युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो

डिसी नेपाल
४ जेठ २०७९ १४:३५
40
Shares

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए। जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन्।

जोशीले पाँच हजार नाै सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए। जोशी माललाई एक सय ३६ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन्। यहाँ २०७४ सालको चुनावमा कांग्रेसका भीमबहादुर साउदले मेयरमा जितेका थिए।

वायुमण्डलीय भौतिक शास्त्रमा स्नातकोत्तर जोशी सबैभन्दा कान्छा नगर प्रमुख पनि बनेका छन्। वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै उनी नगर सभापति बनेका थिए।

उम्मेदवारी दिएसँगै उनी राजनीतिको पूरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाक्नु पर्ने बताउँदै आएका थिए। आज आफूले काम गरेको खण्डमा भोलि अरू युवाले पनि आँट गर्ने उनको भनाइ छ।

यता, नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्ष २७ वर्षीय युवाले जितेका छन्। एमालेबाट प्रमुखको उम्मेदवार बनेका दीपेन्द्र सुनारी चार हजार ५९ मत ल्याएर विजयी भएका हुन्।

उनले नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीलाई पराजित गरेका हुन्। बस्ताकोटीले ३९ सय मत पाएका छन् । कांग्रेसको गढ मानिएको बुलिङटारमा २७ वर्षीय युवाले नेतृत्व सम्हाल्न पुगेका हुन्।

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित राजा बाबुको चार हजार ८१ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दनप्रसाद यादवले दुई हजार तीन सय ९२ मत पाए । राजाबाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन् ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा पनि २१ वर्षीय युवाले जितेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचिन भएका हुन् ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई एक सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले तीन हजार सात सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले तीन हजार ६ सय २६ मत पाए ।

युवा वडाअध्यक्षहरू

प्युठानको सरुमारानी गाउँपालिका-६ को वडाअध्यक्ष २८ वर्षीय युवाले जितेका छन् । नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा वडाअध्यक्षमा विजयी भएका हुन्छ। बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका थिए।

खोटाङका २८ वर्षीय युवकले पनि वडाअध्यक्ष जितेका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन्। न्यौपानेले एक सय ९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले एक सय ७३ मत पाए।

नेकपा एमालेबाट बैतडीको मेलौली नगरपालिका-८ को वडाअध्यक्षका उम्मेदवार २२ वर्षीय तपेन्द्रजंग विष्ट विजयी भएका छन् । काठमाडौं बसेर पत्रकारिता गर्दै आएका विष्टले तीन सय ३८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु विष्टले दुई सय ५८ मत पाए । हालसम्म सार्वजनिक मत परिणामअनुसार तपेन्द्र देशकै कान्छो वडाअध्यक्ष हुन्।

बझाङमा पनि २३ वर्षीय हरिश सिंह पनि वडाअध्यक्ष बनेका छन्। कांग्रेसबाट वडाअध्यक्षमा प्रतिस्पर्धा गरेकाे सिंह ६ सय ८४ मतसहित विजयी भएका हुन् ।

काभ्रेको भुम्लु गाउँपालिका-२ मा पनि २४ वर्षीय सुजन भण्डारीले वडाअध्यक्ष जितेका छन् । २२ वर्षकै उमेरमा वडाअध्यक्ष बनेका विष्टले आफू सासकत्वलाई परास्त गर्दै सेवकत्व स्थापित गर्न तल्लिन हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

स्थानीय तह निर्वाचनमा झण्डै ४० हजार उम्मेदवार ४० वर्षभन्दा कममा छन् । एक लाख ४५ हजार उम्मेदवारमध्ये २७ प्रतिशतभन्दा बढी युवा छन् । स्थानीय तह निर्वाचनमा २१ वर्षभन्दा माथिको उमेरसमूहबाट उम्मेदवारी परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.