अर्थमन्त्री बर्खास्त गर्न प्रचण्डमाथि दबाव बढाउँदै देउवा

सम्भव सिंह ठकुरी
३१ जेठ २०७९ १३:२४

काठमाडौं। अचानक नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेर विवादमा आएका अर्थमन्त्री जनार्दन शर्मा पुनः विवादमा तानिएका छन्।

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा भएपछि मन्त्री शर्मा विवादमा मुसिएका हुन्। पदीय मर्यादा बिर्सेर विवादस्पद काम गरेका शर्माको अघिल्लो प्रकरण नसेलाउँदै दोस्रो प्रकरणले उनी चौतर्फी आलोचित बनेका छन्।

अर्थमन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेका खुलेको छ। करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको खुलेको छ।

यसरी विवादस्पद र नीतिगत रुपमा अख्तियारको दुरुपायोग गरेका शर्माको अहिले राजिनामाको पनि माग भइराखेको छ।यो विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नैतिक हिसाबले पदमा बस्न नमिल्ने बताएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेले अर्थमन्त्री शर्माले राजीनामा गर्नुपर्ने माग गरेको हो। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यति गम्भिीर प्रश्न उठिसकेपछि अर्थमन्त्रीको पदमा बस्न लायक नभएको भन्दै राजीमाना मागेका छन्।

पाण्डेले यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन्। यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत जवाफ दिनुपर्ने बताएका छन्।

पाण्डेले भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो। राष्ट्रको सुरक्षा स्वार्थको विषय हो। संसद्ले यसबारेमा कदम चाल्नुपर्छ। यसको जवाफ हामी चाहन्छौं। मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन।’ पाण्डेले सोमबारको प्रतिनिधिसभा बैठकमा समेत गम्भीर प्रश्न उठेको र अर्थमन्त्रीले संसद्मा जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्।

प्रचण्डमाथि दबाव बढाउँदै देउवा

यसरी एउटै कार्यकाल र छोटो समयपछि विवादमा तानिएपछि शर्मालाई हटाउन प्रधानमन्त्री देउवाले पनि सक्रियता देखाएका छन्।
बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट हटाउन प्रधानमन्त्रीले चासो राखे पनि गठबन्धनको सरकार भएकाले निर्णय लिइहाल्न देउवालाई अप्ठेरो परेको छ।

यसका लागि प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाब दिइरहेका छन्।

‘अर्थमन्त्री शर्मालाई हटाउन प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ। तर यो सरकार कांग्रेसको बहुमतमा छैन। गठबन्धनबाट बनेको सरकार हो। गठबन्धनको प्रमुख हिस्सा भएको दलबाट अर्थमन्त्रीले प्रतिनिधित्व गर्नुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसकारण हामीले चाहेर पनि हटाउने निर्णय लिहाल्ने अवस्था छैन। यो विषयमा माओवादी केन्द्र गम्भीर हुनुभयो भने प्रधानमन्त्रीलाई नयाँ निर्णय लिन कुनै अप्ठेरो छैन।’

के भन्छन् प्रचण्डको सचिवालय ?

प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल भने अर्थमन्त्रालयले खण्डन गरेको कुरा नै पार्टीको लागि आधिकारिक दस्तावेज हुने भएकाले अर्थमन्त्री शर्माको राजीनामा गराउन अध्यक्ष प्रचण्ड सकारात्मक छैनन्। सत्यता भन्दा पनि बाहिर धेरै हल्ला भएको मल्लले बताए।

‘अर्थमन्त्रीको विषयमा जुन खालको हल्ला भएको छ। त्यो विषयमा मन्त्रालयले आफ्नो धारणा पनि सार्वजनिक गरिसकेको छ। त्यसकारण हामीले मन्त्रालयको धारणालाई आधार मान्ने हो। बाहिरको हल्लाको पछि नलाग्न सबैमा अनुरोध पनि गर्दछौँ,’ मल्लले भने। उनले प्रचण्डले अर्थमन्त्री शर्मालाई भेटेर राजीनामा माग गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरे।

मुलुलको अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला अर्थमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिले गलत निर्णय गरेको भन्दै अर्थमन्त्री शर्मामाथि राजीनामा दिन दबाव परेको छ।

प्रधानमन्त्री देउवाले यसअघि नै अर्थमन्त्रीलाई हटाउन चाहेका थिए। देउवा निटक स्रोतका अुनसार विदेशी दातृ निकायले पनि अर्थमन्त्रालय कांग्रेस आफैंसँग राख्न सुझाव दिएका छन्। प्रधानमन्त्री देउवाले बजेट पारित भइसकेपछि मन्त्रिपरिषद पुनर्गठन गर्दा अर्थमन्त्री शर्मालाई हटाएर अर्थ मन्त्रालय कांग्रेसले सम्हाल्ने गरी तयारी गरेका छन्। ,




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *