प्रचण्डको ‘उन्मादी’ अभिव्यक्तिलाई कांग्रेस र माओवादीले कसरी लिइरहेका छन्?

सम्भव सिंह ठकुरी
१९ जेठ २०७९ १२:१५

काठमाडौं। यतिबेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटा अभिव्यक्तिले निकै चर्चा पाएको छ।

प्रचण्डले बुधवार नेपाली कांग्रेसले दम्भ देखाए नेकपा एमालेलाई जस्तै ठेगान लाउने चेतावनी दिएका छन्। एमालेले गठबन्धन टुटाउने प्रयास गरिरहँदा प्रचण्डको यो अभिव्यक्तिलाई निकै चासोका साथ हेरिएको छ।

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बुधबार अध्यक्ष प्रचण्डले कांग्रेसले अहंकार बढाए एमालेलाई झैं ठेगान लगाउने चेतावनी दिएका हुन्। यसरी उनको यो अभिव्यक्तिले कतै गठबन्धन ट्ट्न लागेको त हैन ? भन्ने प्रश्न उब्जिएको छ।

चितवनमा गत महिना भएको स्थानीय निकाय निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेससँगको गठबन्धन १० वर्षभन्दा धेरै हुने भन्दै भाषण गरेका थिए। तर चुनाव सकिएको महिना दिन पनि नपुग्दै कांग्रेसलाई ठेगान लाउने चेतावनी दिएपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ।

नेपालको राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्डको सो अभिव्यक्ति कांग्रेसलाई दबाव दिने रणनीतिका रुपमा कांग्रेस र माओवादीका नेताले बुझेका छन्। तर गठबन्धन र पार्टी विभाजनले अपेक्षा गरेभन्दा धेरै स्थानमा आफ्नो पार्टी हारेपछि अहिले एमाले गठबन्धन टुटाउन सबैभन्दा ठूलो सफलता ठान्ने रणनीतिमा रहेको बेला प्रचण्डको सो भनाइलाई विभिन्न कोणहरुबाट टिकाटिप्पणी हुन थालेको छ।

आगामी संसदीय निर्वाचनमा बाम गठबन्धनको पनि चर्चा भइरहेको छ। यो विषयमा एमालेको शिर्ष नेताहरुबीच पनि छलफल भएको कुराहरु सार्वजनिक भएका छन्। तर केपी शर्मा ओली भर्सेज प्रचण्ड, माधवकुमार नेपालबीचको राजनीतिक टकराबका कारण बाम गठबन्धनको सम्भावना पनि कम रहेको बुझ्न सकिन्छ।

दाहालको यो भनाइ सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो पार्टीले हार व्यहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने भन्दै दाहाललाई जवाफ फर्काएका छन्।

पौडेलले सामाजिक संजाल ट्वीटरमा प्रचण्डलाई ‘मेन्सन’ गर्दै भनेका छन्-इतिहासमा कांग्रेसले धेरै हार व्यहोरे पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार ब्यहोर्न तयार छौँ।तर राष्ट्र,जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’ पौडेलले यसरी कुटनीतिक जवाफ फर्काएका छन्।

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे पनि प्रचण्डको सो अभिव्यक्तिले कांग्रेसलाई कुनै असर नपार्ने बताउँछन्। कांग्रेसलाई कसैले ठेगान लाउँछु भन्दैमा ठेगान लाग्ने र कसैले लाउँदिन भन्दैमा नलाग्ने आङदेम्बेको भनाइ छ।

‘गत महिना भएको स्थानीय तहको परिणामले प्रचण्डजीले ठूलो उपलब्धी मान्नु भयो होला। त्यसकारण उहाँले यो खाले शब्द प्रयोग गर्नुभएको होला। तर कांग्रेस पार्टी भनेको मुलुकको लोकतन्त्रको लागि सबैभन्दा धेरै संघर्ष गरेको हो। सबै खाले चुनौतीको सामाना गर्दै यहाँसम्म आएको छौँ,’ उनले भने, ‘प्रचण्डजीले त्यो खाले कुरा गर्दैमा हामी अत्तिनुपर्ने छैन। तर जे बोल्नु भयो गलत बोल्नु भयो यो खाले शब्द प्रयोग नगरकै राम्रो।’

दाहालको यो अभिब्यक्तिले गठबन्धनभित्र खटपट सुरु भएको हो? भन्ने डिसी नेपालको प्रश्नमा गठबन्धन भित्र कुनै पनि दरार नभएको र शिर्ष नेताहरुबीच आगामी संसदीय निर्वाचन सम्म नै गठबन्धनको निरन्तरता हुने सहमहामन्त्री आङदेम्बेको भनाइ छ।

माओवादी नेता हरिवोल गजुरेल भने प्रचण्डको आशय भन्दा अर्कै ठंगबाट धेरै प्रचार भएको बताउँछन्। ‘एउटा आशयमा भन्न खोज्नु भएको थियो तर मुल कुराभन्दा धेरै कुराहरु बंग्याएर उक्त कुरालाई मात्र बढि प्राथमिकता दिइएको छ,’ गजुरेलले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *