जुलाइमा जो बाइडेनको साउदी भ्रमणअघि कैयौं अरब देशले इजरायलसँग सम्बन्ध स्थापित गर्न सक्ने

डिसी नेपाल
१२ असार २०७९ १६:४८

काठमाडौं । अमेरिकाले राष्ट्रपति जो बाइडेनको मध्यपूर्व भ्रमण अघि इजरायलसँगको सम्बन्ध सुधार गर्न अरु धेरै अरब देशहरूले कदम चाल्न सक्ने संकेत गरेको छ।

विश्वको नजर अब साउदी अरेबियामा छ, जहाँ बाइडेन जुलाईको मध्यमा जाँदैछन्। टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या भएको केही महिनापछि बाइडेनले २०१९ मा साउदी अरेबियालाई “पृथक” गर्ने वाचा गरेका थिए।

साउदी पत्रकार जमाल खशोग्गी आफ्नो सरकारको कडा आलोचक थिए। साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानका एजेन्टहरूले उनको हत्या गरेको आशंका गरिएको थियो।

तर, पछिल्लो समय अमेरिका र साउदी अरेबियाबीचको निकटता फेरि बढेको छ । यति हुँदाहुँदै पनि साउदी अरेबियाले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न तयार हुनेमा विज्ञहरूले शंका गरेको समाचार एजेन्सी एएफपीको रिपोर्टमा उल्लेख छ ।

राजा सलमान बिन अब्दुलअजीज अल सउदको आधिकारिक नीति रहेको छ कि इजरायलले प्यालेस्टाइनलाई मान्यता दिई आफ्नो कब्जामा रहेको भूभाग नछोड्दासम्म सम्बन्ध सामान्यमा फर्किन सक्दैन।

यद्यपि, मार्चमा साउदी सरकारी सञ्चारमाध्यमले युवराज मोहम्मद बिन सलमानले इजरायललाई “बलियो सहयोगी” ठान्ने रिपोर्ट गरेका थिए। उनले दुवै देश मिलेर आ–आफ्ना धेरै स्वार्थ अघि बढाउन सक्ने बताए ।

यसका क्षेत्रीय सहयोगी संयुक्त अरब इमिरेट्स र त्यसपछि बहराइन र मोरक्कोले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दा साउदी अरबले ती देशहरूको विरोध नगरेको बताइएको छ।

साथै, आफ्नो भ्रमणका क्रममा जो बाइडेनले विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबलाई कच्चा तेलको उत्पादन बढाउन सहमत गराउने प्रयास गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *