अमेरिकामा तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न

डिसी नेपाल
२१ असार २०७९ १७:०८

अमेरिका(उत्तरी क्यारोलिना) । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्‍याले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एक दिवसीय कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका विज्ञ तथा पेशाकर्मीहरुको उपस्थिति थियो।

संयुक्त राज्य अमेरिकाको एनआरएनए एनसीसी अन्तर्गतको विज्ञान, प्रविधि तथा आविष्कार समिति (एसटीआइसी)ले सोमबार (जुलाई ४)का दिन अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर कार्यक्रमको आयोजना गरेको थियो। जुलाई ४ लाई अमेरिकाको स्वतन्त्रता दिवसका रुपमामनाउने परम्परा छ।

महाधिवेशनमा विज्ञहरूले विभिन्न ११ वटा विषयमा छलफल गर्नुका साथै नेपालको हित र विकासकालागि सीप र ज्ञान हस्तान्तरणका बारेमा विचार प्रस्तुत गरेका थिए ।

एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) अध्यक्ष डाक्टर माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्रोफेसर जेमस एल पिसओक, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सम्बोधन गरेका थिए ।

सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल भएको थियो ।

नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब

‘नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’ शीर्षकको सत्रमा परराष्ट्र मामिला सम्बन्धी जानकार गेजाशर्मा वाग्लेले नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका आधारमा घनिष्ट र सौहार्द्रपूर्ण रहेको बताए। ‘नेपालले आफ्ना छिमेकीहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ, जुन भूराजनीतिक र कूटनीतिक दायित्व पनि हो। तर राष्ट्रियहितलार्ई ध्यानमा राखेर नेपालले निकट छिमेकीपछि शक्ति राष्ट्र अमेरिकालाई विशेष महत्व दिइरहेको छ,’ उनले भने ।

‘सम्भवतः नेपालका प्रधानमन्त्री छिट्टै संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा थप विकास सहयोग र आर्थिक सहायताको घोषणा हुनसक्छ। नेपालको लोकतान्त्रिकआन्दोलनलाई अमेरिकाले नैतिक समर्थन गर्दै आएको छ। नेपालको लोकतान्त्रिकरणमा पनि यसले ठूलो योगदान गरेको छ,’ वाग्लेले भने।

‘नेपालको आर्थिक विकासमा अमेरिकाको योगदान रहेको छ। त्यसैले अमेरिका नेपालको सबैभन्दा ठूलो दाताहो, जुन ऋण होइन अनुदानहो। कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको एमसीसी नेपाल–अमेरिका विकास साझेदारीको विशेषता हो,’ वाग्लेले थपे।

दक्षिण एसियाआर्थिक, भूराजनीतिक र कूटनीतिक रूपमा गतिशील क्षेत्र बन्दै गइरहेको उल्लेख गर्दै शर्माले नेपालले अमेरिकालाई स्वतन्त्रताको भूमिको रूपमा हेर्ने र विश्वशान्ति, समृद्धि र वास्तवमाअस्तित्व र स्वतन्त्रतामा नेपाल र अमेरिकाको साझा दृष्टिकोण रहेको बताए। विगत सातदशकमा वाशिङ्टन र काठमाडौंबीचको सम्बन्ध निरन्तर बढ्दै गएको उनको भनाइ थियो।

नेपालकालागि संयुक्त राज्य अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले भने, ‘हामीले एउटा बलियो आधारबाट सुरु गरेका थियौं,जसले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जस्ता धेरै कुरा साझा गरेको पाउँछौँ । मलाई विश्वास छ नेपाल र अमेरिका दुबै लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र सुशासनका सिद्धान्तहरूप्रति प्रतिबद्ध छन्।’

उनले आफूहरुले दुई ठूला छिमेकीबीच नेपालको स्थितिलाई थप जटिल बनाउन नखोजेको भन्दै आफूहरुले नेपाललाई एक सफल लोकतान्त्रिक साझेदार बनाउन चाहेको बताए। ‘जहाँहामीमध्ये मौलिक मूल्यमान्यताहरूमा विश्वास गर्नेले एकअर्काको सफलतामा लगानी गर्छौं। हामी साथीबन्न चाहन्छौं, र नेपाललाई सहयोग प्रस्तावगर्दछौं। नेपालले सबैका लागि बलियो, सुरक्षित, थप लोकतान्त्रिक र थप समृद्ध राष्ट्र निर्माण गर्न खोजेको अवस्थामा हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले सन् १९६२ देखि नेपाल आउन थालेका पिस कोर स्वयम्सेवकहरुले नेपालका कैयौं विद्यालयहरुमा पढाएका तथा प्राविधिक सेवा पुराएका स्मरण गरे। उनले नेपाल जस्तो मुलुकको भूराजनीतिक संवेदनशिलता छ अमेरिका जस्तो महाशक्ति मुलुकले बुझी दिनु पर्छ भन्दै छिमेकीहरुलाइ शंका उब्जने गरी हामीले नेपाल ले कुनै पनि सहयोग लिन नहुने बताए।

अध्यक्ष आचार्यले भारतीय मूलका अमेरिकी नागरिकहरुको राजनीति, व्यापार र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेको अग्रताले भारत र अमेरिका बीचको सम्बन्ध लाई अरु नजिक बनाएको हामीले देखेका छौं। अहिले प्रवासी नेपाली समुदाय व्यापार, व्यवसाय र पठन पाठनमा मात्रै हैन, अमेरिकाका विभिन्न तहको चुनावमा पनि सामेल हुन थालेको छ। आउंदो एक दशक भित्रै नेपाली अमेरिकीहरुले अमेरिकी राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त गर्ने हामी आशा गर्न सक्छौं। ‘गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकामा बसी रहनु भएका नेपली समुदायलाई नेपालमा लगानी लिएर जान, डलर एकाउँट खोल्न र आफ्नो सीप र प्रविधि नेपाल लैजान म अपिल गर्दछु,’ उनले भने।

सत्रको संचालन एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा यादव पण्डितले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *