मिस नेपाल र हाम्रा बा

डिसी नेपाल
१६ जेठ २०७९ ७:०६

प्यारो छोरा सन्ते !

अन्यत्र पनि हुन्छ कि यही अलकापुरी कान्तिपुर नगरीले चर्चेको देशमा मात्रै हुन्छ यो तमासा भन्थे संसार भरी हुने रैछ। दिन नबिराई आयोजना हुने यी तमासाका बारेमा पहिले पनि कुरो घोइरो घोइरो सुनेकै थिएँ। तर अहिलेको जस्तो दिनहु र समाबेशी शैलीमा हुन्थेन।

आ… नजाने गाउँको के बाटो सोधी राख्नु भनेर उ बेला उति वास्ता गरिन बाबु। अहिले सुनेर र देखेर कानै पाकी सके। आँखै टट्याए सन्ते मेरा! अनि तँ पनि यसो एक्काइसौं शताब्दीको हुम भनेर भन्छ्स्। त्यसैले तँसँगै छलफल चलाउ भनेर ……….

अलि अस्तिका दिनम सम्चारमा मिस नेवा: फलानी भइ भनेर एउटी खानै नपाएर अहिले नै मर्ली जस्ती मरन्च्यासीलाई अर्की उ जस्तैले टाउकोमा सिङ जस्तो के हो लगाई दिइ। अनि फलाङ किस! फलाङ किस नै हो क्यारे हाउ! तेरी बैनीले त्यहि भनेजस्तो मान्थे। त्यही फलाङ किस यता रमितेतिर हुत्याई। रमितेले पनि पर्‍रर ताली बजाए ।
एई अन्तरी ! क्या हो यो ? के भएर यो केटीलाई सिङ लगाईदेका भनेर तेरी बैनीलाई सोधेको मिस नेवा: भनेर भनी।

“हैन क्याहो यो मिस नेवा: भन्या अन्तरी ?”

“तपाईंको लेबलको कुरा हैन के बा! तपाईं बुझ्नु हुन्न। ब्युटी पेजेन्ट हो ”

अग्रेजी नजान्नु पनि धिक्कारै भो बाबू मलाई। तेरी बैनी आधी अग्रेजीमै बोल्छे, म आधी मात्रै बुझ्छु। तर मनमा त्यस लुखुरीलाई किन सिङ लगाई दिएर मान्छेले थप्पडी बजाका होलान भनेर खुल्दुली हुन छाडेन।

” हैन खुलार भन्न क्या हो त्यो मिस नेवा: भन्या? केलाई ब्युटी पेजेन्ट भनेकी होस खुलस्त पार त अन्तरी!”

“हे हाम्रा बा पनि! नेवार्नीहरु मध्य यो बर्ष सबैभन्दा राम्री त्यही भइ भन्या के।”

“अनि सिङ किन लाइदेका त?”

” सिंङ हैन क्राउन हो त्यो!”

त्यति के बोल्नु र बुझाउनु परेको थियो तेरि बैनी झनक्क भएर हिँडी हाली। यसो टिभी नजिक गएर हेरेँ! अह: गति गरास छैन मिस नेवा: भनौदिको। यो भन्दा त नेवार्नी माइली कति राम्री! कति! के गर्नु बिचरीलाई घाँस दाउरा गर्दै ठिक छ।थाहा पाएर गाकी भा यसपाली पक्कै माईली मिस नेवा: हुन्थी होला भन्ने ठान्दै ठान्दै गोठ तिर लागे।

त्यो दिनको कुरो त्यही भो सक्किगो । भोलिपल्ट छोडेर पर्सिका दिन हो क्यारे बाबू! फेरि मिस लिम्बूनी फलानी भनेर देखायो। उसैगरी सिङ लगाइदियो । अनि निकपर्सी मिस बाहुनी ! अनि मिस दमिनी ! मिस मगर्नी ! मिस गुरुङनी ! मिस तामाङनी ! मिस ढकाल्नी ! मिस अधिकारी ! मिस भट्टराई ! मिस दाहाल ! मिस पुर्बकी ! मिस पश्चिमकि ! मिस बिच्चकी ! मिस टिन ! मिस बाईस कटेकी ! मिस बत्तिस ननाघेकी ! मिसेस भई सकेर फेरि वापस मिस भएकी ! के के हो के के के बाबू । गनेर र भनेर साध्य छैन ।
अनि यसो दुई दिन जति बिराम लिए जस्तो गरे बाबू ! अब त सबै जात, वर्ण र क्षेत्र सकियो । समाबेशी देशका समाबेशी सुन्दरी मिसहरु पनि भ्याईए होलान भनेको त तेस्रो दिनदेखि अर्को तमासा सुरु भयो बाबू !

भयो के भन्छ्स भने , होचा र पुडका देखिने मिसहरु भेला गरेर फेरि सुरु भयो सुन्दरताको खेती ! मिस पुण्टी रे ! फस रनरप मिस च्यान्टी रे ! मिस भिजुवल्ली च्यालेन्ज्ड रे ! मिस बोल्न नसक्ने रे !

यहाँ आई पुगेपछि मेरो धर्यताको बाँध फुट्यो सन्ते। हेर बाबू सन्ते जमाना तेरो । तं समयको ठेकेदार । ठिक छ सुन्दर हुनु राम्रो हो । तर बीस जना शहरिया तामाङनीलाई परेड खेलाएर तं तामाङनीमा सबैभन्दा राम्री भन्देको छ।

हेरबाबु ! नारीहरु प्रति मेरो ठूलो सम्मान छ। र म सुन्दरताको पनि पुजारी हुँ। तर तिमीहरूले बिकास गरेको सुन्दरताको मापदण्ड र त्यसको डबलीमा नारीको अबतारणलाई मैले पटक्कै पचाउन सकेको छैन। मंगलादेबी, झमक सुवेदी र राष्ट्रिय बिभूती पासाङ ल्याम्हु शेर्पालाई हेर बाबू । के ति सशक्त नारी हैनन ? के ती सुन्दर थिएनन् ?

बिसोटी शहरका मगर्नी भेला गरेर त मगर्नी मध्येकि सुन्दरी भन्देको छ। हुँदा हुँदा अशक्त र अपाङ्गलाई पनि त राम्री र त नराम्री भनेर छुट्याइएको छ । त्यो पनि बिसैजना भेला गरेर । अनि यसो गर्दा महिला शसक्क्तिकरण हुन्छ भनेर प्रचार गरिएको छ ।

हेर बाबू सन्ते ! बाउ पुराना जमनाका मान्छे भएर यस्ता कुरा गरे भनेर भन्लास भन्न त । तर नारीलाई शरीरको भुगोलको आधारमा मात्रै सुन्दर ठान्ने मानसिकता बिकृत मानसिकता हो । त्यसरी सोच्ने पुस्ता बिरामी पुस्ता हो।

नारीलाई शरीर मात्रै ठान्नेले कि नाङ्गो पार्छ कि बुर्काले पुरै छोप्छ। यी हेर्दा बिपरित ध्रुबका मोर्डन र पुरातन लागेपनी यीनको मानसिकता एउटै हुन्छ । नारी भनेको शरीर मात्रै हो ! त्यसैले यीनले कि सर्बाङ नाङ्गो पारेर दुनियाँलाई देखाएर बेच्छ्न्। कि पुरै ढाक्छ्न् । म यी दुबै अतिबादको बिरोधी हुँ ।

शरीरको भूगोललाई मात्रै सुन्दरताको मापदण्ड निर्धारण गर्दा तिमीहरुको पुस्ताको सौन्दर्य चेतना सम्पुर्ण रुपले शरीर केन्द्रित भएको छ। त्यसैले त देश देशका सुन्दरीहरु संसारकै सुन्दरी हुन पेन्टी र ब्राेटिस लगाएर निर्लज्जसँग परेड खेल्छ्न्। तिनका अङ्ग प्रत्यङको फोटो लिएर सुक्ष्मरुपले हेरेर तिनको सुन्दरता निर्धारण हुन्छ। तिनका छाती, तिनका कम्मर र तिनका नितम्बहरु बारे गहिरो समिक्षा र विश्लेषण हुन्छ। बाबू सन्ते ! चर्म र मंसको यही आबरण मात्रै सुन्दरता हो र बाबू ?

हेर बाबू सन्ते ! हुनत यो देह मेलाको समर्थन गर्नेहरूको कमी छैन । तेरो बाउ अल्पमत मै छ मलाई थाहा छ । समर्थकहरुले बौद्धिकता/ समाजसेवा जस्ता कुराहरू पनि जोडीएको हुन्छ भनेर डिङ हाक्छ्न । तर यो जान्न भन्दा भन्दै बाठाहरुले सुगुरलाई स्वर्ग पठाउन गरेको चलाखी जस्तो मात्रै हो बाबू। नभए कुन चाहिँ मिस वल्र्ड/ मिस युनिभर्स अथवा मिस नेपाल भन्ने पोथीले बौद्धिक क्षेत्र र समाजसेवामा उल्लेख्य योगदान गरेर स्मृतिमा बसेका छ्न मलाई एउटामात्र उदाहरण देखाई दे त बाबू !

हेरबाबु ! नारीहरु प्रति मेरो ठूलो सम्मान छ। र म सुन्दरताको पनि पुजारी हुँ। तर तिमीहरूले बिकास गरेको सुन्दरताको मापदण्ड र त्यसको डबलीमा नारीको अबतारणलाई मैले पटक्कै पचाउन सकेको छैन। मंगलादेबी, झमक सुवेदी र राष्ट्रिय बिभूती पासाङ ल्याम्हु शेर्पालाई हेर बाबू । के ति सशक्त नारी हैनन ? के ती सुन्दर थिएनन् ?

हेलेन केलर र रोशा लक्जेम्बर्गलाई हेर बाबू ।  के तिनले कतै पेन्टी र बोटिस लगाएर नाईटो र पिंध देखाउदै परेड खेलेको परिकल्पना मात्रै पनि गर्न सकिन्छ । तरपनी तिनको स्मरण मात्रैले पनि श्रदाले शिर झुक्छ र गर्बले छाती फुल्छ।

देह मेलाको आयोजना नारीहरुको अपमान हो। त्यहाँ सुन्दरताको खोजी हैन शरीरको ब्याबसायीकरण हुन्छ। वर्षको छ महिना आयोजना हुने यस्ता देहमेलाको आयोजनाले हाम्रा छोरीचेली अत्यन्तै शरीर केन्द्रित भएका छन्। तिनको सर्बाङिण बिकासमा यस्ता देहमेला ठूलो चुनौती र बाधा हो।

धेरै दिनदेखि यो बिषयमा तलाई पत्र लेखेर छलफल गरौंला भन्ने सोचेको थिएँ। अहिले आएर बल्ल साइत जुर्‍याे । बाँकी सबै ठिकै छ। हिजोपनी जोगमुनी नाकाबाट २ ट्रक पेट्रोलियम पदार्थ भित्रिएको खुशीको खबर छ। पुरानो भट्भटे बेचेर थपथाप पारेर नयाँ साइकल किनेको छु। आमाले पनि ग्यास नपाएको झोकमा ईन्डिया देखी रिस उठेर सिरियलहरु हेर्न बन्द गरेकी छ । धान ठिक ठिकै फल्यो । तोरी हानेर छोडेको छु। ल अहिलेलाई यति

भाग्यमानी हुनु ।
उही तेरो बाउ ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *