जब मैले प्रधानमन्त्रीकाे चुनाव हारेँ….

डिसी नेपाल
२८ वैशाख २०७९ ७:२२

केही समय अगाडि ट्रीटन इन्टरनेशनल कलेज काठमाडौको आयोजना तथा नयाँ युवा, नयाँ सोच नेपालको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा प्लस टू कानुन संकाय अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहने गरि नमुना संसद अभ्यास कार्यक्रम हुने बारे सूचना प्राप्त गरेँ।

संसदीय अभ्यासप्रति धेरै रुचि भएर पनि होला यस्ता सूचनाले म उत्साहित हुन्छु। साथी संगी तथा आयोजकसँग कार्यक्रम बारे सोधखोज गरेँ र सहभागीता जनाउने अभिरुचि व्यक्त गरेँ। यसलाई आयोजक टिमले सहज रुपमा ग्रहण गरि सहभागीताका लागि थप हौसला प्रदान गरे।

नमुना संसद कार्यक्रममा उपत्यकाका करिव बीस भन्दा बढी विद्यालयमा कक्षा ११/१२ कानुन संकाय अध्ययनरत विद्यार्थीको सहभागीता रहने गरि शुभश्री कलेज अफ म्याजमेन्ट नयाँ बानेश्वर काठमाडौंको सभाहलमा कार्यक्रम हुने आयोजकको सूचनाले मलाई अझै यो कार्यक्रम प्रति आकर्षण गरेको थियो।

एकातर्फ संसदीय कार्यप्रति जानकारी लिनु थियो भने अर्काेतर्फ व्यवस्थापकीय एवम् कार्यपालिकाको विभिन्न कार्य बारे जानकारी लिनुका साथै व्यवहारिक रुपमा नमुना अभ्यास पनि गर्नु थियो।

यतिकैमा आयोजकको नियमअनुसार एउटा कलेजबाट छात्र /छात्रा गरि बढीमा चार जना सहभागी हुन सकिन्थ्यो, त्यसलाई मध्यनजर गर्दै हामी आदर्श जनप्रेमी कलेज भक्तपुरझ कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२ बाट प्रतिनिधित्व हुने गरि चारै जना सहभागी भयौं। कार्यक्रममा सहभागी हुदै गर्दा त्यहाको वातावरणले मलाई साच्चिकै संसद भवनमा प्रवेश गरेको अनुभव भैरहेको थियो।

कालापानी लिपुलेक र दार्चुला क्षेत्रमा बढिरहेको भारतीय दादागिरी बारे सरकारको जवाफ खोजिरहेका थिए। प्रश्न गर्दै थिए भारतले मिचेको दशगजा, सुस्ताका विषय कहिले सुल्झाउने? सेना व्यारेक भित्र राख्ने कि सीमा रक्षा गर्न खटाउने? नक्सा मात्र ल्याउने कि भूमि पनि? सरकार सुतेको छ कि काम गरिरहेको छ?

आयोजकको व्यवस्थापकीय योजनाअनुसार हाम्रो नमुना संसद अभ्यास कार्यक्रमको लागि पहिलो दिन प्रशिक्षण लिनुपर्ने थियो र दोस्रो दिन त्यसको अभ्यास। बिहानको करिब ११ बज्नै लागेको थियो, विभिन्न कलेजहरुबाट प्रतिनिधित्व गरेर आउनुभएका विद्यार्थी साथिहरुले सभाहल भरिँदै थियो। कार्यक्रमको प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो, नयाँ युवा नयाँ सोच नेपालका केन्द्रीय कार्यक्रम संयोजक बिनोद खत्री मिलन।

कार्यक्रमको पहिलो दिन प्रशिक्षक खत्रीले संसदीय अभ्यासको सुरुवातको इतिहास, महत्त्व, प्रक्रिया र कार्य बारे निकै जोडबलका साथ प्रशिक्षण दिए। उपस्थित विद्यार्थी साथी प्रशिक्षकको उत्साजनक प्रशिक्षणले निकै चकित थिए। मलाई व्यक्तिगत रुपमा प्रशिक्षक एकदमै विद्वान लागेको थियो।

प्रशिक्षले संसदीय अभ्यास तथा यसक्रममा अवलम्बन गरिने कार्यविधि बारे प्रष्टसँग जानकारी दिए। उक्त कार्यक्रमको सभामा म लगायत अन्य करिब ८० जना उपस्थित विद्यार्थीहरुले प्रशिक्षकका हाउभाउ र कुरा राम्रोसँग नियालिरहेका थियौं।

पहिलो दिन प्रशिक्षकले संसदीय अभ्यासका क्रममा आवश्यक ज्ञानका साथै संघीय संसद प्रतिनिधि सभा नियमावली २०७५ मा उल्लेखित प्रावधान बारे जानकारी दिए। सो क्रममा कानुन मस्यौदा निर्माण, छलफलदेखि स्वीकृत, अस्वीकृतसम्मका सम्पूर्ण कार्यविधि बारे प्रष्ट पारे।

सोही दिन नमुना संसद अभ्यास कार्यक्रममा प्रशिक्षकले अधिवेशनको आह्वान र अन्त्य, वैठकको कार्यविधि, समयावधि निर्धारण, शून्य र विषेश समय, छलफल र छलफलमा बोल्ने क्रम, नियमापत्ति, निर्णय गर्ने तरिका, वैठकको सुव्यवस्था, प्रश्नउत्तोर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तोर, प्रस्ताव सम्बन्धि कार्यविधि,व्यवस्थापन कार्यविधि, प्रतिनिधि सभाको समिति लगायतका प्रतिनिधि सभा नियमावली २०७५ मा उल्लेखित व्यवस्था बारे गहिरिएर सबै सहभागीलाई जानकारी गराए।

कार्यक्रमको सम्पूर्ण प्रशिक्षण पश्चात् प्रशिक्षकले जिम्मेवारी बाँडफाँड गरे जसमा पहिले प्रशिक्षकले कार्यपालिकाका पदहरु छनोट गरे प्रधानमन्त्री तथा मन्त्रीहरुको आकांक्षा धेरै भएपछि उनले गोलाप्रथाबाट छनोट गर्ने निर्णय गरे।

जसमा प्रधानमन्त्रीको पदमा मलगायत थुप्रै गोलाप्रथामा सहभागी भयौं, जसमा मैले प्रधानमन्त्री पदको लागि छनोटको चुनाव हारेँ। त्यसपश्चात मन्त्रीहरुको छनोटमा पुनः भाग लिए जसमा विभिन्न मन्त्रालयलाई मर्ज गरेर १० वटामा सीमित गरिएको थियो। त्यसमा मेरो भागमा रक्षा तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पर्यो। अन्य साथीहरुकोमा गोलाप्रथा बमोजिम भए।

त्यसैदिन प्रशिक्षको प्रतिनिधि सभाका विषयगत समितिहरु, प्रमुख विपक्षी दलका नेता छनोट तथा उनीहरुको जिम्मेवारीबारे प्रष्ट पारे। त्यसपछि कार्यक्रम लाई थप प्रभावकारी बनाउन प्रशिक्षकले पहिलो दिनको प्रशिक्षणको अन्तिममा विधेयक प्रस्तुतकर्ता र शून्य समय, विशेष समयमा बोल्ने सदस्यको छनोट गरे।यति सकिएपछि हाम्रो पहिलो दिनको प्रशिक्षण सकियो र भोलि पुनः सहभागी हुने गरि बेलुकापख हामी सबैजना छुट्टियौँ।

भोलिपल्ट करिब १० बज्नै लाग्दा सभाहलमा प्रधानमन्त्री, मन्त्री, विपक्षी दलका नेता तथा सांसहरुले सभाहल भरिएको थियो। सभामुखले सभा सञ्चालन पुर्व राष्ट्रिय गान बजाएर सुरुवात गरे। सभामुखको जिम्मेवारीको रुपमा रहेका कार्यक्रम संयोजक बिनोद खत्री मिलनले संघीय प्रतिनिधि सभा नियमावली २०७५ को नियम ३ को उपनिय १ बमोजिम राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको सूचना सदस्यलाई जानकारी गराए।सभाहलको बायाँतर्फ सत्तापक्ष थियो भने दायाँतर्फ विपक्ष।

कार्यक्रम रोचक बन्दै थियो। त्यसपछि सभामुुुखले बैठकको कार्यसुचि बमोजिम कार्य सुचारु गरे। सहभागी सांसदलाई आफ्नो क्षेत्रका समस्या र खास परिस्थितिका समस्या बारे प्रश्न गर्न अघिल्लो दिननै जिम्मेवारी बाँडफाँड गरेका थिए, त्यसबमोजिम सहभागी सांसदले सभामुखको अनुमतिमा शून्य र विशेष समयमा बोल्दै जल्दाबल्दा ,समसामयिक र निकै गम्भीर समस्याहरु बारे प्रश्नहरु गर्न थाले।

मैले विपक्षी तथा माननीय सांसदहरुले उठाएका सवालहरु निकै ध्यान दिएर सुनिरहेको थिएँ कतै मेरो कार्यक्षेत्र र जिम्मेवारी भित्र पर्ने सवालहरु उठाउछन् कि भनेर। शून्य समयमा बोल्ने सांसदहरुले कर्णालीमा सिटामोल नपाएका पीडा, अभाव र संघर्षमा वाँँचिरहेका दुर्गमका नागरिकका पीडा, धनपैसा कमाउन विदेशिएका र अलपत्र परेका नागरिकका पीडा पोखिरहेका थिए। प्रश्न निकै गम्भीर थिए प्रश्नसँगसँगै सांसदहरु आक्रोश पनि पोखिरहेका थिए।

शून्य समयमा बोल्ने अधिकांश सांसदको समय सकिएपछि सभामुुुखले कार्यसुची बमोजिम माननीय सूचना तथा सञ्चार मन्त्रीलाई सूचना प्रविधि व्यवस्था गर्न ल्याइएको विधेयक छलफलका लागि संसदमा प्रताव गर्न अनुमति दिए। विधेयक प्रस्ताव पश्चात् विपक्षी सांसदले निकै जोडबलमा बिरोध जनाए।

सरकार वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको नागरिक अधिकार र मौलिक हकमा अंकुश गर्न खोजेको भन्दै विरोध जनाए तर पनि सत्तापक्षका बहुमत सांसदले प्रस्ताव स्वीकृत गरे। त्यसपछि सभामुखले केही समयका लागि बैठक केही समयका लागि सूचना टाँस गरि स्थगित गरे।

केही समय पछि सभा पुन सुचारु भयो नियम १०५ बमोजिम सूचना तथा सञ्चार मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे। उक्त विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएपछि पुनः मन्त्रीले सूचना तथा सञ्चार व्यवस्था गर्न ल्याइएको विधेयक प्रतिनिधि सभा नियमावली २०७५ को नियम १०९ को उपनियम (१)को खण्ड (क) बमोजिम सुचना तथा सञ्चार मन्त्रीले विधेयक दफावार छलफल गरियोस् भनी सदन समक्ष पेश गरे उक्त छलफल गरियोस् भन्ने प्रस्ताव विपक्षीको चर्काे नाराबाजी बीच पास भयो।

पुनः सभामुखले माननीय सांसदहरुका लागि समस्या र सवालका विषयमा विशेष समयमा बोल्न समय दिए। विशेष समयमा बोल्ने सांसदले सरकारको कामकारबाही ,कोरोना नियन्त्रणमा देखाएको लापरबाही, खोप प्रकरण, यति, ओम्नी, पप्पुदेखि लिएर सडक र सदनसम्मका समस्या उठाइरहेका थिए।

ती समस्या सुन्न त निकै रमाइला थिए तर व्यवहारमा निकै दुःखदायी थिए। कोही शिक्षाका सवाल उठाइरहेका थिए कोही स्वास्थ्य र रोजगारीका सवाल उठाइरहेका थिए भने कोही समाजमा बढ्दो अपराध र अपराध नियन्त्रण एवम् अनुसन्धान मा सरकारको भुमिका प्रति प्रश्न उठाइरहेका थिए।

यतिकैमा सभाको अन्तिमतिर आसन गर्नु भएका एकजना माननीयले उठाएको प्रश्नले म झसङ्ग भएँ मेरो जिम्मेवारी अन्तर्गत रक्षा तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु मतर्फ तेस्रिन थाले। माननीहरु कालापानी लिपुलेक र दार्चुला क्षेत्रमा बढिरहेको भारतीय दादागिरी बारे सरकारको जवाफ खोजिरहेका थिए। प्रश्न गर्दै थिए भारतले मिचेको दशगजा, सुस्ताका विषय कहिले सुल्झाउने? सेना व्यारेक भित्र राख्ने कि सीमा रक्षा गर्न खटाउने? नक्सा मात्र ल्याउने कि भूमि पनि? सरकार सुतेको छ कि काम गरिरहेको छ? हाम्रो स्वाभिमान र आत्मसम्मान मा दिनदिनै विदेशी हस्तक्षेप बढ्दै जाँदा सरकार किन मौन भन्दै सांसहरु म तर्फ प्रश्न गरिरहेका थिए।

म निकै गम्भीर थिएँ किनभने यी वास्तविक समस्या थिए। सभामुुुखले बैठकको कार्यसूचि बमोजिम सूचना तथा सञ्चार प्रविधि व्यवस्थापन गर्न ल्याइएको विधेयकलाई आवश्यक प्रक्रियामा अगाडि बढाए। म भने सीमा सुरक्षा र सेनासँग सम्बन्धित माननीयका प्रश्नले सोचमग्न थिए।

यतिकैमा सभामुुुखको अनुमतिले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ४६ को उपनियम (१) बमोजिम सभामुखले सांसदहरुले शून्य तथा विषेश समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धमा सम्बन्धित मन्त्रीलाई जवाफका लागि अनुमति दिए।सभामुखको अनुमतिले विभिन्न मन्त्रीहरुले सवालका जवाफ दिए।

केही समय पछि मेरो जिम्मेवारी रहेको रक्षा तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने पालो आयो मैले माननीयले उठाएका प्रश्नहरु टिपोट गरेको थिएँ, त्यसक्रममा मैले कालापानी, लिपुलेक क्षेत्रमा मिचेको भूभागमा सन् १९६५ को आसपासमा भारतीय सेना बसेको, भारतले दुई वर्ष अघि दार्चुला-लिपुलेक सडक उद्घाटन पश्चात् सरकारले विरोध जनाएको,सन् २०१५ मा चीन र भारतले लिपुलेकमार्फत द्विदेशीय व्यापार सम्झौता गरेपछि त्यसलाई असहमति जनाउँदै दुवै देशलाई कुटनीतिक नोट पठाएको, संयुक्त राष्ट्रसंघमा नेपालको नयाँ अध्यावधिक नक्सा र क्षेत्रफल समावेश गरीएको, मे ९, २०२० मा भारतले नेपाली भूमिमा सडक उद्घाटन गरेपश्चात् परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भूभागमा पर्ने लिम्पियाधुरा, कालापाानी सहितका सबै भूभाग नेपालको भएको दाबी दोहोर्‍याएको विषय उल्लेख गरेँ।

यसरी संसदमा मन्त्रीको रुपमा जवाफ दिँदै गर्दा बढिरहेको भारतीय हस्तक्षेप र दादागिरी, सीमानमा एकतर्फी बाँध निर्माणका विषय, सीमा मिचिएका सिमानाका नागरिक भारतीय हेपाहमा परेका वास्तविकताप्रति निकै दुःख लागिरहको थियो किनभने म एक नमुना पात्र मात्र थिएँ। यसको वास्तविक समाधान गर्ने सरकारको प्राथमिकतामा यी विषय कहिले पर्न सकेनन्।

सीमा सम्बन्धि अन्तराष्ट्रिय सन्धि सम्झौता बारम्बार उल्लघन गरेका विषय, संयुक्त राष्ट्रसंघको कन्भेन्सन् अन द ल अफ द ननभिगेसनल युजर्स अफ द इन्टरनेशनल वाटर कोर्सेस १९९७ को धारा ७ मा एक मुलुकले अर्काे मुलुकलाई हानी नोक्सानी पुुग्ने गरि संरचना बनाउन नपाइने व्यवस्था भए पनि भारतले यसको ठाडो उल्लघन गरेको विषयमा आपत्ति जनाएका विषय जानकारी गराए तर वास्तविक समाधान बारे सरकारका काम व्यवहार उल्लेख गर्न असमर्थ रहे यति जवाफ दिदै गर्दा सरकार प्रति वास्तवमै मेरो आक्रोश पैदा भएको थियो तर मनभित्रै गुुम्स्याउन बाध्य भएँ।

नमुना संसद अभ्यासले हामीमा धेरै कुराको ज्ञानका साथै कानुन निर्माण प्रक्रिया र समग्र संसदीय क्रियाकलाप बारे नमुना अध्यास र अध्ययन गर्ने मौका पायौं। जब म प्रधानमन्त्रीको चुनाव हारेर रक्षा तथा परराष्ट्र मन्त्रीको रुुुपमा म संसदमा प्रतिनिधित्व गरिरहेको थिए त्यसबेला म निकै गम्भीर थिएँ। मन्त्री नमुना भए पनि यस्ता राष्ट्रिय समस्या समाधान गर्ने प्रण त्यसक्रममा ममा थियो ।

यसरी अन्तिममा प्रमुख अथिति बाग्मती प्रदेश सासंद तथा पुर्व मन्त्री रचना खड्काले यसरी नमुना संसद अभ्यासबारे विद्यार्थीले देखाएको चासो, उठाएका सवाल र जवाफका विषयमा गम्भीर रहेका पनि बताइन्। कार्यक्रमको अन्यमा आयोजकले उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धान कर्ता र उत्कृष्ट नेतृत्वकर्ता गरी जम्मा तीन विधामा उत्कृष्ट व्यक्ति छनोट गरेको थियो जसमा मलाई उत्कृष्ट बहसकर्ताको रुपमा मुल्यांकन टिमले छनोट गरेको थियो।

कक्षा १२ कानुन संकाय 
आदर्श जनप्रेमी अंग्रेजी मा.वि.कौशलटार,भक्तपुर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *