एलपी ग्यासको दीर्घकालीन समाधान र आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौं। राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको सास्ती तत्काल समाधान गरी सर्वसाधारणलाई राहत दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको आयात तथा बिक्री वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई विभिन्न सुझाव दिएका हुन्।
नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी रहे तापनि जनताले सहजै ग्यास पाउन नसकेको विषय प्रस्तुत गरिन्। पन्तले ग्यासको वास्तविक आपूर्ति र बिक्री वितरणको अवस्थाबारे राष्ट्रियसभालाई स्पष्ट जानकारी गराउन सरकारसमक्ष मागसमेत गरिन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले ग्यासको अभावका कारण सर्वसाधारणले ठूलो कष्ट व्यहोरिरहेको उल्लेख गर्दै उक्त समस्याको अविलम्ब समाधानतर्फ ध्यान दिन आग्रह गरे।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाउन सुझाव दिँदै जनताका दैनिक समस्या समाधानमा गम्भीर बन्न सरकारसँग आग्रह गरे।
कांग्रेसका सांसद युवराज शर्माले बजारमा सिर्जना गरिएको एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन माग गरे।
सोही पार्टीका सांसद नारायणदत्त मिश्रले सुनसरीको देवागञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे।
नेकपाका सांसद भुवनबहादुर सुनारले खाना पकाउने ग्यासको अभावसम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापन गर्न, बजार महँगी नियन्त्रण गर्न र सार्वजनिक सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन सरकारलाई सुझाव दिए।
सोही पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा) ले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता र वाचाहरू पूरा गर्नेतर्फ सरकारको ध्यान पछाडि पर्न नहुने बताइन्।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघि भएको प्रदर्शनका क्रममा व्यावसायिक प्रतिष्ठान र आस्थाका केन्द्रहरूमाथि आगजनी तथा तोडफोड भएकोमा चिन्ता व्यक्त गरे। खालिदले आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिनका लागि आवश्यक पहलकदमी लिन सरकारलाई सुझाव दिए।
यस्तै, नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्चको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने वा आत्महत्या गर्नुपर्ने दर्दनाक अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य सेवा प्रणालीलाई सर्वसाधारणका लागि भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
सोही पार्टीका सांसद सुरेशकुमार आलेमगरले वर्षौँदेखि कायम सुकुमवासी तथा भूमिहीनका समस्याहरूको दिगो र स्थायी व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment