मौरी चराउन मधेशदेखि पहाडसम्म

डिसी नेपाल
२६ जेठ २०७९ ८:३१

फिदिम। व्यवसायिक मौरी पाल्ने कृषकहरु मौरीलाई चराउन पहाडतिर उक्लन थालेका छन्।

मेलिफेरा जातको उन्नत मौरीलाई चराउन झापाका कृषकहरु चितवन, बारा र पर्सातिर मौरीका घार लिएर जान्थे  तोरी, फापरखेतीको समयमा मौरी चराउन तराईका फाँटतिर मौरीका घार लिएर जाने कृषकहरु पछिल्लो समय भने परीक्षणका लागि भन्दै उनीहरु पहाडतिर उक्लेका हुन्।

तराईको तातोमा जोगाउन र वर्षामा खानेकुराको व्यवस्था नहुँदा मौरीहरु मर्ने गर्छन् । वर्षातको समयमा मौरीलाई चरनअभाव हुन्छ। चरनअभावले मौरी मरेर घार नै खालि हुने भएकोले मौरी बचाउन बिकल्पको रुपमा घुम्ती चरनको अवधारणा ल्याएको नवदुर्गा मौरी फर्म शिवसतासी-११, झापाका मौरी पालक कृषक नन्दकुमार दंगालले बताए।

दंगालले फिदिम-४, थाक्लेमा ८८ घार मौरी चराउन ल्याएका छन्। स्थानीय बालकृष्ण खनालको घरमा उनले मौरीका घार ल्याएर राखेका हुन्। थाक्लेमा करिव १ हजार घार मौरी पालन गर्न सकिने भू-बनोट छ।

फिदिम- १, २, ४, ५, ९ वडाका जंगल, कुम्भायकको रानिगाउँ क्षेत्र र नवमीडाँडासमेतका वनजंगलमा प्रत्येक समय जंगली बोटबिरुवा फुल्छन्। अहिले खयर फुल्ने सिजन छ। यो क्षेत्र खयर उत्पादनका लागि प्रमुख मानिन्छ। यी वनमा भोर्लाे पनि फुलिरहेको छ । यसपछि टाँकी, मकैसमेत फुल्छन्।

नवदुर्गा मौरी फर्मका सञ्चालक दंगालका अनुसार उन्नत जातको मेलिफेरा मौरी पहिलो पटक परीक्षणका लागि पहाडी क्षेत्रमा चरनमा ल्याइएको हो । ‘मधेशको तातो र वर्षातबाट जोगाउन बिकल्पको रुपमा चरनका लागि फिदिमसम्म मौरी ल्याउनु परेको हो,’ उनले डिसी नेपालसँग भने, ‘यो परीक्षण हो, सफल भए वर्षेनी मौरी लिएर आउछौं।’

उन्नत जातको मेलिफेरा मौरी स्थानीय सेरेना मौरी भन्दा केही ठूलो हुन्छ । यसले सेरेनाको तुलनामा मह पनि धेरै बोक्छ। दैनिक करिव ५ किलोमिटरसम्म मह संकलनका लागि वन जंगल चाहार्छ । यसले घार नजिक फुलेका बोटबिरुवा भए त्यहीमात्र मह संकलन गर्छ।

यो मौरी प्रायः २५ दिनको अन्तरमा काडिन्छ । यसले एक पटकमा प्रतिघार ४–५ किलोसम्म मह संकलन गरेको हुन्छ । एक पटक मौरी काड्दा २ सय ५० किलोसम्म महसंकलन हुने दंगाल बताउँछन्।

दंगालजस्तै पाँचथरकै थर्पू क्षेत्र र रवि क्षेत्रमा पनि तराईबाट मौरी चरनका लागि ल्याएको छ । आगामी मंसिर दोस्रो सातासम्म यो क्षेत्रमा मौरी चराएपछि पुनः तराई नै लगिन्छ। जसका लागि मौरी पालक कृषकले घार ढुवानीमा वर्षेनी ५० हजारदेखि ६० हजार रुपैयाँ खर्च गर्दै आएका छन्।

मौरीको मह ६ सय रुपैयाँदेखि १ हजार रुपैयाँ किलोको दरमा किनबेच हुन्छ । जंगली वन क्षेत्रबाट संकलन भएको मह महंगोमा बिक्री गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *