जी सेभेन शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको खिल्ली उडाइयो

डिसी नेपाल
१३ असार २०७९ १२:२०

काठमाडौं । जी सेभेनको शिखर सम्मेलन जर्मनीमा भइरहेको छ। सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा रुसको आक्रमण, त्यसको बहुआयामिक प्रभाव र युक्रेनको अवस्थाबारे छलफल गरेका थिए।

यस क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको ‘माचो इमेज’को बारेमा पनि बैठक सुरु हुनुअघि नै छलफल भएको थियो । आइतबार जी–७ देशको बैठक सुरु हुँदा सबै नेता गोलमेचमा बसेका थिए । अन्ततः बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आफ्नो कुर्सीमा बसे ।

कुर्सीमा बस्ने बित्तिकै जोनसनले साथी नेताहरूलाई ठट्टा गर्दै सोधे, “ज्याकेट लगाउने कि फुकाल्ने? के हामीले आफ्नो लुगा फुकाल्नु पर्छ?” सो क्रममा त्यहाँ धेरै पत्रकार, फोटोग्राफर पनि थिए ।

पत्रकारहरूलाई औंल्याउँदै जोनसनले भने कि हामी सबैले उनीहरूलाई देखाउनुपर्छ कि हामी पुटिन भन्दा बलियो (टफ) छौं। जोनसनको कुरालाई जारी राख्दै, क्यानाडाली नेता जस्टिन ट्रुडोले भने, “छाती देखाउँदै घोडामा सवार…”

यसमा युरोपेली आयोगका अध्यक्षले भने, “ओ हो… घोडामा सवार हुनु उत्तम हुनेछ।” समाचार एजेन्सी रोयटर्सका अनुसार यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

रुसका राष्ट्रपतिका यस्ता धेरै तस्विरहरु सार्वजनिक छन् जसमा उनी कहिले शर्टलेस, कहिले घोडामा चढेको त कहिले माछा मारिरहेको देखिन्छ । क्रेमलिन बाहिर सुट-बुट बाहेक उनको ‘माचो-इमेज’ को धेरै तस्बिरहरू छन्।

शिखर सम्मेलनको पहिलो दिन जी७ सदस्य राष्ट्रका नेताहरूले रुसलाई कसरी अलग्याउने भन्ने विषयमा विस्तृत छलफल गरेका थिए । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *