डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद

डिसी नेपाल
२१ असार २०७९ ११:५६

सर्लाही। सर्लाहीको लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ। लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभाेक्ता ठगिएकाे गुनासाे आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएकाे तथ्य बाहिर आएकाे हाे।

अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु फेला पारेको जनाएको हो। प्रहरीसमेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकिरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ।

यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्यवस्तु बिक्री गरिएकोे तथा उपभोक्तालाई ठगी गरेको भन्दै अनुगमन टोलीले राजस्व शाखालाई चिठ्ठी काटेको छ। उपभोक्ता हितविपरीत ठगी धन्दा गरेको भन्दै राजस्व शाखाले समेत डालीमार्टविरुद्ध नियमअनुसार जरिवाना गर्न पत्र काटेको जनाएको छ।

अनुगमन टोलीले नियन्त्रणमा लिएको म्याद गुज्रिएको र किरा लागिसकेको खाद्यवस्तुको भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *