पाकिस्तानी फिल्मको कथा चोरेर अक्षय कुमारले ‘रक्षा बन्धन’ बनाएको आरोप

डिसी नेपाल
९ असार २०७९ १३:४२

काठमाडौं । अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ को ट्रेलर रिलिज हुनासाथ चर्चामा आएको छ । ‘रक्षा बन्धन’ को ट्रेलरले निकै मिश्रित प्रतिक्रिया पाइरहेको छ । यस फिल्मको कथा दिदीबहिनीलाई असाध्यै माया गर्ने दाजुमा आधारित छ ।

बहिनीको विवाहको जिम्मेवारी दाजुको काँधमा छ । यस्तो अवस्थामा उनको आफ्नै प्रेमकथा बिग्रँदै गएको छ र उनले विवाह गर्न नसक्ने अवस्थामा छन् । अहिले ‘रक्षाबंधन’माथि पाकिस्तानी फिल्मको नक्कल भएको आरोप लागेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको ‘रक्षा बन्धन’ पाकिस्तानी फिल्म ‘लोड वेडिङ’को नक्कल भएको बताएका छन् ।

पाकिस्तानी सुपरस्टार फहद मुस्तफा र मेहविश हयात स्टारर फिल्म ‘लोड वेडिङ’को कथा पनि अक्षयको फिल्मसँग मिल्दोजुल्दो छ । ‘लोड वेडिङ’ मा फहादको क्यारेक्टरले आफ्नी गर्लफ्रेन्डसँग बिहे गर्ने मौका पाउँदैनन्, किनकि उनकी बहिनीको बिहे रोकिएको छ । यसबाहेक अन्य समस्याको सामना गर्नु परेको छ ।

धेरै प्रयोगकर्ताले ‘रक्षा बन्धन’ र ‘लोड वेडिङ’ को ट्रेलर र पोस्टर सेयर गर्दै दुबै एउटै भएको दाबी गरेका छन् । २०१९ मा आएको ‘लोड वेडिङ’ को नक्कल गरेको आरोप अक्षय र उनको फिल्मका निर्मातामाथि लगाइएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘अक्षय कुमारको आगामी फिल्मले निर्देशक नबिल कुरैशीको फिल्म लोड वेडिङबाट धेरै ‘उधारो’ लिएको छ । अरूको नक्कल गर्नु राम्रो हो, होइन र? किनभने नबिलको कामको नक्कल भएको यो पहिलो पटक भने होइन ।’

धेरै प्रयोगकर्ताहरूले ‘रक्षा बन्धन’ र ‘लोड वेडिङ’ लाई समान रूपमा वर्णन गरेका छन्। दुवै फिल्मको ट्रेलर पनि भाइरल भइरहेको छ । दुवैको कथामा समानता देखिएपछि पाकिस्तानका धेरै प्रयोगकर्ताहरु पनि आक्रोशित छन् ।

अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’मा उनीसँगै भूमि पेडनेकर, सादिया खतिजा, दीपिका खन्ना, स्मृति श्रीकान्त, सचमीन कौरलगायतका कलाकार छन् । फिल्मलाई निर्देशक आनन्द एल राईले निर्माण गरेका हुन् । यो दाजु-बहिनीको कथा रक्षाबन्धनको विशेष अवसरमा अगस्ट ११, २०२२ मा रिलिज हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *