चर्चमा अन्धाधुन्ध गोलीबारी हुँदा ५० जनाभन्दा धेरैको मृत्यु
काठमाडौं । आइतबार दक्षिणपश्चिम नाइजेरियामा रहेको क्याथोलिक चर्चमा आक्रमणकारीले गोली चलाउँदा प्रार्थना गर्न आएका ५० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । साथै कैयौं मानिस घाइते भएका छन् । यो आक्रमण कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।
यो घटना ओन्डो राज्यको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चको हो। आइतबार यहाँ पूजा गर्न मानिसहरुको भीड लागेको थियो । सो क्रममा बन्दुक बोकेका आक्रमणकारी भित्र पसे र अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
विधायक ओगुनमोलासुयी ओलुवोलेले बताएअनुसार आक्रमणकारीहरूले आइतवार पेन्टेकोस्टको प्रार्थनाको लागि यहाँ भेला भएका मानिसहरूलाई लक्षित गरेर आक्रमण गरेका थिए । मृत्यु हुनेमा धेरै बालबालिका समेत रहेको उनले बताए ।
नाइजेरियाको तल्लो विधायिका च्याम्बरमा ओवो क्षेत्रको प्रतिनिधित्व गर्ने अडेलेग्बे टिमिलीनले भने ‘आक्रमणकारीहरूले प्रार्थना गर्ने व्यक्तिलाई अपहरण समेत गरेका थिए।’ ओन्डो गभर्नर रोटिमी अकेरेडोलुले आइतबार ट्वीट गरे – ‘हाम्रो हृदय भारी छ। हाम्रा शान्तिप्रेमी मानिसहरूलाई शत्रुहरूले आक्रमण गरेका छन्।’
अहिले आधिकारिक मृत्युको संख्या सार्वजनिक गरिएको छैन। टिमलेनले कम्तिमा ५० जनाको ज्यान गएको बताए, यद्यपि अरूले यो आंकडा बढी राखेका छन्। आक्रमणपछिको भिडियो सार्वजनिक भएको छ । जसमा चर्चमा मानिसहरु रगतले लतपतिएको देखिएका छन् भने वरपरका मानिसहरु चिच्याइरहेका छन् ।
नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले भने- ‘सानो दिमागका मानिसहरूले मात्र यस्तो घृणित कार्यको कल्पना र कार्यान्वयन गर्न सक्छन्।’ उनले भने, ‘जे सुकै होस्, यस्ता व्यक्तिसामु यो देश कहिल्यै झुक्ने छैन । अन्धकारले उज्यालोलाई कहिल्यै जित्न सक्दैन। नाइजेरियाले अन्ततः जित्नेछ।’
चर्चमा भएको आक्रमणको पछाडि कसको हात थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नाइजेरिया सुरक्षा समस्याहरूसँग जुधिरहेको छ, ओन्डो, नाइजेरियाको सबैभन्दा शान्त राज्यको रूपमा चिनिन्छ। तर, राज्य किसान र गोठालाबीच बढ्दो हिंसात्मक द्वन्द्वमा फसेको छ ।
नाइजेरियाका सुरक्षा बलहरूले आक्रमण कसरी भयो वा संदिग्धहरूको बारेमा कुनै सुराग फेला परेको छ भनेर अझै भन्न सकेको छैन। सांसद ओलुवोले भने–ओभोको इतिहासमा यस्तो घृणित घटना हामीले कहिल्यै अनुभव गरेका छैनौँ । यो निकै दुखद घटना हो ।







डिसी नेपाल







Facebook Comment