‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’ – Dcnepal

‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’

रुपन्देही । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।

चिकित्सकहरू आवद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले आज ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका बारेमा जानकारी गराएको हो । क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियानसमेत चलाउने क्लबका अध्यक्ष डा सन्तोष पोखरेलले बताए ।

डा पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निद्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या देखिने गरेका छन् ।

पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावकसमेत यस विषयमा सचेत रहनुपर्नेमा जोड दिए । क्लबले बालबालिका बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायमा राख्ने गरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरणसमेत गरेको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउँ’ अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावक बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्ने बताए । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकाले यो अभियानले सामाजिक सचेतना जगाउने बताए । रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले यसअघि ‘जथाभावी नथुकौँ, थुकले मृत्यु फैलाउँछ’ भन्ने अभियान सञ्चालन गरेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो