भरतपुर महानगरपालिकाः नौवटा वडाको मतगणना सकियो, ३२७९ मतले रेणु अगाडि

डिसी नेपाल
५ जेठ २०७९ १८:२७
816
Shares

चितवन । भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए पनि अन्य वडामा गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ नेपाली कांग्रेस, ७ र ९ नेकपा समाजवादीका उम्मेदवारले विजय हासिल गरेका हुन् । अहिले वडा नम्बर १० र ११ को मत गणना १५ ठाउँमा भइरहेको छ । गणना भइरहेका दुई वडासहित अहिलेसम्म ४५ हजार ६० मतगणना गरी सकिएको छ ।

महानगरपालिकाको मतगणनाका क्रममा महानगर प्रमुखको उम्मेदवारमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तीन हजार २७९ मतले अग्र स्थानमा रहेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १३ हजार ४१० मत प्राप्त गर्दा दाहालले १६ हजार ६८९ मत प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ९१५ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्गलाई आठ हजार ५३३ मत अन्तरले पछि पार्दे अघि बढेका छन् । उनले १९ हजार ३१२ मत प्राप्त गर्दै गर्दा गुरुङले १० हजार ७७९ मत प्राप्त गरेका छन् । गणना भइरहेका वडामध्ये १० मा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले अग्र स्थान लिएका छन् भने वडा नम्बर ११ मा नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.