दिल्ली, मुम्बइ, युपी र गुजरातमा आत्मघाती आक्रमण गर्ने अल कायदाको धम्की
काठमाडौं । पछिल्लो समय भाजपाकी एक नेतृले पैगम्बर मोहम्मदबारे गरेको टिप्पणीका कारण मुस्लिम देशहरू भारतसँग आक्रोशित शन् । यही बीचमा यो मामिलामा आतंकवादी संगठन अल कायदा पनि मिसिएको छ ।
अल कायदा इन द सबकन्टिनेन्ट (एक्यूआइएस) ले भारतलाई धम्की दिएको पत्र जारी गरेको छ । पत्रमा दिल्ली, मुम्बई, यूपी र गुजरातमा आत्मघाती हमलाको धम्की दिइएको छ । यस पत्रको मिति जुन ६, २०२२ हो। यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अल-कायदाले पत्रमा भनेको छ, ‘केही दिनअघि हिन्दुत्वका प्रचारकले टीभी बहसका क्रममा इस्लामको अपमान गरेका थिए। उनको भनाइले विश्वभरका मुस्लिमहरुको भावनामा चोट पुगेको छ ।’ अल कायदाले पैगम्बरको अपमानको बदला लिने बताएको छ ।
पत्रमा लेखिएको छ ‘हामी हाम्रो शरीर र हाम्रा बालबालिकाको शरीरमा विस्फोटक पदार्थ टाँस्नेछौं ताकि त्यस्ता मानिसहरूलाई विस्फोट गराउन सकियोस्। दिल्ली, मुम्बई, यूपी र गुजरातमा केसर कार्यकर्ताहरूलाई समाप्त गरिनेछ। न ऊ आफ्नो घरमा लुक्न सक्छ, न सेनाले उसलाई बचाउन सक्नेछ।’
बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बरमाथि आपत्तिजनक टिप्पणी गरेकी थिइन्। हालै शर्माले एक विज्ञप्ति जारी गर्दै आफ्नो भनाइलाई तोडमोड गरेको बताएकी छिन् । उक्त कुराले उग्र रुप लिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो, त्यसपछि उनले आफ्नो बयान बिना शर्त फिर्ता लिने बताएकी थिइन् । शर्मा विरुद्ध महाराष्ट्र सहित धेरै राज्यमा मुद्दा दर्ता भएको छ।
मुस्लिम देशहरूले यस विषयमा विरोध जनाइरहेका छन् । ५७ मुस्लिम देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी) ले विरोध गरेको छ र त्यसपछि केही अरब देशहरूले भारतीय उत्पादन बहिष्कार गर्न थालेका छन्। यसका साथै इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया, इन्डोनेसिया, टर्की, मलेसिया र पाकिस्तानले पनि वक्तव्यको विरोध गरेका छन् ।







डिसी नेपाल







Facebook Comment