनि देशले नसमेटेका मान्छे आफूले समेटेको धाक दिन्छन्।

न्याउलीहरू बोलून, कसले सुन्छ? हरतरहले यिनको प्रयोग हुन्छ। पढे-लेखेका पीडित महिलाहरू बोलून्! जागिर कहाँ खान्छौँ? बलात्कारी नेता, मानवअधिकार, हाँस्यव्यङ्ग्यका ठेकेदार, स्कुल-क्याम्पस संचालकका पत्नीहरू बोलून!कसले पत्याउँछ? श्रीमान्‌को इज्जत-स्टाटस र चन्दादान, समाज-कल्याणभन्दा ठूलो झ्याउरे श्रीमतीको बिद्रोहको आवाज हुन्छ?? ती राधे! राधे!! जान्छन्, ओशोतिर पस्छन् र क्षमा गर्न बस्छन्!

बलात्कारी नेताले संरक्षकको रूपमा भाषण गर्दा न्याउलीमा फैलिएको घृणाको तरङ्गले नपढेकी न्याउली मात्र होइन, मजस्ती पढे-लेखेकी महिला काठमाडौँको मुटुमा जरा गाडेर धनी बाबु-आमाका पैसा बटुल्न सफल केही कलेजहरूमा पढाउने क्रममा सास्ती, अन्याय, टर्चर र यौन शोषणमा तम्सने उच्चस्तरीय कलेज-क्याम्पसका नेतृत्व गर्ने कुख्यात ब्वाँसाहरूप्रति २०५७ सालपछिका केही वर्षहरूको घृणा फेरि छताछुल्ल बल्झियो।

एक-दुईवटा ती आदरणीय ब्वाँसाका श्रीमतीहरूको हृदयविदारक यथार्थहरू थाहा पाइसकेपछि यो विषयमा अध्ययन भएको छ होला त? भन्ने प्रश्न उठाउन मन लागेको छ।
मर्ने दिनहरू पर्खेर बसेकी न्याउलीलाई त्यो समस्या झेल्न, त्यो अवस्थामा पुर्‍याउने मतियारहरू देशमा मन्त्री, नेता, देवी र दयाका नाममा देशका न्याउली र न्याउली जस्ताका लागि आएको बजेटमाथि हालीमुहाली गरेर बसिरहेकै छन्। भित्र आउने बजेटका आधारमा सिंहदरवार बाहिर संस्था खोलेर देशको बजेट प्रयोग गरेर न्याउलीहरू जन्माइरहेका छन्।

म पनि विदेशमा बस्छु। फरक संस्कार र संस्कृतिमा बिहे भएको छ। चाडबाडमा परिवार भेला हुन्छन्, दुई दिनभन्दा धेर विशुद्ध अमेरिकन खाना खाएर बाँच्न सक्दिन म। तेस्रो दिन नेपाली भान्छा तयार गरिहाल्छु। न्याउलीलाई त्यति लामो समयपछि नेपालीमा बोल्न पाउँदा, नेपाली चिया खान पाउँदा न्याउली ‘रोई’ भनेर पढ्दा म पनि सँगसँगै रोएँ, न्याउलीका लागि। धेरै समयपछि किताब पढेर मात्र होइन किताब पढ्दा रोएर पनि रेकर्ड राखेँ मैले।

परदेशमा आफ्नो खाना पकाएर खानसम्म नपाउने अवस्थामा बसेकी न्याउलीको कथा धेरै मर्मस्पर्शी छ। तर, न्याउलीहरू जन्माउने काँग्रेस/कामरेडहरू नै हुन्। सधैँ घुमिफिरी तिनीहरू नै सत्तामा छन्। कसले कारवाही गर्छ? जबसम्म नेपालमा टेबुलमुनिको कारोबार बन्द हुँदैन तबसम्म न्याउलीहरू अझै धेरै जन्मिरहने छन्। यसको अन्त्य हुनुपर्छ। अहिलेको राजनीतिले यो अवस्था अन्त्य गर्ने सम्भावना छ?

उपन्यासले उठाएको अर्को सशक्त पक्ष भनेको वैदेशिक रोजगारीको कालो कर्तुत हो। वैदेशिक रोजगारीका नाममा मान्छेको बिक्री वितरणले कसरी जरा गाडेको छ भन्ने कुरा दोर्जेलाई विदेश पठाउन गरिएको नाना प्रयासले छर्लङ्ग पार्छ। छातीमा दाग देखिनु रोजगारीका लागि खास गरिकन क्षयरोगको सङ्केतको रूपमा हेरिन्छ अन्तर्राष्ट्रिय स्तरमा।

अमेरिकामा म पनि मानव संशाधन (ह्युमन रिसोर्स) को क्षेत्रमा काम गर्छु। यहाँ हरेक राज्यको आफ्नै कानुन छ। केही राज्यहरूले एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट आएका मानिसहरूलाई स्थलगत काममा भर्ना गर्दा क्षयरोगको परीक्षण अनिवार्य गरेको छ।

त्यो छातीको दागसमेत छलछाम गरेर दोर्जेलाई विदेश पुर्‍याइन्छ। यसमा दोर्जेको नामको जग्गा जमिन मात्र होइन दोर्जेसमेत गुमाउँछे न्याउलीले। यस्ता अवसरका नाममा छिरेका विकृतिहरूले नछोएको न कुनै गाउँ छ न समुदाय। यसरी मान्छे बिक्री गर्ने गिरोहहरू सोझै सिंहदरवारसँग जोडिएका छन्/हुन्छन्। सबै पार्टी जो सत्तामा थिए/छन्, उनीहरूबाट संरक्षित छन् मान्छेका व्यापारीहरू।

केही नेता र कार्यकर्ताको पेशा हो यो। जनतालाई गरिब नै राखेर तिनको गरिबीमाथि खेलवाड गर्नु नेपाली राजनीतिको धर्म हो र त्यसका सिकार सधैँ न्याउली र दोर्जे तहका निर्दोष जनता हुन्छन्। तिनको निर्दोष अवस्थालाई दुरूपयोग गरेर राष्ट्रको बजेट र जनताको सिरीखुरी लुट्नेहरूको गिरोह सिंहदरवारदेखि गाउँगाउँसम्म देशको बेरोजगारी समस्यालाई दुरूपयोग गर्दै मेनपावरका एजेन्टका नाममा जरा गाडेका छन् भन्ने कुरालाई उपन्यासले समेटेको छ।

दुईचार पैसा कमाएर परिवारलाई सुविस्ता दिन भनेर घर छोडी किरा खोज्न जाने र प्राण छोड्न घरमा ल्याइने न्याउलीको बाबु होस् या बाकसमा फर्केर घरसम्म लास ल्याउन/आउन (पहल नपुगेको) पनि नसकेको ‘दोर्जे मरेकै होला’ भनेर बस्नुपर्ने जस्तो पीडा नबेहोर्ने गाउँ कुन होला र आज? यही हो नेपालीले खोजेको परिवर्तन?

त्यति मात्र होइन गरिब दुःखी गाउँले नेपालीलाई विदेशमा बेचेर किर्नोजस्ता ढाडिएकाहरू विभिन्न राजनीतिक दलबाट टिकट किनेर पालिकाप्रमुख, सांसद र मन्त्री पनि बनेका छन्। उनीहरूमाथि कारवाही हुनुपर्नेमा कारवाही गर्ने निकायमा ढसिमसी गरिरहेका छन्।

नीति निर्माण गर्ने ठाउँमा पुगेका छन्। अनि सड्छन् दोर्जेका लासहरू मलेसियामा। थुनिन्छन् न्याउलीहरू विदेशी जेलमा। न्याउलीका शरीरमा लागू पदार्थका क्याप्सुल खाँद्नेहरूले त निरन्तर व्यापार चलाइरहेकै छन् नेपालबाट। ठूला पार्टीका चन्दादाता होलान्। भोलि फ्याट्ट मन्त्री बन्छन्। हाय ! मेरो माइती देशको दुर्दशा !!

तामाङहरूको संस्कृतिले निकै मन तान्छ मेरो। उनीहरूको प्रकृतिपूजक चरित्रले आनन्द दिन्छ पाठकलाई। गणेश हिमालसित प्रार्थना, जूनमा पितृहरू देख्ने वा खोज्ने, भूमिदेउतासित अनुमति माग्ने, नाग र सिमे, भूमे पूजा, जन्मदेखि मृत्युसम्मका संस्कारहरूले तामाङ पहिचानलाई मिहिन ढङ्गले उठाएको छ रुइबाले।

प्रकृति र मानिसबीचको सम्बन्ध अनि पाबाङ गाउँको सजीव चित्रणले उपन्यासका पाठकलाई उहीँ पुर्‍याउँछ। त्यतिमात्र होइन सोझा तामाङ जातिमा रहेको ईश्वर र भक्तिभावप्रतिको विश्वास तथा कष्टकर जनजीवन पनि अत्यन्त सहज बनाउने सामाजिक संरचनाले तामाङ संस्कृतिका बारेमा खोजबिन गर्नेका लागि ठूलो उत्साह थप्नेछ रुइबा उपन्यासले। उपन्यासमा न्याउलीकी आमाको अवस्था के छ भन्ने कुरा चाहिँ कतै उल्लेख नहुँदा खल्लो लागेको छ।

न्याउलीकी आमाको दुःख र गरिबीले दुखेको पाठकको मनमा न्याउलीको दशाले तोरीको फूल देखाइदिन्छ। स्थानीय तहमा न्याउलीका आमाजस्ता धेरै आमाहरू गाउँबाट सदरमुकामसम्म हतपति नपुगी आफ्नो सेरोफेरोमै सङघर्ष गरेर जुनी बिताएका थिए भने नयाँ पुस्ताले कमाउने आकर्षणमा घर छोड्दा कहाँ पुग्छन्, कता ठोकिन्छन् अनि अल्झिन्छन् भन्ने कुराको प्रमाण दोर्जेको अवसान र न्याउलीको ठेगाना हो।

धेरै वर्ष अगाडि काइली तामाङ नाम गरेकी लागू पदार्थ ओसार-पसारदेखि बेचबिखनसम्म गर्ने नेपाली महिलाका बारेमा समाचारमा सुनेकी थिएँ। अझै पनि सरल र निर्दोष नेपालीहरू प्रयोग गरेर नेपालको बाटो हुँदै लागू पदार्थ ओसारिएकै छ। यसको नकारात्मक असर मोफसलका नेपालीलाई पर्दछ। यसमा संलग्न हुने बलवानहरू त सधैँ सुरक्षित छन्। न्याउली र मदन न हुन् सजाय भोग्ने!

चिनियाँ जेलमा रहेका चिनियाँ महिलाकै कथाहरू रुइबामा पढ्दा आफ्नो अनुभव राख्न मन लाग्यो अलिकति। अमेरिकामा एसियालीभन्दा खासगरी चाइनिज, जापानिज, कोरियन जस्ता मङ्गोलियन अनुहार हुनेलाई बुझ्दा रहेछन्। त्यसमा पनि अगाडि र पछाडिबाट उस्तै देखिनु नै एसियालीको विशेषता हो भन्छन्।

यो कुरा चाइनाको जेल परेकाहरूले न्याउलीको छाती ‘कति ठूलो र आकर्षक’ भन्दा मलाई न्याउली त नेपाली हो नि त कोइलीका जस्ता आँखा भएकी साउथ एसियन अर्थात् ‘बिउटीफुल’ जस्तो लाग्यो। चाइनिज, कोरियन, जापानिज आदिले आँखा, चिउँडो, नाक र स्तनको शल्यक्रिया गरेको टीभी शोमा देख्न पाइन्छ। गर्न त अमेरिकाम धेरै अकल्पनीय कस्मेटिक सर्जरी गरेका अनि त्यसले काम गरेको वा बिगार गरेको देखिन्छ। न्याउलीकी बन्दी साथी स्याउली चैँ अंग्रेजी अङ्क ‘एक अर्थात् 1’ (दुवैतिरबाट उस्तै देखिने) नै रहिछे क्यार।

तामाङ जातिमा मामाचेला र फुपूचेलीबीच हुने बैबाहिक संस्कारको प्रतिनिधित्व गरे पनि न्याउलीकी साथी क्रिस्टिनाले चर्चमा बिहे गर्दा ऋण नलागेको प्रसङ्गले समुदाय र संस्कृतिभित्र कतिपय अनावश्यक खर्चका बाटाहरू हामीले पनि बन्द गर्नुपर्ने हो जस्तो लाग्छ।

उपन्यास पढिरहँदा मुख्य पात्र न्याउलीमाथि ज्यादति गर्ने हरेक चरित्रहरू मेरा आँखा अगाडि नामैसहित आए झैँ लाग्यो। यस्ता चरित्रहरूले न्याउलीलाई सताइरहँदा घरकी आफ्नी श्रीमतीलाई छल गरिरहेको हुन्छ। एउटा अत्याचारी चरित्रले धेरैवटा कोणमा धेरैजनामाथि धोका दिइरहेको हुन्छ। त्यो नेता जो अत्याचार र यौन शोषण गर्छ, के उसकी श्रीमतीमाथिको धोका होइन? उसका सन्तानमाथिको अन्याय होइन?

‘रुइबा’ उपन्यास यथार्थवादी हो। यसले नेपाली सामाजिक अर्थव्यवस्थाको भण्डाफोर गरेको छ। दुरदराजबाट सपनाका भारी बोकेर काठमाडौँ छिर्नेहरूलाई कथित राजधानीबासीले गरेको व्यवहारले सहरी क्षेत्रको विकृत अनुहार उदाङ्गो बनाएको छ। मानवताबिहिन मान्छेहरुको भीडको अर्को नाम नै सहर रहेछ जस्तो।

नेपाली र चिनियाँ संस्कृतिलाई जोड्दै तामाङ जातिको सोझोपनको दुरूप्रयोग गरेर लागू पदार्थ तस्करीमा फसाइने कुरा संभवत पहिलोपटक आख्यानमा समेटिएको छ। यस अर्थमा रुइबा नेपाली उपन्यासमा नवीन र फरक छ भन्दा अत्युक्ति हुँदैन। न्याउली पात्रभित्र पसेर उनको अन्तरकुन्तरका मनोदसा र भावनालाई मिहिन ढङ्गले प्रस्तुत गर्नु सर्जकको सबैभन्दा ठूलो कला हो।

अमेरिकामा मेरो मन बहलाउने अकबरे फूलबारी र रायोको साग माइतीगाउँकै साथीले लेखेको रुइबा थपिएको छ। विदेशी जेलमा रहेकी न्याउलीको चित्कारले मजस्तो आप्रवासी नेपालीको मन रुवाउँछ भने कसो नेपाली शासक वर्गको आँखा नखोल्ला।

फ्लोरिडा, अमेरिका

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो