नेपालमा विदेशी दवाब, प्रभाव र यसको दुष्परिणाम  – Dcnepal

नेपालमा विदेशी दवाब, प्रभाव र यसको दुष्परिणाम 

नेपाल विश्वको एउटा त्यस्तो देश हो जो कुनैपनि बेला कसैको पनि गुलाम वा अधिनमा रहेन। यो देश विश्वकै एउटा अनुपम प्रकृतिले भरिएको देश हो जहाँ परापूर्वकालदेखि मुख्यतः हिमवत खण्डमा अनेकौं देवर्षि, ऋषि र सन्त महात्माहरुले आफ्नो सम्पूर्ण जीवनलाइ समाहित गर्दै यहीँबाट आफूलाई विश्व समक्ष अमर बनाएका थिए ।

यही त्यो देश नेपाल हो जहाँ अनेकौं राजाहरुले राज गरी बसेका थिए। धेरै काल पूर्वदेखि यहाँ राजाहरुले नै राज्य गरिआएका थिए। देश जोगाइआएका थिए। पृथ्वीनारायण शाहको एकीकरण पूर्व पनि नेपालको हरेक स्थानमा, जिल्लामा राजाहरुले नै राज गर्दथे।

राजाहरुको राजशासन हेर्ने हो भने नेपालमा गोपाल वंश, महिषपाल वंश, किरांत वंश, लिच्छवी वंश, मल्ल वंश र शाह वंशको लामो शासनको इतिहास छ। एउटा सम्पूर्ण इतिहास बोकेको राजाहरुको शासनकाल अन्त्यमा विदेशीहरुको दवाब र प्रभावले दरबारको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड भई शाहराज शानिको अन्त्य भयो।

पछि ज्ञानेन्द्रको पोल्टोमा शासन आए पनि त्यो केही बर्ष रही आखिर त्यो पनि अन्त्य भयो र नेपालमा अनेक जालझेल गरी राष्ट्रपति शासन शुरु हुन पुग्यो। यो इतिहास र श्रृंखला हेर्दा नेपालमा विदेशी दवाब र प्रभावले गर्दा यस्ता अकल्पनीय घटनाहरु नघटेको होइन भन्न सकिन्न।

१०४ बर्षको राणा शासनको अन्त्य पश्चात पनि भारतकै भूमिमा गई राणा, राजा र जनताको नाममा संयुक्त सरकार बनेकै हो। त्यसताका नेपालमा प्रजातन्त्रले सानो घुम्टो खोले पनि सबै हालीमुहाली भारतकै हातमा थियो। नेताहरुमा छिनमै दिल्ली, छिनमै काठमाडौं धाउने चलनको दबदबा थियो। नीति निर्देशन सबै दिल्ली सरकारबाट चल्दथ्यो।

यो दवावको चंगुलमा फसिरहेको समयमा त्रिभुवनको निधन पश्चात देशमा एक राजनेता राजा महेन्द्रको उदय भयो। राजा भएपछि पनि उनले प्रजातन्त्रको शासन बीपी कोइराला, मातृका कोइरालाको नेतृत्वमा छोडेकै हो।

तर उग्र दिल्लीको परनिर्भरतामा देश चिप्लिँदै गएकोले २०१७ सालमा सबै आफूले सम्हाल्ने गरी देशको शासन आफ्नो नियन्त्रणमा लिए। परनिर्भरता कम भयो। आफ्नो १० बर्षको शासनकालमा परनिर्भरता भन्दा पनि आत्मनिर्भरता र स्वाभिमानमा रही छोटो समयमा नै उनले नेपाललाई संसारको सामु परिचित गरे।

कसैको दवाब र प्रभावमा नपरी आफ्नो कुटनीतिकताले आफू र प्रा. यदुनाथ खनाल, भेषबहादुर थापा, ऋषिकेश शाह, किर्तिनिधि बिष्ट र हिमालय समशेर जस्ता कुटनितिज्ञहरुको साथ लिई विश्वमा आफ्नो नाम सधै उच्च राखे। धेरैजसो राष्ट्राध्यक्षहरु राजा महेन्द्र र उनको कूटनीतिदेखि डराउँथे। हो नेपालका कुनै राजाहरु सोझा थिए त कुनै साधारण दिमागका थिए तर नेपाल पराधीन हुने अवस्था भने कुनै राजाबाट भएन।

किनकि नेपालको गोर्खाली सैनिकहरुको शान, मान र धाक विश्वसमक्ष उर्लिएको थियो। पराधीन हुने त कुरै छोडौं सारा अंग्रेज गोर्खालीको नाम सुन्दा थरर्र काँप्थे। अमरसिंह थापा र भक्ति थापा जस्ता वीर योद्धाले अंग्रेजलाई धुलो चटाएका थिए। जर्मन सम्राट कैजर भन्ने गर्थे कि ‘संसारमा म कसैदेखि पनि डराउँदिन तर नेपालका वीर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थरथरी काम्ने गर्दछ।’

बास्तवमा नेपाल एक स्वाधीन राष्ट्र भैकन पनि यसलाई पहिले भारतले खेलायो भने यो समयमा आएर अहिले अमेरिका, बेलायत र युरोपियन युनियनका मुलुकहरुले बिरालो खेलाए झैं खेलाई आ-आफ्नो चंगुलमा पारिरहेका छन्। नेपाल १७६९ मै स्वतन्त्र भएको देश हो।

गोर्खालीकै वीर योद्धाहरुको नाम र जिउँदो मान्छेको त के कुरा फोटो देख्दा पनि बेलायतकी महारानीकै पनि श्रीपेच लगाएको शीर निहुरिन्थ्यो र आज पनि त्यो चलन छँदैछ। प्रथम र द्वितीय विश्व युद्धमा नेपालका वीर गोर्खालीले अतुलनीय युद्ध गरेको कारणले बेलायत सरकारले जम्मा ११ एघार जवान सैनिकलाई बेलायतको सर्वोत्कृष्ट तक्मा ‘भिक्टोरिया क्रस’ प्रदान गरेको थियो।

तिनमा कुलवीर थापा (बाग्लुङ), करणबहादुर रानामगर (गुल्मी), नेत्रबहादुर थापा, लछीमान गुरुङ (चितवन), गजे घले (बार्पाक), अगनसिंह राई (ओखलढुंगा), भनभक्त गुरुङ (गोरखा), भल्खु, शेर बहादुर थापा (तनहुँ), तुलबहादुर पुन (म्याग्दी) थाम्न गुरुङ (शिमला) र राम बहादुर लिम्बु (पाँचथर) थिए । यस्ता अदम्य साहसिला नेपालका सपुतहरुले भरिएको यो देशमा राजतन्त्रको बलियो शान थियो ।

नेपाल एकीकरणका नायक र राजा महेन्द्र जस्ता राजनेताको दुरदर्शिताले संसारका कुनै देशहरुसँग पनि परनिर्भरता नबनी आधुनिक देश नेपालको राजशासन चलेको थियो। थोरै समयमा नै नेपालको आन्तरिक विकास र विश्वसमक्ष नेपालको चिनारी भयो। विदेशीसँग टाढा बसी मित्रता र कुटनैतिक सम्बन्धको बिस्तार गरी यो देशको आन्तरिक विकास गर्नु नै यिनीहरुको मूल उद्देश्य थियो।

तर समयको क्रममा राणा शासन फालियो, देशमा दलीय शासन आयो। कांग्रेसमा वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता प्रखर नेताहरु थिए भने कम्युनिस्ट दलमा पुष्पलाल अमात्य, तुलसीलाल अमात्य र मनमोहन भट्टराई जस्ता जबर्जस्त नेताहरु थिए। राजा महेन्द्रजस्ता राजनेता यो देशमा थिए।

नेपालको शान, मान, गौरव र महिमा संसारभर फैलिएको थियो। देश भित्र विशाल भारत, चीन, बेलायत, अमेरिका रुसजस्ता देशहरुको राजदूताबास खोलिएकै थियो तापनि कुनै पनि विदेशीहरुको भिड बाक्लिएको थिएन। विभिन्न बेमतलबका अन्तर्राष्ट्रिय संस्थाहरुको कम उपस्थिति थियो।

विभिन्न मिसिनरीहरुको बाहुल्यता थिएन। साँच्चै भन्ने हो भने विदेशीहरुको ओहोरदोहोर कम थियो। दवाब र प्रभाव कम थियो। बेलाबेलामा विदेशी राष्ट्र प्रमुखहरुको भ्रमण भैरहन्थ्यो। नेपालका राजाहरु विदेश जाँदा अर्कै मान हुन्थ्यो। मुक्त कण्ठले स्वागत गरिन्थ्यो। देश भित्र पनि विस्तारै विकास भइ नै रहेको थियो।

जनता गरिबीले त्यत्ति प्रताडित थिएनन्। आफ्नो दुखजिलो गरेर शान्तसँग बसेकै थिए । राजा वीरेन्द्रले त झन् देशलाई शान्ति क्षेत्र घोषित गर्ने प्रस्ताव नै राखेका थिए। तर छिमेकी देश भारत नै त्यस्तो एउटा देश बाँकी रह्यो जसले विश्वले स्वीकारेको शान्ति क्षेत्रको प्रस्तावलाई अनेक बहाना बनाइ अस्वीकार गर्ने दुस्साहस गर्यो। यो नेपालको लागि भारतको तर्फबाट ठूलो तुषारापात थियो।

भारत नेपाललाई ‘नेहरुज डक्ट्रिन’ अनुसार कुनै न कुनै बहानामा सिक्किमजस्तै आफ्नो पोल्टामा ल्याउन भित्रभित्रै चाल चलिरहेको थियो। सानो देश भएर होला यहाँको सम्पूर्ण प्राकृतिक श्रोत र साधनहरुलाई आफ्नो वशमा पारी नेपाललाई पराधीन बनाइराख्ने राजनीतिमा पटक-पटक नाकाबन्दी जस्तो आपराधिक काम गर्न पनि पछि हटेन । यो मित्रराष्ट्र भारतले हामीप्रति देखाएको धाक, धम्की, दवाब र प्रभावको दुष्परिणाम थियो । चीनले यस मामिलामा निकै सहयोग गरेकै हो ।

भारतको तुलनामा चीनले हामीप्रति आजसम्म कुनै त्यस्तो अत्यासलाग्दो दवाब र प्रभाव पारेको देखिँदैन । तैपनि भारत नेपालको धर्म संस्कृति र संस्कार अनुसार अभिन्न मित्र हो नै । अतः नेपाल पनि भारतको रबैया जे जस्तो भए पनि उसको सधै शान्ति र उन्नतिको कामना राख्दछ र राखेकै पनि छ ।

नेपाल असंलग्न पररास्ट्र नीति र पन्चशीलको दिव्य उपदेश अनुसार कसैको राजनैतिक झगडाको मामलामा नलागी, कसैको पक्ष नलिइ तटस्थ रही विश्वमा सधैं शान्ति छाएको हेर्न चाहने देश हो । तर नेपालमा राजा वीरेन्द्रकै पालामा २०४७ सालको उत्कृष्ट संविधान बने पश्चात देशका नेताहरु एकाएक भित्रभित्रै विदेशीको दवाब र प्रभावमा पर्न थाले। लोभ र लालचले आ-आफ्नो आदर्श बोकेका विकसित राष्ट्रहरुसँग गठबन्धन गरी लम्पसार पर्न थाले ।

असंलग्न परराष्ट्र नीतिको मर्म र मार्ग दर्शनहरुलाई उल्लंघन गरी जहाँ पनि आफ्नो निजी स्वार्थ र सत्तामा टिकीरहन जे पनि गर्न पछी नपर्ने रवैया देखाउँदै गए । देशका अलोकतान्त्रिक, कट्टर, साँघुरो विचारधारा बोकेका र आफु मात्रै सुविधा र महलमा बस्ने लोभ र लालचले जनताहरुलाई भ्रममा पारिरहनेहरुको प्रभाव बढ्दै गयो । नेतृत्व अयोग्य हुँदाहुँदै पनि घुमीफिरी उनीहरुकै एकल राज र हालीमुहाली भइरहने र जनताहरुलाई सधै खोक्रो आश्वासनको भ्रममा पार्ने संस्कार बढ्दै गयो ।

कोही विदेशी नेपाल आएमा सम्पूर्ण नेताहरुको भेला एकै ठाउँमा भई सबै विदेशीहरुको प्रिय पात्र बन्ने प्रवृत्तिले आज देश सम्पूर्णतः विदेशी दवाब र प्रभावले आक्रान्त बनेको छ । सम्पूर्ण दलगत राजनीतिका मुलभूत नीतिहरु पनि हैसियत छोडी मनपरी बन्न गएको छ ।

आज देशमा ठूला राष्ट्र चीन, भारत, अमेरिका, रुस र युरोपियन युनियन राष्ट्रहरुको स्वार्थ हावी भइरहेको छ । विदेशकै दवाबले देशमा भएका अनेकौं संरचना बिगारियो, दरबार हत्याकाण्ड, मदन भण्डारीको हत्या, देशमा एक्कासी माओवादी जनयुद्धको शंखघोष र हजारौं नेपालीहरुको हत्या भयो, लाखौंको अंगभंग र लाखौँ बेपत्ता हुन पुगे ।

२०४७ साल अगाडि देशमा सबै कुरा स्थिर थियो । तर त्यसपछि विदेशी दवाब, प्रभाव र उक्साहटले नेपालमा हरेक पक्ष्यमा नकारात्मक र अत्यन्त घातक दुष्परिणाम बाहेक केही उपलब्धि भएन । राजतन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्र र जनताले नै बनाएको संविधान आउँदा पनि देशले पटक्कै काँचुली फेर्न सकेन ।

विदेशी दवाब र प्रभावमा देशका सारा कलकारखानाहरु कौडीको मोलमा बेचियो । सम्पूर्ण अर्थतन्त्र र ब्यापार आयातमुखी बन्न पुग्यो । देशमा मुद्राको तरलता अत्याधिक बढ्न गयो । देशमा मुद्रास्फीति बढ्दै गयो । कालो धन निजी रुपमा भित्रभित्रै लुकाउन थालियो र ती धनहरु आफ्नो स्वार्थपूर्तिका लागि ‘लुटको धन फुपुको श्राद्ध’ शैलीमा खर्च गर्न थालियो ।

सम्पूर्ण कार्यकर्ताहरु र राष्ट्र सेवक कर्मचारीहरु पनि भ्रष्टाचारमा लिप्त हुन पुगे र देश सम्पूर्णतः भ्रष्टाचारमय बन्न पुग्यो । सबै कुराको दुष्परिणाम बाहेक केही निस्किएन । आज एउटा प्रधानमन्त्री बन्ने दौडमा दलहरु एम्बेसी धाउने, दिल्लीमा बार्ता गर्ने, अमेरिकी सरकारसँग सम्झौता गर्ने र चीनको पछाडी दौडिने र उनीहरुकै निर्देशनमा नेताहरु चल्ने जस्ता घिनलाग्दा कामहरु हुन थालेका छन् ।

देशलाई अर्काको अधीनमा राखी पराधीन हुने काम र विदेशीको इशारामा कठपुतली झैं बन्ने नेतृत्वले गर्दा आज सम्पूर्ण देशहरु हामीमाथि दवाब र प्रभाव दिन खनिएका छन् । एनजीओ, आइएनजीओ यसमा अत्यन्त सक्रिय बनेका छन् । भित्र भित्रै देशलाई खोक्रो बनाउने कुरामा पच्चिसौं बर्षदेखि तल्लिन भएका छन् । पैसाको खोलो बगाई रहेका छन् । तर देशमा कुनै दीर्घकालीन निर्माण भएका छैनन् ।

आज विदेशीको बाक्लो उपस्थितिले देशमा विभिन्न अबैध सामानहरुको ओसारपसार भैरहेको छ । विभिन्न मिसिनरीहरु बाक्लिँदै गएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु आइमएफ, युएसएड, विश्व बैंक र अन्य आर्थिक दातृ संस्थाहरुमार्फत दिए हुनेमा सहयोग दिने बहानामा एमसीसीमार्फत अमेरिकाका विभिन्न उच्च पदाधिकारीहरु बलजफ्ती नेपालमा पसेका छन् । उनीहरुले यहाँका लोभी नेताहरुलाई पैसाको थाङ्नामा लुटुपुटु गराईरहेका छन् ।

अन्ततः त्यत्रो बिरोध हुँदा पनि एमसीसी कठपुतली सांसदरुले दुइ-चार थपडी मारी पास गरेरै छोडे । खोइ बृहद छलफल ? खोइ विज्ञहरुको विश्लेषण ? यो सबै हेर्दा अमेरिकी साम्राज्यप्रतिको दासत्व मनोवृत्ति नभए अरु के नै हुन सक्तछ र ? पछि फेरि अमेरिकाको उटाह राज्यका नेशनल गार्ड कमान्डर इन चिफ आई नेपाली सैनिक र अमेरिकी सैनिकको परस्पर सैनिक अभ्यास हिमाली भेगको तिब्बती भेगमा गरिने कुराले त अमेरिका नेपालको भित्र गर्भमा प्रवेश गर्न खोजेको प्रस्ट हुन्छ ।

तर नेपाल सरकार बाँसुरी बजाई बसी रहेको देख्दा रोम आगो लागी जलिरहदा नेरोले पनि त्यस्तै बाँसुरी बजाएको याद आउँछ । के नेपाललाई पनि रणभूमिको केन्द्र बिन्दु बनाउन खोजिएको हो ? यो कामले के चीनसँगको मित्रतामा तिक्तता नआउला र ? यो अत्यन्तै गम्भीर प्रश्न हो । नेपालको स्वतन्त्रता र चीनको विशाल बलशाली नेतृत्वमा भूराजनैतिक हिसाबले नेपाल र अमेरिका मिली खलल पुर्याउने काम र सैन्य बल देखाउने काममा के चीनले ट्वाल्ल परी हेरिरहला त ? के नतमस्तक भई हेरी रहला त ?

अमेरिकी एसपीपी अन्तर्गत यसरी तिब्बतको सिमाना र तटबर्ती इलाकामा सैन्य अभ्यासको थालनीले नेपाल र चीनको मित्रतामा कति तुषारापात होला त्यो अनुमान गर्न सकिन्न । अमेरिकी प्रवेश, त्यसको प्रभाव र दुष्परिणाम संसारले देखेको छ र बुझेको छ । यस्तो हुँदापनि हाम्रा परराष्ट्रविद, सैनिक जनरलहरु र अनुभवी राष्ट्रप्रेमी बुद्धिजिवीहरु एकै ठाउँमा बसी विचार विमर्श गर्नु पर्ने होइन र ? नेपालमा विदेशीको दवाब र प्रभाव पहिलेदेखि नै थियो ।

नेपालको मन्त्रिपरिषदमा भारतीय राजदूतको खुल्लम खुल्ला अनिबार्य उपस्थिति रहनु, गणेशमान सिंहको चाक्सी बारीमा भारतीय नेता चन्द्रशेखरको उपस्थिति र भाषण, नेपालको राजनीतिलाई मिलाउन विभिन्न भारतीय नेताहरु बारम्बार नेपाल आउनु र सम्पूर्ण नेताहरुलाई आफ्नो अधिनमा राखी नेपालको राजनीतिमा सधैं फिल्मी शैलीमा ‘छक्का पन्जा’ गरी सबै सम्झौताहरु दिल्लीमै हुनु, राजदूत नियुक्तिदेखि मुख्य सचिव र मन्त्रीहरु नियुक्तिमा भारतीयहरुकै बोलवाला चल्नु के बिदेशी हस्तक्षेप होइन र ?

बास्तवमा नेपाल एक स्वाधीन राष्ट्र भैकन पनि यसलाई पहिले भारतले खेलायो भने यो समयमा आएर अहिले अमेरिका, बेलायत र युरोपियन युनियनका मुलुकहरुले बिरालो खेलाए झैं खेलाई आ-आफ्नो चंगुलमा पारिरहेका छन्। नेपाल १७६९ मै स्वतन्त्र भएको देश हो ।

त्यसको २० बर्ष पछिमात्र अमेरिकाको संविधान बनेको देशले आज नेपालमाथि यसरी सैन्य गतिविधि गर्नु र त्यसको आँट गर्नु के नेपाली नेताहरुको असक्षमता होइन र ? यसरी विदेशीको दवाब र प्रभावमा चुर्लुम्म डुब्ने हो भने भोलि चीनले पनि यस्तै दवाब र प्रभाब पार्न थाल्यो भने नेपालको गौरव, शान र शौकत, वीरता र स्वाधीनता भोलि कहाँ गएर खोज्ने हो । यो सम्पूर्ण देश चलाउने नेताहरुले सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा इसाइकरण फैलाउने, जातिवादको दंगा फसाद गराउने, साइबर प्रणाली नियन्त्रणमा लिने, नेपाली सैनिक अखडामा उनीहरुको प्रवेश हुने जस्ता डरलाग्दा अभियान एसपीपी कार्यक्रममा रहेको भन्ने बुद्धिजीबीहरुको आलोकले के नेपाल अब अमेरिकाको केन्द्र बिन्दुमा रहेको आभाष हुँदैन र ? यसरि विदेशी दवाब, प्रभाब र शक्ति नेपालमा बढ्दै जानु असंग्लग्न परराष्ट्र नीति र पंचशीलको सिद्धान्त बिपरित भएको प्रष्टै देखिन्छ ।

यसमा देश हाँकी बसेका सम्पूर्ण नेताहरुले बेलैमा सोचमा परिवर्तन ल्याई, राष्ट्रभक्त भई, इमान्दार भई, नैतिकवान भई, सोची सोही अनुसारको नीति अबलम्बन गरुन् र यसमा सम्पूर्ण जनताहरुले बेलैमा खबरदारी गर्नै पर्दछ । अन्यथा देश विदेशीको दवाब र प्रभावको बाक्लो उपस्थितिमा फसी देशै नरहन पनि सक्तछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो