कुटाइ खाएर अस्पतालमा र कुटेको आरोपमा हिरासतमा रहेका उम्मेदवारको मत बराबर, गोलाप्रथाबाट कुटाइ खानेले जिते
काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षको छिनोफानो गोलाप्रथाबाट गर्नुपरेको छ । कांग्रेस र माओवादीका उम्मेदवारको मत बराबर आएपछि गोलाप्रथा गर्नुपरेको हो ।
कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका लक्ष्मण रम्तेलको मत बराबर आएपछि गोलाप्रथा गर्दा कांग्रेसका श्रेष्ठले जितेका हुन् । दुवैको बराबर ७३८ मत आएको थियो । तर, मत बराबरी हुँदा गर्दा दुवै मतगणनास्थलमा थिएनन् । कांग्रेसका श्रेष्ठ घाइते अवस्थामा अस्पतालमा छन् र माओवादीका रम्तेल कुटेको आरोपमा प्रहरी हिरासतमा छन् ।
गत वैशाख २९ गते राति मौन अवधिमा समयमा झडप हुँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाइते भएका थिए। उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । घटनापछि कांग्रेसले माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको उजुरी गरेपछि माओवादी रम्तेल पक्राउ परेका थिए । उनी हिरासतमा छन् ।
मतगणनास्थलमा दुवै उम्मेदवार नभएपछि माओवादीका उम्मेदवारलाई सुरक्षा निकायको अनुमतिमा ल्याइएको थियो । कांग्रेसका श्रेष्ठले भने आफ्नो अधिकार आफ्ना प्रतिनिधिलाई दिएका थिए ।
यी दुवै उम्मेदवारले भोट भने हालेका थिए । माओवादीका रम्तेल वैशाख ३० गते भोट हालेपछि पक्राउ परेका थिए। घाइते श्रेष्ठ एम्बुलेन्समा चढेर भोट हाल्न आएका थिए र भोट हालेपछि अस्पताल फर्किएका थिए।






डिसी नेपाल





Facebook Comment