विराट कोहलीको रेकर्ड तोड्दै पाकिस्तानी कप्तान बाबर आजमले बनाए २ नयाँ विश्वरेकर्ड

डिसी नेपाल
२६ जेठ २०७९ ११:०२
188
Shares

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् ।

मुल्तानमा बुधबार वेस्ट इन्डिजविरुद्ध खेलिएको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो एकदिवसीय खेलमा बाबरले १०३ रनको इनिङ्स खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । बाबरले मात्र १३ इनिङ्समा हजार रन बनाएका छन् ।

पाकिस्तानी कप्तानले यस मामिलामा भारतीय पूर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन् । कोहलीले कप्तानको रूपमा १७ औं इनिङ्समा १ हजार रन पूरा गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स (१८) र न्यूजिल्याण्डका केन विलियम्सन (२०) छन्।

साथै बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रियमा दुई पटक लगातार तीन शतक प्रहार गर्ने विश्वकै एकमात्र ब्याट्सम्यान बनेका छन् । यस खेलमा शतक बनाउनुअघि बाबरले अप्रिलमा अष्ट्रेलियाविरुद्धको दोस्रो र तेस्रो एकदिवसीयमा पनि शतक बनाएका थिए । बाबरले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध लगातार तीन शतक बनाएका थिए ।

एकदिवसीयमा सबैभन्दा छिटो हजार रन (कप्तानका रूपमा):

विराट कोहली (भारत) – १७ इनिङ्स

एबी डिभिलियर्स (दक्षिण अफ्रिका) – १८ इनिङ्स

केन विलियम्सन (न्युजिल्यान्ड) – २० इनिङ्स

एलिस्टर टोटल (इंग्ल्याण्ड) – २१ इनिङ्स

सौरभ गांगुली (भारत) – २२ इनिङ्स

पाकिस्तान ५ विकेटले विजयी

खेल टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रन बनाएको थियो । शाई होपले आफ्नो एकदिवसीय करियरको १२ औं शतक प्रहार गर्दै १२७ रनको शानदार इनिङ खेले। शमराह ब्रुक्सले ७० र रोभम्यान पावेलले ३२ रनको योगदान दिए । पाकिस्तानका लागि हरिस रउफले ४ र शाहिन अफ्रिदीले २ विकेट लिए ।

जवाफमा पाकिस्तानले ४९.२ ओभरमा पाँच विकेट गुमाएर ३०६ रन बनाएर खेल जित्यो । बाबर आजमले सर्वाधिक १०३ रनको इनिङ खेले जसमा सात चौका समावेश थिए । त्यस्तै इमाम उल हकले ६५ र मोहम्मद रिजवानले ६३ रनको उत्कृष्ट योगदान दिए । यसबाहेक खुशदिल शाहले अन्तिम ओभरमा २३ बलमा ४१ रनको अविजित इनिङ खेले । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले दुई विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *