पोखरामा चिनियाँ कम्पनीमा छापा, चार जना पक्राउ, ४८ लाख बरामद – Dcnepal

पोखरामा चिनियाँ कम्पनीमा छापा, चार जना पक्राउ, ४८ लाख बरामद

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको एक कम्पनीमा प्रहरीले छापा हानी चार जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा एउटा पूरै घर भाडामा लिएर गैर कानुनी कार्य गरेको भन्दै विहिबार दिउसो कास्की प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन चिनियाँ र एक नेपाली नागरिक रहेका छन् । ‘चार जना पक्राउ परेका छन् चिनिया नागरिकलाई दोभाषे आवश्यक भएकाले उनीहरुलाई सोधपुछ गरिएको छैन, नेपाली नागरिकमाथि थप अनुसन्धान हुँदैछ’, एसपी रमेश थापाले भने ।

उनका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा मारेको थियो । ‘नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको आशंका छ, हामीले अनुसन्धान गरिरहेका छौ’, एसपी थापाले भने ।

एकजना व्यक्तिको पूरै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार कारवाही हुने देखिन्छ, अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ,’ एसपी थापाले भने । प्रहरीले सो कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद छ । ‘स्रोत नखुलेको रकम बरामद भएको छ, नेपालीहरुबाटै पैसा उठाएको हो कि भन्ने आशंका छ’, एसपी थापाले भने ।

विहिबार दिउसो प्रहरीले छापा मार्दा त्यहाँ नेपालीहरु युवाहरुको पनि भीड लागेको थियो । रोजगारीका लागि पुगेका युवाहरुले दिएको सूचनाकै आधारमा प्रहरी पुगेको थियो । शुरुमा त्यहाँ भएका सबै युवाहरुसँग प्रहरीले सोधपुछ गरेको थियो । तर युवाहरुको संलग्नता नदेखिएपछि ३ जना चिनिया र एक जना नेपाली मात्रै नियन्त्रणमा लिएको हो ।

नेपालमा चिनिया नागरिकहरुले वेलाबखत अवैध गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गर्ने गरेको छ । यसअघि पनि प्रहरीले काठमाडौमा एकै पटक एक सय २२ जनालाई पक्राउ गरेर चिनिया सरकारलाई बुझाएको थियो । अहिले पनि पोखरामा शंकास्पद देखिएका चिनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो