स्थानीय चुनाबपछि नेपालको राजनीति

डिसी नेपाल
१८ जेठ २०७९ १०:५८

बैखाश ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपछि मुलुकको राजनीतिक संचरनामा परिवर्तनका संकेत देखिएका छन्। मुलुकको राजनीतिमा पचासौं वर्षदेखि राज गरिरहेका ठूला राजनीतिक दललाई कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि जनताले परिर्वन खोजेको रुपमा विश्लेषण हुन थालेको छ।

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपममहानगरपालिका, जनकपुर उपमहानगरपालिकालगायतका स्थानमा स्वतन्त्र उम्मेदवारले स्थापित दलका उम्मेदवारलाई पराजित गर्नुका पछाडि दलहरुको स्वेच्छाचारी गतिविधि नै प्रमुख कारण हो।

आफ्नो स्वार्थ पूरा गरि सधैं आलो पालो सत्ताको उपयोग गर्ने अभिप्रायले आफ्ना सिद्धान्त, नीति र दर्शनसमेत बिक्री गरि दुई ध्रुवीय राजनीतिक दर्शन बोकेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा जस्ता पाँच दलीय गठबन्धन गठबन्धनले एकअर्काको मत साटासाट गरि चलाएको अभियानले देशको राजनीतिमा निक्कै ठूलो फेरबदल आएको संकेत गरेको छ।

सत्ता उपयोग गर्ने विषयमा आफ्नो नीति र सिद्धान्त विपरित गरिएको गठबन्धनलाई देशका मुख्य र रणनीतिक ठाउँमा जनताले विद्रोह गरेका छन्। काठमाडौं, धरान, धनगढी र जनकपुरलगायतका ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी हुनुलाई त्यसैको संकेतका रुपमा बुझ्नुपर्छ।

अब जनताले आफ्नो कर्तव्य निर्वाह गरिसकेका छन्। अब कर्तव्य निर्वाह गर्ने पालो निर्वाचित जनप्रतिनिधिको हो। उनीहरुले जनताबीचमा गरेका वाचा र प्रतिवद्धतालाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ र जनताको विश्वास जित्ने काम गर्नुपर्छ।

मुलुकबाट राजतन्त्रको अन्त्यपछि दल र तीनका नेताले गरेको मनोमानीलाई जनताले सचेतनापूर्वक विद्रोह गरेका छन्। स्थानीय तहको निर्वाचनले अब दल र तीनका नेताले गर्ने मनपरीलाई जनताले मन पराउँदैनन् र शिक्षित, युवा र विवेकशील व्यक्ति मुलुक संचालन गर्न सक्षम रहेको सन्देश पनि दिएको छ।

यो निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्र र लोकप्रिय व्यक्तिले चुनाव जितेका छन्। त्यसले अब दलहरु सच्चिनुको विकल्प छैन भन्ने सन्देश पनि दिएको छ। आफ्ना आसेपासे र नातागोताका व्यक्तिलाई टिकट दिएर चुनाव जिताउने अभियानलाई सचेत र शिक्षित मतदाताले अस्वीकार मात्र गरेनन्, आवश्यक परे विकल्प पनि खोज्न सकिने चेतावनी दिएका छन्।

२०७४ सालमा ३ चरणमा पटक पटक गरि ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिकसहित ७५३ स्थानीय तहमा निर्वाचन भएको थियो। सो निर्वाचन मुलुकमा गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन थियो। सो निर्वाचनमा दलीय उम्मेवार नै विजयी बनेका थिए।

त्यसको पाँच वर्षपछि बैखाश ३० गते मुलुकभर एकसाथ भएको स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा दलहरुले कल्पनासम्म नगरेको नतिजा आएको छ। पाँच दलीय गठबन्धनका उम्मेदवारलाई समेत पराजित गरेर केही रणनीतिक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुनुलाई जनताले परिवर्तन खोजेको संकेत गरेका छन्।

यो पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने लहर नै चल्यो र धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई पराजित गर्न सफल पनि भए। दलहरुप्रतिको वितिष्ण यो पटकको निर्वाचनमा देख्न पाइयो।

दललाई बारम्बार हेर्दासमेत जनताको समस्या समाधान नभएपछि जनताले नै योग्य र शिक्षित व्यक्तिलाई निर्वाचित गरेका छन्। दलीय व्यवस्थामा दलको विकल्प दल नै हुन्छन्। तर दलहरुले जनभावना अनुरुप काम गर्न नसक्दाको परिणाम मुल धारको राजनीतिक स्वतन्त्र व्यक्तिको हातमा पुग्न थालेको छ। यो दलका लागि चुनौतीको विषय हो।

मुलुकमा राजतन्त्र कायम हुँदा निरंकुश राजतन्त्रले काम गर्न नदिएको आरोप लगाउने दल र तीनका नेताले आज मुलुकबाट राजतन्त्र विदा भएको १५ वर्षसम्म पनि जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनता निराश भएका छन्।

चुनावमा करोडौं खर्च गर्ने दलीय उम्मेदवारलाई पछि पार्दै सीमित खर्च गरेर चुनावमा जित हासिल गर्न सकिन्छ भन्ने उदाहारण स्वतन्त्र उम्मेदवारले पेश गरेका छन्। अब स्वतन्त्र उम्मेदवारले जनअपेक्षा अनुसार काम गर्ने वातावरण कायम गर्नु सबैको दायित्व हो।

आफू चुनाव जित्न जस्तो सुकै गठबन्धन गर्ने र सत्तामा हालिमुहाली गर्ने आम प्रवृत्ति विरुद्ध काठमाडौंबासीले यो पटक स्वतन्त्र उम्मेदवार बालेन साहलाई निर्वाचित गराएका छन्। उनको स्पष्ट दृष्टिकोणलाई जनताले मन पराएका छन्। बालेनबाट जनताले ठूलो अपेक्षा गरेका छन्। त्यसमा उनी सफल पनि हुन्छन्, उनलाई सफल पार्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ।

जनताको जनजीविकाको विषयमा राजनीतिक दल गम्भीर नबन्दा जनताले बालेन जस्तो स्वतन्त्र उम्मेदवारलाई मत दिएर जिताउनु पर्ने अवस्था आएको छ। पेशाले इन्जिनियर भएपनि उनमा निकै सुझबुझपूर्ण राजनीति चेत देखिन्छ।

धरानमा सधैं जनताको बीचमा रहेका हर्क राईप्रति जनताले भरोसा गरेको देखियो। उनी निर्वाचित भएकै दिनदेखि जनताको सेवामा तल्लीन छन्। धरानमा खानेपानीको विकराल समस्या छ, त्यसलाई उनले आफ्नो कार्यकालमा पूरा गर्ने अठोट लिएका छन्।

स्थानीय तह निर्वाचनमा दलीय उम्मेवार भन्दा स्वतन्त्र उम्मेदवारप्रति जनताले गरेको भरोसाका कारण आगामी संघीय र प्रदेश निर्वाचनमा स्वतन्त्र, योग्य र सक्षम उम्मेदवारले धेरै ठाउँमा जित हासिल गर्न सक्छन्।

स्थानीय तह निर्वाचनमा रणनीतिक स्थानमा स्वतन्त्र उम्मेदवारले जित्दासमेत दलहरुले त्यसलाई गम्भीरताका साथ लिएको देखिँदैन। दलहरु सच्चिनुको साटो अन्र्तघात भएका कारण चुनाव हारेको निष्कर्ष निकाल्दै छन्।

उनीहरु अझै नसच्चिने हो भने आगामी निर्वाचन दलहरुका लागि झन् महंगो सावित हुनेवाला छ। अहिले निर्वाचित भएका स्वतन्त्र उम्मेदवारले राम्रो गरी आफ्नो कार्यकालमा काम गरे भने जनतामा दलीय उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण बढ्छ। त्यसको सबैभन्दा घाटा राजनीतिक दललाई नै हुने हो।

अब जनताले आफ्नो कर्तव्य निर्वाह गरिसकेका छन्। अब कर्तव्य निर्वाह गर्ने पालो निर्वाचित जनप्रतिनिधिको हो। उनीहरुले जनताबीचमा गरेका वाचा र प्रतिवद्धतालाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ र जनताको विश्वास जित्ने काम गर्नुपर्छ।

जनताको मत जित्ने जनप्रतिनिधिले भोलि देशको नेतृत्व गर्न सक्ने क्षमता राख्नुपर्छ। अहिले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेजस्तै भोलि मुलुकको नेतृत्व गर्न पनि यस्तै सक्षम व्यक्ति आउन सक्छन् र देशलाई तीव्र आर्थिक रुपमा अगाडि बढाउन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *