झोलुङ्गे पुलको निर्माण सुरु, स्थानीयवासी खुसी
सांकेतिक तस्वीर
सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ। एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन्।
तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ। वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका त्यस क्षेत्रका ५२२ घरपरिवारका स्थानीय बासिन्दा पुल निर्माण सुरु हुन थालेपछि खुसी भएका हुन्। पुल नहुँदा सिन्नेरी बरुण र भित्री भलायोका नागरिकले धेरै नै दुःख पाएको वडा नं ३ का वडाध्यक्ष जीतबहादुर श्रेष्ठले बताए।
वर्षात्को समयमा आफूले वडाका नागरिक स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक सेवा लिनबाट समेत बञ्चित हुनुपरेको जनाउँदै उनले भने, “पुल निर्माण समयमा नै सम्पन्न गर्न स्थानीयवासीले दबाब दिँदै आउनुभएको छ, पुल नहुँदा सुत्केरी महिला, बिरामीलाई स्वास्थ्य संस्थामा जानसमेत समस्या हुने गरेको छ ।”
गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले झण्डै रु एक करोडको लागतमा पुल निर्माण सम्पन्न हुने जानकारी दिए। सङ्घीय झोलुङगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु ९६ लाख ८० हजार ९४३ को लागतमा पुल निर्माण हुने उहाँले जानकारी दिए।
पुल निर्माणका लागि गाउँपालिकाको १३ प्रतिशत, समुदायबाट दुई प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ७७.२० प्रतिशत, सङ्घीय झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम लठ्ठा बुल्डग्रिप थिम्बल्स आदिबाट ७.२० प्रतिशत खर्च व्यहोर्ने गरी पुल निर्माण सुरु भएको हो । झोलुङ्गेपुल निर्माणपछि त्यस क्षेत्रमा रहेका ५२२ घरपरिवारका तीन हजार ६१२ बासिन्दा प्रत्यक्ष लाभाविन्त हुने उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment