दिल्ली पुलिसले बतायो सिद्धू मूसेवालाको हत्याको घटनाको पूरा विवरण

डिसी नेपाल
७ असार २०७९ ११:१४

काठमाडौं । दिल्ली पुलिसको स्पेशल सेलले भनेको छ कि मनप्रीत मन्नु नामका एक व्यक्तिले पञ्जाबका प्रख्यात गायक र कांग्रेस नेता सिद्धु मुसेवालामाथि सबैभन्दा पहिले गोली चलाएका थिए । त्यसपछि थप पाँच बन्दुकधारीले उनीमाथि गोली चलाएका थिए ।

दिल्ली प्रहरीको स्पेशल सेलका एचजीएस धालीवालले सोमबार पत्रकार सम्मेलन गरी सिद्धु मुसेवालाको हत्यामा दुई मोड्युल संलग्न रहेको बताए जसको सिधा सम्पर्क क्यानडामा बसेका ग्याङ्गस्टर गोल्डी बरारसँग थियो ।

प्रहरीले यस घटनामा ६ जना शूटरहरूको पहिचान गरेको बताएको छ । सोमबार प्रहरीले यस मामिलामा तीन जनालाई पक्राउ गरेको थियो, जसमध्ये दुई मुख्य गोली प्रहारकर्ता हुन्।

एचजीएस धालिवालले घटनास्थलबारे थप जानकारी लिन आक्रमणकारीले आक्रमण गर्नुअघि धेरैपटक उक्त क्षेत्रमा गएको बताए । सोमबार पक्राउ परेका तीन जना शूटरहरूबाट ८ वटा ग्रेनेड, ९ वटा विद्युतीय डेटोनेटर, ३ थान पेस्तोल (५० राउण्ड गोली) र एक थान असल्ट राइफल बरामद भएको छ ।

प्रहरीका अनुसार प्रियव्रत फौजी (२६ वर्ष) नामका व्यक्ति यीमध्ये एक मोड्युलको प्रमुख र गोल्डी बरारसँग प्रत्यक्ष सम्पर्कमा थिए। घटना हुँदा टोलीको नेतृत्व प्रियव्रतले गरेका थिए ।

प्रहरीका अनुसार प्रियव्रतमाथि हत्याको थप दुईवटा मुद्दा चलिरहेको छ । यी मध्ये एउटा मुद्दा सन् २०१५ को सोनीपतको हो जसमा उनी पक्राउ परेका थिए। सन् २०२१ मा सोनीपतमा नै भएको अर्को हत्याकाण्डमा प्रहरीले उनलाई खोजिरहेको थियो ।

प्रहरीका अनुसार प्रियव्रत फतेहपुरको पेट्रोल पम्पको सीसीटीभी फुटेजमा देखिएको थियो ।

पक्राउ परेका दोस्रो शूटरको नाम कैलाश (२४ वर्ष) रहेको छ । उनी फतेहपुरको पेट्रोल पम्पको सीसीटीभी फुटेजमा पनि देखिएका थिए । उनी २०२१ मा हरियाणाको झज्जरमा भएको एक हत्या मुद्दामा वान्टेड थिए।

तेस्रो व्यक्ति २९ वर्षीय केशव कुमार हुन् जसले सिद्धु मुसेवालाको हत्या गर्नेहरूलाई सहयोग गरेका थिए। हत्या हुनुअघि उनले गोली प्रहार गर्नेलाई कारमा राखेर मानसा लगेका थिए भने हत्यापछि पनि उनी कारमा बसेर गोली प्रहार गर्नेलाई त्यहाँबाट लिएर गएका थिए ।

सन् २०२० मा पञ्जाबको भटिंडामा हत्याको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

सिद्धु मुसेवालाको हत्यामा दुई मोडल संलग्न रहेको एचजीएस धालिवालले बताए । पहिलो मोड्युल प्रियव्रत फौजीको नेतृत्वमा बोलेरो गाडीमा थियो। गाडीमा चालक र मनप्रीत बाहेक अंकित सिरसा र दीपक मुंडे पनि थिए ।

दोस्रो मोड्युल कोरोला गाडीको थियो जसमा मनप्रित मन्नु ड्राइभर नजिकै बसिरहेका थिए।

पञ्जाब प्रहरीले सिद्धु मुसेवाला घरबाट निस्किएपछि सन्दीप नामका व्यक्तिले आक्रमणकारीहरूलाई यसबारे जानकारी दिएको बताएको थियो। त्यतिबेला उनीसँग दुईजना साथी थिए तर सुरक्षा थिएन ।

आक्रमणकारीहरूले कारलाई पछ्याए। अगाडि बढ्दा, कोरोलाले सिद्धुको गाडीलाई ओभरटेक गर्यो र मनप्रीत मन्नुले एके-४७ ले उनीमाथि गोली हाने। यी गोलीहरू सिद्धुलाई लागे।

त्यसपछि कोरोलामा सवार दुवै जना तल ओर्लिए, त्यतिन्जेल पछाडिबाट आएको बोलेरो उनीहरुको नजिक आइसकेको थियो । बोलेरोबाट चार शूटर पनि उत्रिए र ६ जनाले सिद्धुको कारमा आक्रमण गरे।

घटनापछि ती व्यक्ति दुवै गाडीहरूमा त्यहाँबाट फरार भएका थिए । त्यहाँबाट निस्किएपछि बोलेरोमा सवार व्यक्तिले केही किलोमिटर अगाडि गएर बोलेरो छोडेका थिए । केशवले उनीहरूलाई त्यहाँबाट फतेहपुर लगे । यी मानिसहरू केही दिन फतेहपुरमा बसे। पछि १९ जुनमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

अहिलेसम्म के भयो ?

सिद्धु मुसेवाला भनेर चिनिने शुभदीप सिंहमाथि मे २९ मा पञ्जाबको मानसाको जवाहरके गाउँ नजिकै हमला भएको थियो। आक्रमणमा उनको मृत्यु भएको थियो । हत्याको एक दिन अघि पञ्जाब सरकारले ४०० भन्दा बढी व्यक्तिलाई दिएको सुरक्षा फिर्ता लिएको थियो ।

यस हत्याको जिम्मेवारी क्यानडाका ग्याङ्गस्टर गोल्डी बरारले लिएका छन् । उनले आफ्नो गिरोहले यो काम गरेको भन्दै फेसबुकमा पोस्ट गरेका छन् । गोल्डी बरार सिद्धु मुसेवाला हत्या प्रकरणमा लरेन्स बिश्नोईको गिरोहसँग मिलेर काम गरिरहेका थिए ।

जुन १५ मा प्रहरीले लरेन्स बिश्नोईलाई पक्राउ गरी मुख्य न्यायिक मजिस्ट्रेट समक्ष पेश गरेको थियो । उनलाई सात दिनको म्याद थप गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *