विमानबाट बाहिर निस्कनको लागि पाइलटले पुलिस बोलाउनुपर्यो
काठमाडौं । इंग्ल्याण्डको म्यानचेस्टर एयरपोर्टमा एउटा अनौठो दृश्य देखियो । विमानस्थलमा कर्मचारी अभावका कारण ३ घण्टा उडान रनवेमै रह्यो । त्यसमा यात्रुहरु फसेका थिए । त्यसपछि उडानका पाइलटले यात्रुलाई बाहिर निकाल्न प्रहरी बोलाउनु परेको थियो ।
डेली मेट्रोका अनुसार बेलायतको म्यानचेस्टरबाट स्पेनको टेनेरिफ आइल्याण्डका लागि उडेको उक्त उडानमा कर्मचारी अभावका कारण यात्रुले समस्या भोग्नुपरेको थियो । करिब ३ घण्टा उडानमै अलपत्र परेपछि यात्रु निकै आक्रोशित भएका थिए भने धेरैको चिन्ता पनि बढेको थियो ।
त्यसपछि पाइलटले यात्रुहरूलाई विमानबाट बाहिर निकाल्न प्रहरीको सहयोग लिनुपरेको थियो किनकि यात्रूहरूलाई बाहिर निस्किन सहयोग गर्नको लागि कुनै स्टाफ थिएनन् । पछि यात्रुहरूले एयरलाइन्स कम्पनीले आफूहरूलाई बिचल्ली पारेर छाडेको आरोप लगाए।
टेनेरिफका लागि उड्न लागेको उडानका यात्रुहरूलाई विमानमा लगेज लोड गर्न ढिलाइ भएका कारण उडान ढिलो भएको जानकारी टेकअफ गर्नुअघि नै दिइएको थियो ।
केही समयपछि यात्रुलाई अपरेसनल कारणले ढिलाइ भएको जानकारी गराइएको थियो भने ३ घण्टापछि कर्मचारी अभावका कारण उडान ढिलो भएको बताइएपछि यात्रुको धैर्यता टुट्यो ।
विमानमा सवार एक यात्रुले पनि यो कुरालाई लिएर यात्रुमा निकै आक्रोश रहेको बताए । यो घटना मे २९ को हो । तर एक भ्लगरको भिडियो भाइरल भएपछि यो विषय चर्चामा आयो ।
त्यसैगरी, कर्मचारी अभाव र सञ्चालनका कारणले उडानमा ढिलाइ भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले दिएको जानकारी अनुसार यात्रुलाई बस्नको लागि होटलको प्रबन्ध मिलाइएको थियो भने सबैलाई अर्को दिनको नयाँ यात्रा समय दिइएको थियो ।
कर्मचारी अभावका कारण ढिलाई भएको यो उडान अन्ततः त्यो दिनका लागि रद्द नै गरियो ।







डिसी नेपाल







Facebook Comment