सुन्दरीको जालमा परेपछि भारतको अग्नी मिसाइलको अहम जानकारी यसरी पाकिस्तान पुग्यो

डिसी नेपाल
८ असार २०७९ १२:१९
460
Shares

काठमाडौं । हैदराबादको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट ल्याबोरेटरी (डीआरडीएल) मा काम गर्ने इन्जिनियरलाई पाकिस्तानी जासूसले हनी ट्र्यापमा फसाएको र त्यसपछि उनीबाट भारतको मिसाइल कार्यक्रमको गुप्त सूचना प्राप्त गरेको खिलासा भएको छ । अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाको समाचारका अनुसार एक डीआरडीएल इन्जिनियरलाई पाकिस्तानी जासूसले हनी ट्र्यापमा फसाएकी थिइन् ।

उनले विवाह र प्रेमको वचन दिएर ती इन्जिनियरलाई आफ्नो जालमा फसाइन् र त्यसपछि भारतको मिसाइल कार्यक्रमसँग सम्बन्धित जानकारी लिक गर्न बाध्य पारेकी थिइन् । गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा आरोपित २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीलाई प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेको छ ।

प्रहरीका शीर्ष स्रोतलाई उद्धृत गर्दै उक्त इन्जिनियरसँग भारतको आणविक क्षमताले सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र पनडुब्बीबाट प्रक्षेपण गर्ने क्षेप्यास्त्रबारे पनि जानकारी मागेको समाचारमा उल्लेख छ । अभियुक्त मल्लिकार्जुन सन् २०१८ देखि हैदरावादको डीआरडीएल को एड्भान्स्ड नेवल सिस्टम प्रोग्राममा काम गर्दै आएका छन् ।

जासुसीको आरोपमा पक्राउ परेका रेड्डीले सोधपुछका क्रममा सबै कुरा स्वीकार गरेका छन् । अब थप विवरण लिन प्रहरीले रेड्डीलाई हिरासतमा लिने योजना बनाएको छ ।

उनका अनुसार पाकिस्तानी जासुसले आफूलाई नताशा राव भनेकी थिइन् । फेसबुकबाट रेड्डीको यी जासूससँग मित्रता भएको थियो। पाकिस्तानी जासुसले रेड्डीसँग विवाहको वचन दिएर भारतको आणविक कार्यक्रमसँग सम्बन्धित संवेदनशील जानकारी लिएकी थिइन् ।

अभियुक्तले सतहबाट सतहमा मार हान्ने अग्नि क्षेप्यास्त्र र के-सिरीजको मिसाइलमा प्रयोग हुने प्रविधिबारे जानकारी बाँडेका थिए। के-सिरिजका मिसाइलहरू विशेष गरी नौसेनाको अरिहन्त-वर्गको आणविक-सम्पन्न ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको लागि डिजाइन गरिएको हो।

समाचारका अनुसार अभियुक्त रेड्डीको काम रक्षा निर्माण इकाईहरूमा गएर त्यहाँको कामको प्रगति मूल्याङ्कन गर्ने र समयसीमा तय गर्ने थियो।

त्यही भएर क्षेप्यास्त्र बनाउन कुन प्रविधि प्रयोग गरिन्छ भन्ने जानकारी उनीसँग थियो । एक शीर्ष पुलिस अधिकारीले द टाइम्स अफ इन्डियालाई भने कि व्यक्तिगत जीवनमा एक्ला रेड्डी नताशाको मीठो कुराकानीमा फसे र के-श्रृंखलाको मिसाइलसँग सम्बन्धित खुफिया जानकारी साझा गरे।

एक वरिष्ठ गुप्तचर अधिकारीले भने, “आरोपीले ३ सय किलोमिटर दूरीको के-४ मिसाइल, ६ हजार किलोमिटर दूरीको के-५ र १५ सय किलोमिटर दूरीको के-१५ सागरिका शृंखलाको कोड नम्बर बी-०५ मिसाइलको जानकारी साझा गरे, यी सबै आणविक हतियारयुक्त पनडुब्बीबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक मिसाइलहरू थिए।’

रचकोंडा प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि इन्जिनियर सन् २०२० जनवरीदेखि डिसेम्बर २०२१ सम्म दुई वर्षसम्म नताशासँग सम्पर्कमा थिए।

नताशासँग सिमरन चोपडा र ओमिशा अड्डी नामका दुई थप फेसबुक खाताहरू थिए। नताशा सधैं फेसबुक मेसेन्जर र व्हाट्सएपमा रेड्डीसँग कुरा गर्थिन् तर कहिल्यै भिडियो कल गरिनन्। उनले बारम्बार तस्बिर दिने रेड्डीको मागलाई पनि अस्वीकार गरिन्। उनले आफूलाई युकेको डिफेन्स जर्नलको कर्मचारीको रूपमा चिनाइन्।

प्रहरीले रेड्डीबाट दुईवटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको छ, जसमा धेरै महत्त्वपूर्ण प्रमाणहरू छन्। यसमा मिसाइल निर्माणसँग सम्बन्धित तस्विर र विस्तृत जानकारी समावेश छ, जुन अभियुक्तले नताशासँग साझा गरेका थिए। अनुसन्धानकर्ताहरूले रेड्डीको फोनमा हिन्दी र अंग्रेजीमा जासूसको भ्वाइस क्लिप पनि फेला पारेका छन्।

इन्जिनियरले नताशाले बैंक खाताको विवरण मागेको तर पैसा ट्रान्सफर नगरेको दाबी गरेपछि प्रहरीले अहिले रेड्डीको खाताबाट जानकारी लिएर यसमा उनी मात्र संलग्न थिए वा उनी कुनै ठूलो जासूस गिरोहको हिस्सा थिए भन्ने पत्ता लगाउन खोजिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *