अमेरिकन फौजीकीराले मकैबाली नष्ट

डिसी नेपाल
२३ जेठ २०७९ ७:३६

फिदिम। पाँचथर जिल्लामा अमेरिकन फौजीकीराले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ। यहाँको मुख्यबाली मकै हो। तटीय क्षेत्रमा धान खेती र उच्च पहाडमा मकै नै मुख्यबाली मानिन्छ।

जिल्लाका ८ वटै पालिकाका कृषकको गुजाराको श्रोत मकैबाली अमेरिकन फौजी कीराले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन्। तीन वर्षअघि नेपाल पसेको फौजी कीरा हिउँदे र वर्षे दुवै मकैबालीलाई नष्ट गर्दै आएको छ।

बैशाखमा छरेको मकै उम्रेपछि फौजीकीराले आक्रमण गरिहाल्छ। फिदिम- ४ का कृषक भवानी अधिकारी प्रत्येक वर्ष मकै उत्पादन घटिरहेको बताउँछन् । उनले भने, ‘३ पटकसम्म विषादि प्रयोग गर्दा पनि फौजीकीरा पूरै नियन्त्रण गर्न सकिएको छैन।’

फौजीकीराले मकैको गुबो, पात र डाँडसम्म खाने गर्छ । कीरा मकैमा देखिएपछि १–२ दिनभित्र औषधि नगरे मकै पूरै खाएर सकिदिन्छ । फिदिम नगरपालिका कृषि विकाश शाखा प्रमुख प्राविधिक अधिकृत छैटौं याम संग्रौलाका अनुसार फौजीकीरा नियन्त्रण गर्न ‘इमामेक्टिन बेन्जोएट’ विषादि सिफारिस गरिएको छ । यो औषधि बढी प्रभावकारी देखिएको प्रमुख संग्रौलाले डिसी नेपाललाई बताए ।

फौजीकीरा नियन्त्रण गर्न प्राङगारिक विषादि पनि प्रयोग गरिएकोमा त्यो प्रवाभकारी नदेखिएको प्रमुख सैंग्रौलाको भनाइ छ । उनका अनुसार इमामेक्टिन बेन्जोएट ५ ग्राम १६ लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्छ । यो विषादिनले फौजीकीरा नियन्त्रणमा आउने उनले जानकारी दिए ।

पाँचथरमा १८ हजार ५ सय ३० हेक्टर जमिनमा मकैखेति गरिन्छ । यहाँ करिव ४३ हजार मेट्रिकटन मकै उत्पादन हुन्छ । पछिल्लो समय जिल्लामा व्यवसायिक पशुपालन मौलाउँदो छ । पशुपालनमा मकै नै मुख्य दानाको रुपमा प्रयोग गरिन्छ विश्वको पशुपालनमा प्रोटिनको लागि भटमासको पिना र कार्बाेहाइड्रेडका लागि मकै नै प्रमुख बाली हुन् ।

मकैबालीमा वर्षेनी फौजीकीराको प्रकोपका कारण लागत बढीरहेको छ । उत्पादन भने घट्दोछ । जसलाई न्यूनिकरण गर्न स्थानीय र केन्द्र सरकारले कुनै योजना नल्याएको कुम्भायक यासोकका कृषक खेम निरौला गुनासो गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *