नाइट क्लबमा कम्तीमा २० जना मृत फेला

डिसी नेपाल
१२ असार २०७९ १७:३३

काठमाडौं । दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा २० जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ।

“कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ,” एक प्रहरी प्रवक्ताले न्यूजरूम अफ्रिका टेलिभिजन च्यानलसँग भनेका छन्।

“हामी अहिलेको विन्दुमा कुनै अनुमान गर्न चाहँदैनौँ,” ब्रिगेडिअर टिम्बिनकोशि किनानाले भने।

कसरी मृत्यु भयो?

स्थानीय सञ्चारमाध्यमहरूले ग्यास चुहावटका कारण विषालु पदार्थले उनीहरूको ज्यान गएको हुनसक्ने बताएका छन्।

स्वास्थ्य अधिकारीहरूले ती शवहरूलाई परीक्षणका लागि अस्पताल लगिएको जनाएका छन्।

हाल सिल गरिएको उक्त क्लब बाहिर भेला भएका पीडितका आफन्तहरूलाई सम्झाउने प्रयास प्रहरीले गरेको थियो।

आफ्नो उच्च माध्यमिक परीक्षा सकिएकोमा खुसीयाली मनाइरहेका विद्यार्थीहरू उक्त क्लबमा रहेका ठानिएको छ।

ज्यान गुमाउनेमध्ये अधिकांश १८ देखि २० वर्षको उमेरका रहेको बताइएको छ।

समाचारहरू अनुसार मृतकको शव उनीहरूका आफन्तलाई पनि हेर्न दिइएको छैन।

इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन्।

चारजनालाई अस्पताल लगिएको भनिएको छ।

घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले उक्त रात्रिकालीन क्लबमा भागदौड मच्चिएको आरोप लागेको जनाएकी छन्।

बीबीसीले त्यसलाई पुष्टि गर्न सकेको छैन।

स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आकलन गरेका छन्।

इन्योबेनी टाभर्नभित्र खिचिएका तस्बिरहरूमा शवहरू भुईँ र टेबलमा रहेको देखिए पनि चोटको कमै सङ्केत देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *