डिभोर्स गर्नुभन्दा ठिक अगाडि छोराछोरी लिएर मुस्ताङ जाँदै थिए, दुर्घटनामा सबैको मृत्यु

डिसी नेपाल
१६ जेठ २०७९ १६:११

काठमाडौं । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा परेका कोही पनि जीवित नरहेको पुष्टि भएको छ । विमानमा सवार सबैको शव भेटिएसँगै सबैको मृत्यु भएको पुष्टि भएको हो । यो विमानमा एक भारतीय परिवार पनि थियो । विमानमा महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए । यो यात्रा चारै जनाको अन्तिम यात्रा बन्यो ।

नेपालस्थित भारतीय दूतावासलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार ठाणेका अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिका त्रिपाठी (१८) पनि यात्रा गरेको जनाएको छ । सबैजना मन्दिर दर्शन गर्न जाँदै थिए ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुवैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । दुवै छोराछोरी वैभवीसँगै बस्थे। त्यसैले अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यही १० दिन बिताउने क्रममा चारैजना नेपाल आएका थिए । प्राप्त जानकारीका अनुसार अशोकसँगै उनका एक जना काकापट्टिका भाइ पनि जान लागेका थिए तर उनले अन्तिम समयमा योजना परिवर्तन गरेका थिए ।

विमान दुर्घटनाको जानकारी पाएपछि वैभवीका छिमेकीले भने, ‘यो निकै दुर्भाग्यपूर्ण छ र हामी सबै स्तब्ध छौं । वैभवीको घरमा वृद्ध आमा मात्रै छिन् । रोएर उनको हालत खराब छ । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै छिन् ।’

वैभवी मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्समा रहेको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्छिन्। छोरा धनुष इन्जिनियरिङ उत्तीर्ण भएका छन् भने छोरी ऋतिका स्कुलमा छिन् ।

अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ। उनी पाँच दाजुभाइमध्ये चौथो हुन्। उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन्। दुर्घटनाको जानकारी पाएपछि पूरै परिवार राति अबेर ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश हुन् । उनको ११ वर्षअघि निधन भएको थियो । उनकी आमाको पनि २०२० मा निधन भयो ।

अशोकका काकापट्टिका भाइ कानन त्रिपाठीले भने, ‘अशोकले मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । यसमा उनी निकै खुसी थिए । यद्यपि, मेरो लागि केहि काम पर्यो र मैले योजना रद्द गरें। अशोक वैशाख २६ मेमा मुम्बई आएका थिए र यो परिवार यहाँबाट नेपाल गएका थिए । अशोकका केयरटेकरले भने, ‘जुन दिन सर (अशोक) मुम्बई जानुभयो, उहाँले कहिले फर्कने भन्ने बताउनुभएन । उहाँले मलाई घरको हेरचाह गर्न मात्र भन्नुभयो।’

यो जानकारी वैभवीकी आमालाई पुर्‍याउन प्रहरीले निकै संघर्ष गर्नुपरेको थियो। उनको राहदानीमा बोरिवलीको चिकुवाडी क्षेत्रको ठेगाना लेखिएको थियो । मुम्बई पुलिस त्यहाँ पुग्दा फ्ल्याटमा ताला लगाइएको भेटियो । त्यसपछि छिमेकीहरूले प्रहरीलाई परिवार ठाणे सरेको बताए । त्यसपछि प्रहरीले त्यहाँ बस्ने उनीहरुका आफन्तलाई सम्पर्क गरी नयाँ ठेगाना पत्ता लगाएको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *