सुरक्षाकर्मीले भोट कसलाई दिने? – Dcnepal

सुरक्षाकर्मीले भोट कसलाई दिने?

एक जना भुपु सैनिक बुबाले सोध्नु भयो। भोट कहा हालौं बाबु। भुपु सैनिक काकाको प्रश्न उही थियो। भुपू ब्रिटिश गुर्खाज क्याप्टेन ससुराको जिज्ञाशा पनि त्यही थियो। आफ्ना घरमा ३ पुस्ता भुपू र बर्तमानको साङ्लो। भोट कहाँ हाल्ने सबै अलपत्र। जवाफ दिनुपर्ने, म आफैं झन् धेरै अलपत्र। किन यस्तो अवस्था आयो मैले भुपू र बर्तमानको मनोबिज्ञान जान्न चाहें।

भुपूहरुको मनोबिज्ञान

हिजो झलल बुठ् टल्काएको। खुकुरीमा धार हालेर चम्काएको। क्वार्टरगार्डमा ब्रासोले मोलेर तोप टल्काएको। खोलो माथि फर्काएको। अत्याधुनिक विदेशी सेनाको आक्रमण बिफल तुल्याएर गढी र मातृभूमि रक्षा गरेको। पत्याईनसक्नु अग्रजहरुको हिम्मत इमान र गौरवगाथा।

तर आज किन पटक पटक लडेर ल्याएको लोकतन्त्रलाई बुझ्न सकिँदैन। लोकतन्त्रको प्राण निर्वाचनलाई चिन्न जान्न सकिँदैन। निर्वाचन केवल एउटा ढुकुटी सक्ने औपचारिकता मात्र किन भइरहेको छ? किन जाली, फटाहा, तस्कर, बिचौलिया, दलाल, ज्यानमारालाई सफाई दिने र चयन गर्नैपर्ने जालसाछी भएको छ। के हो यो गठबन्धन भनेको? सिद्धान्त, आदर्श, निष्ठा, आस्था, उद्देश्य आकास जमिन फरक।

तर निर्वाचनमा सत्ता शक्ति कब्जा गर्न नक्कली एकाकार। कति अस्वभाविक र अप्राकृतिक? काँग्रेसले हिजो पिट्ने काट्ने माओवादीलाई भोट माग्नु र हाल्नुपर्ने।  माओवादीले  आफूलाई  आतंककारी  घाेषणा गरेकाे कांग्रेसलाई मत हालिदिनुपर्ने।  एमाले माओवादी एकता उस्तै अप्राकृतिक थियो। फुट झन् अप्राकृतिक।

यो एउटा मतदातालाई दिग्भ्रमित मात्र होइन, पागल बनाउने कुरा भएको छ। मतदाताहरु कुइराको काग जस्तै भएका छन्। उता किन लोकतन्त्र कोमामा गएको छ? ढुकुटी रित्तिएको छ? लोकतन्त्रका अवयवहरु संबैधानिक निकायहरु, न्यायपालिका, कार्यपालिका, ब्यवस्थापिका लगायतका राष्ट्रिय संयन्त्रहरु भताभुङ्ग लथालिङ्ग अवस्थामा छन्? बिश्वको उत्कृष्ट लोकतन्त्रलाई टल्काउने, चम्काउने, हँसाउने र माथि उठाउने काम राजनीति अथवा नेतृत्वको हो। तर किन त्यो कुशासन र घृणाको छीः छीः रछ्यान भएको छ?

भुपूहरुलाई अथवा थाकेका पुराना बृद्धबृद्धा मतदाताहरुलाई निश्पक्ष शान्त र स्वतन्त्र निर्वाचन र त्यसले मलजल गरेको नमूना लोकतन्त्र एवं त्यसको मिठो फल शान्ति र समृद्धि चाहिएको छ।

बहालवालाहरुको मनोबिज्ञान

लोकतन्त्रको परिभाषा, सिद्धान्त, संस्कार र उपदेयता के हो? आफूमात्र दुधले धोएको। आफूमात्र इमान्दार, जनप्रिय र त्यागी। बाँकी सबै निकम्मा, दुष्ट, बिदेशी एजेण्ट, भ्रष्टाचारी, कुलंघार र लम्पसारबादी। कति नराम्रो गाली बेइज्जति र लान्छना । युवाहरुको कान पाकिसक्यो। मन थाकिसक्यो। कति भ्रममा पर्ने। कति झुक्किने र ठगिने?

कति मतपत्रमा दुरुपयोग भएर निर्वाचन पछि डस्टबिनमा फ्ँयाकेको परिवार नियोजनको साधन जस्तो हुने? जित्ने नेतालाई फेरि नचाहिने माल जस्तो भएर दूरदराज तथा दृष्टि बाहिर सडेर बस्नुपर्ने।

बहालवाला र युवाहरुलाई चाहिएको छ छोराछोरी र भाइ बहिनीलाई शिक्षा, स्वास्थ्य, रोजगार, गाँस–बास, कपास र शान्ति। सक्कली लोकतन्त्र। सीमा सुरक्षा। प्रकृतिको दिगो रक्षा। बहालवाला भनेका युवाहरु हुन्। युवाहरु झन धेरै पागल भएका छन्। ठगी चोरी ढाँटी छली बुझ्ने चेतनाले ओतप्रोत छन्।

उनीहरुलाई तात्तातो परिणाम चाहिएको छ। छिटो मातृभूमि समृद्ध भएर चम्केको हेर्नु छ। देश टल्काउने चम्काउने र उठाउने अदम्य साहस र तागत छ उनीहरुसँग। बहालवाला र भुतपूर्वक गरेर करिब १० लाख मतदाताको अन्यौलग्रस्त मनोविज्ञान यही हो सायद।

सबै पुस्ताले बुझेको कुरा

नेता तिनै हुन्। नीति त्यही हो। चुनावी घोषणा पत्र उही हो। नारा एउटा, काम अर्को। जनताको सम्प्रभुता खोस्ने काइते नेतृत्व। माथिबाट तल आदेश निर्देशन धम्की र डण्डा बर्साउने नेतृत्व। बिक्री भएको उम्मेदबारलाई भोट हालिदिनुपर्ने। जिताई दिनुपर्ने। निर्वाचन स्थानीय। स्वार्थ, पद पैसाको खेल केन्द्रीय। बालिग मताधिकार, मतदाता, निर्वाचन, केन्द्रमा नेतृत्वको लागि भर्‍याङ मात्र। लोकतन्त्र दुनियालाई देखाउने दात मात्र। खाने दाँतवाला लोकतन्त्र उग्र गनाइसकेको छ।

तलको राय सुझाव माथि पठाउने सुन्ने ढोका बन्द। माथिको निर्देशन तल सर्कुलर गर्ने हाई वे खुल्ला। अक्षरशः पालना गर्नु पर्ने। नत्र कार्वाही। कस्तो चुनाव? कस्तो लोकतन्त्र?

समाबेशी नेताका परिवारलाई। महिला, अपाङ्ग पिछडिएको जात क्षेत्रलाई भनेको आरक्षण आफन्तलाई। राम्रालाई बहिस्कृत। हाम्रालाई समावेश।

नेता तिनै हुन्। नीति त्यही हो। चुनावी घोषणा पत्र उही हो। नारा एउटा, काम अर्को। जनताको सम्प्रभुता खोस्ने काइते नेतृत्व। माथिबाट तल आदेश निर्देशन धम्की र डण्डा बर्साउने नेतृत्व। बिक्री भएको उम्मेदबारलाई भोट हालिदिनुपर्ने। जिताई दिनुपर्ने। निर्वाचन स्थानीय।

खोई महिलालाई सम्मान र संबिधान प्रदत्त कोटा?  कांग्रेस, एमाले, माओवादीले किन महिलाको २ प्रतिशत कोटा नघाउन सकेनन् यो स्थानीय निर्वाचनमा? लाजको पसारो। देख्नेलाई लाज। विश्वको आँखामा छारो हाल्ने र ठग्ने काइदा। मुलुकलाई ठग्मा दर्ज। आफैं संबिधान बनाउने आफैं धज्जी उडाउने। सुरक्षा फौजले मात्र समावेसीकरण र लोकतान्त्रिकरण मानिदिनुपर्ने।

केन्द्रमा नेतृत्व लाछी छ। पराईको गोटी भएर निरीह छ। सार्वभौमिकता पराईलाई बुझाएको छ। निर्वाचन कसको केन्द्रीय नेतृत्वको। लोकतन्त्र कसलाई? जनतालाई होइन काइते नेतृत्वलाई भएको छ। राजनीति पोलेर खाइएको छ। लाजनीति हेरिनसक्नु छ।

सुरक्षा खतरा

उम्मेदवारी दिनेको संख्या अधिक छ। स्वतन्त्र प्रतिश्पर्धा होइन, जालझेलको तालमेल, खुट्टा तानातान र अन्तरघात ज्यादा छ। नेतृत्वहरु खिइएको र घृणित छ। चेन अफ कमाण्डको मर्म र भावना हराएको छ। राजनीतिमा माथिबाट तल कमाण्ड कन्ट्रोल छैन। अवज्ञा धेरै छ।

यो बिकृति सुरक्षा निकायमा छिर्ने अधिक संभावना छ। अस्वस्थ र प्रतिशोधपूर्ण प्रतिश्पर्धाले असुरक्षाको चुनौती चुलिने छ। हत्या, हिंसा, अपहरण, धम्की, चन्दा संकलन र बुथ् लुट्ने संभावना धेरै छ। स्वस्थ प्रतिश्पर्धा गाली गलौज र प्रतिशोधमा प्रवेश गरेपछि अप्रिय घटनाहरु घट्छन् नै। सीमा सुरक्षा संबेदनशील हुने छ।

४/४ वटा सुरक्षा निकायहरुले नपुगेर म्यादी प्रहरीको समेत सुरक्षा रिङ खडा गरिएको छ। कतिपय दल विशेषका आफ्नै सुरक्षा दल छँदैछन् बुद्धको यो शान्ति भूमिमा।

कति अशान्त र जोखिमपूर्ण निर्वाचन। कहिलेसम्म जनताले त्राही त्राही भय र त्रासबीच ज्यान जोखिम मोलेर नबुझेको भोट हाल्न जानुपर्ने? किन सँधै युद्धग्रस्त क्षेत्रको झझल्को दिन्छ हाम्रो निर्वाचन समय र प्रक्रियाले? कस्तो निर्वाचन र लोकतन्त्रको अभ्यासमा छौं हामी? धेरैलाई अनुत्तरित प्रश्नले गाँजिरहेको छ।

भोट कसलाई दिने ?

प्रायः सबै दल टेस्टेड र फेलर। सबै दल मातृभूमिलाई अभिशाप। जल जमिन जंगल जनशक्ति जनावर जडिबुटी उत्खनन, दोहन, बिनास, बिक्री, शोषण र अतिक्रमण गर्न तँछाड मछाड। राष्ट्रिय श्रोत साधन माथि लुटतन्त्र। लोकतन्त्रलाई यसरी बदनाम कहिलेसम्म गर्ने? निर्वाचनलाई चरम दुरुपयोग कहिलेसम्म गर्ने?

कोही नदी बेचुवा दल। कोही उद्योग बेचुवा। कोही माटो बेचुवा। कोही कृषि प्रधान मातृभूमिलाई गोलखाडी पठाउने दल। कोही ढुकुटी रित्याउने र मातृभूमि टाट् पल्टाउने दल। कोही राष्ट्र, राष्ट्रियता, राष्ट्रबासीलाई बिखण्डन विभाजन गरेर राष्ट्रिय एकता, राष्ट्रिय भूअखण्डता र राष्ट्रिय सार्वभौमिकता स्वाहा पारेर पराईलाई बुझाउन उद्यत दल।

राजनीतिक दल आफैमा नराम्रो हुँदैन। तर बेसरम नेतृत्वको नारा, पारा र अकर्मन्यताले सबै पुस्तालाई दलहरु सत्ताको भर्‍याङ, टाठावाठा ठगहरुको कारखाना, पुरानो रक्सीको नया भाडा भएका छन्। छीः छीः दूर दूर भएका छन्। दल फेरबेदल, दल त्याग, राजनीतिक सन्यासले त्यही सत्यलाई प्रमाणित गर्दैन र?

मातृभूमिको प्रधानमन्त्रीहरुको दल फेरबदल प्रबृत्तिले हामीले अनुशरण गरेको आदर्श, सिद्धान्त, निष्ठा र लोकतन्त्र निकम्मा छ भनेर प्रमाणित गर्दैन र? अनि, वर्तमान र पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीगणहरुको लैनचौर त्वम्शरणम्, लम्पसारबाद र दिनदहाडैको गुलामीले मातृभूमिलाई सिक्किमीकरणको पदमार्गमा राखेको बुझिदैन र?

किन यति धेरै उम्मेदवारी? जागिरलाई कि सेवालाई? कमाउलाई कि त्यागलाई? लाटाले पनि बुझ्ने कुरा। स्वतन्त्र उम्मेदवारको हिम्मत र पहल राजनीतिक दल प्रतिको बितृष्णा हो। भविष्यमा यो पहल बढ्दै जाने छ र आम जनताको तन मन ध्यान स्वतन्त्र उम्मेदवारले खिच्ने पक्कापक्की छ। “नो भोट” माग पनि राजनीतिक दलको कण्डेम (तिरस्कार) हो।

भोट कसलाई दिनु मैले उहाँहरुलाई चित्त बुझ्दो जवाफ दिन सकिन। कस्तो बिडम्बना? कस्तो लाछी र नालायक म।

“यो देश माथिकाले माथिबाट बनाउने सपना तुइएको छ। लम्पसारवाद नेतृत्व मरेतुल्य छ। नेतृत्वको ऐना राजधानीको सडकभरी महिनौं थुप्रिएको र कुहिएको फोहोरमा हेरे पुग्दछ। तसर्थ, अब मातृभूमिलाई स्थानीय उम्मेदवारहरुले स्थानीय तहबाट उठाउनु टल्काउनु र चम्काउनु पर्दछ। सही उम्मेदवार विजयी हुन् र देश बचाउ र देश निर्माणको महायज्ञमा होमिउन्। माथिकालाई देखाउन्।

दललाई होइन सक्कली, स्वाभिमान, साहसिक, सुसंस्कृत, शिक्षित, सभ्य, सरल, सालिन, सौम्य, सुशासन दिने सक्ने उम्मेदवारलाई भोट दिउँ। कुरा नारा हुडल्ने होइन, संकल्प पूरा गरेर देखाउने इमान्दार जनता र समाजभक्त प्रतिबद्ध त्यागी उम्मेदवारलाई भोट दिउँ। जुनसुकै दलको होस्। अब दल होइन आत्मा पढेर सही मान्छेलाई भोट दिनुहोस्।” मैले गोलमटोल काइते जवाफले उहाँहरुलाई मुख बुजो लाईटोपलें।

कालो बादलमा चाँदीको घेरा

अन्त्यमा, भविष्यमा राजनीतिक दलहरु मर्ज भएर २ वा ३ भएको देख्न पाउँ। सबै दल एवान भन्न पाँउ। सबै दलले व्यक्तिगत र दलगत संकीर्ण स्वार्थ त्यागेर राष्ट्रहित, राष्ट्रिय स्वार्थ, राष्ट्रिय सुरक्षा, प्रकृतिको सर्वोच्चता स्वीकारेको र शिरमा राखेर हिँडेको देख्न पाउँ। सबै राजनेताहरुलाई अब्बल, काबिल, त्यागी र खाँटी राष्ट्रबादी भन्न पाउँ।

परनिर्भर मुलुकलाई आत्मनिर्भर बनाई समृद्धिको सिखरमा पुर्‍याउने अर्थनीति देख्न पाउँ। उत्तरबाट दक्षिण बगिरहेको जल, जमिन, जंगल, जनावर, जडिबुटी, जनशक्ति सुन, सिलाजित, रुवी, हिरा, मोती, नगद, बिदेशी मुद्रा, स्वाभिमान मातृभूमिमा थिग्रिएको, अडिएको र देश बिकास र समृद्धिका खातिर यहीं सदुपयोग भएको देख्न पाउँ।

निर्वाचनमा नाच्दै गाउदै स्वस्फूर्त जाउ जाउ होस् र खुसमनले भोट हाल्ने भक्ति जागोस्। अनि, लोकतन्त्रमा ईतिहास, प्रकृति, माटो र समृद्धिको मगमग सुगन्धित् वास् आवस्।

(स्वर्गको सेवा पुस्तकका लेखक संरक्षणकर्मी हुन् र कुनै राजनीतिक दलसँग आबद्ध छैनन्)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो