पर्यटनमन्त्री आलेविरुद्ध कारबाहीको माग गर्दै संसद् सचिवालयमा उजुरी

डिसी नेपाल
५ असार २०७९ १९:४६

काठमाडौं । गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुटेर विवादमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा उजुरी परेको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन् । पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका छन्।

मन्त्रीजस्तो पदमा रहेर पनि पर्यटनमन्त्री आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गरी ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको छ ।

त्यसपछि पनि उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको निवेदनमा उल्लेख छ ।

सांसदको आचारसंहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम ९ख० अनुसार प्रतिनिधिसभा सदस्यले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख रहेकोमा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दायित्व भुलेको उल्लेख गर्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *