कहाँ छन् रञ्जन काेइराला? लुक्न सक्ने संभावित स्थानमा प्रहरी परिचालन

डिसी नेपाल
१३ जेठ २०७९ १२:१३
2.0k
Shares

काठमाडौं। श्रीमती हत्यामा दोषी ठहर भई कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाबारे बाँकी कैद मिनाहा गर्ने सर्वोच्च अदालतको फैसला उल्टिएसँगै प्रहरीले खोजी कार्य शुरु गरेको छ।

जेलबाट निस्केपछि कहाँ गए भन्ने कुनै विवरण नराखेको प्रहरीले सर्वोच्च अदालतको फैसला आएसँगै उनको खोजीकार्य शुरु गरेको हो। जेलबाट छुटेपछि केही समय प्रहरीको सम्पर्कमा रहेका कोइराला सर्वोच्चमा मुद्दाको पेशी चढेपछि भने प्रहरीको सम्पर्क थिएनन्।

‘हामीले खोजी गर्न मातहत कार्यालयलाई निर्देशन दिएका छौं संभवत चाडै नै फेला पर्नेछन्’, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने। उनका अनुसार कोइराला लुक्न सक्ने संभावित सबै स्थानमा प्रहरी परिचालित भएको छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले कोइरालाको कैद सजाय मिनाहा गर्ने फैसला गरेको थियो। सो फैसला बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले उल्ट्याउँने फैसला गरेपछि उनले पुन: बाँकी कैद बस्नु पर्ने भएको हो।

कोइरालाले भुक्तान गर्न बाँकी कैद सजाय अब भुक्तान गर्नुपर्नेछ। उनको सजाय मिनाहा गर्ने यसअघिको फैसला विवादित बनेको थियो। कोइरालाले हालसम्म साढे ८ वर्ष जेलमा बिताएका छन्।

जेलबाट निस्केपछि कहाँ गए भन्ने कुनै विवरण नराखेको प्रहरीले सर्वोच्च अदालतको फैसला आएसँगै उनको खोजीकार्य शुरु गरेको हो। जेलबाट छुटेपछि केही समय प्रहरीको सम्पर्कमा रहेका कोइराला सर्वोच्चमा मुद्दाको पेशी चढेपछि भने प्रहरीको सम्पर्क थिएनन्

सर्वोच्चको यो फैसलासँगै कोइरालाले जन्मकैदको सजाय पूरा गर्न थप ११ वर्ष ६ महिना जेल बस्नुपर्नेछ। जिल्लाको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पाटनमा कोइरालाले निवेदन दिएका थिए।

त्यसपछि पाटन अदालतका मुख्य न्यायाधीश आनन्दमोहन भट्टराई र न्यायाधीश लेखनाथ घिमिरेको इजलासले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैद ठहराएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध कोइरालाले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा कोइरालालाई जन्मकैद चर्को पर्ने ठहरसहित सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै तोकेपछि सो फैसला विवादित बनेको थियो।

पत्नी हत्या गरेका पूर्वडिआइजी कोइराला सर्वोच्चको निर्णयपछि जेलमुक्त भएका थिए। जेल मुक्त भएपछि उनकी प्रेमिका तारा रेग्मीले डिल्लीबजार कारागारबाट बुझेर लगेकी थिइन्।

रेग्मीले त्यतिबेला कोइराला र आफ्नो विवाह भैसकेको बताएकी थिइन्। प्रहरीले कारागारबाट बुझेर लैजाने रेग्मीलाई सम्पर्कमा ल्याउने कोसिस गरिरहेको जनाएको छ।

‘हामीले रञ्जन कोइराला सम्पर्क नआएपछि उनीसँग सम्बन्धित सबै पक्षसँग खोजखबर गरिरहेका छौ’, एसएसपी केसीले भने। उनी जेलमुक्त भएपछि महान्यायाधीवक्ता कार्यालयले फैसला गलत भएकाले पुनरावलोकन गर्नुपर्ने माग गर्दै २०७७ साउन ४ मा निवेदन दिएको थियो।

के थियो घटना?

पूर्व डिआइजी कोइराला र गीता ढकालसँग सम्बन्ध विग्रेको अवस्थामा ढकालको हत्या भएको थियो। उनीहरुको विहे ०५० मा भएपनि ०५८ देखि छुट्टिएर बसेका थिए। सम्बन्धविच्छेद र अंश मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेकै वेला पूर्व डिआइजी कोइराला एकवर्षे तालिमका लागि चीन गएका थिए।

केही समयका लागि बिदामा घर फर्केका कोइरालाले त्यही समयमा योजनाबद्ध रूपमा पत्नीको हत्या गरेका थिए। उनले २७ पुस ०६८ मा काठमाडौंको बुढानीलकण्ठस्थित घरमा पत्नीको घाँटी थिचेर हत्या गरेका थिए। शव प्लास्टिकमा बेरेर आफ्नै गाडीमा मकवानपुरको टिस्टुङस्थित जंगलमा पुर्‍याई आगो लगाएर काठमाडौं फर्किएका थिए।

तर ८ माघ ०६८ मा फेरि टिस्टुङ पुगेर लासका अवशेष पुनःजलाएर काठमाडौ फर्कदै गर्दा उनी पक्राउ परेका थिए। शवका टुक्रा जलाइरहेकै बेला स्थानीयले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएपनि सशस्त्रको डिआइजी रहेको भन्दै उनी त्यहाँबाट फुत्किएपनि उनलाई नागढुंगाबाट प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीका अगाडि उनले आफूले नै हत्या गरेको स्विकारेका थिए। २०६८ पुस २७ मा कोइराले उनकी पत्नी गीता ढकालको हत्या गरेको भएपनि उनले सर्वोच्च अदालतमा भवितव्य परेको भन्दै सजाय पुनरावलोकन गर्न निवेदन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *