उच्च पहाडमा टिम्मुर खेती मौलाउँदै, किलोकै १ हजार रुपैयाँ

डिसी नेपाल
२४ असार २०७९ ७:०३

पाँचथर। जिल्लाको फिदिम–३ का धनबहादुर गुरुङले यो सिजनमा सिलटिम्मुर बिक्री गरेर करिव ४० हजार रुपैयाँ आय गरे। उनले व्यवसायिक रुपमा टिम्मुर रोप्दै आएका छन् भने आफ्नो जग्गामा रैथाने रुपमा उम्रिएको सिलटिम्मुरले उनलाई वर्षेनी नगद हात परिरहेको छ ।

धनबहादुर जस्तै स्थानीय गंगाबहादुर राई र गंगादेवि राईले ३५ किलो उत्पादन गरेका छन्। सिता मुखियाले १० किलो फलाइन्। यसमा उनीहरुको ठूलो मिहेनत छैन।

आफ्नो जग्गामा रैथाने रुपमा उम्रने र फल्ने गरेको यो टिम्मुर पाँचथरको उच्च पहाडी क्षेत्रका बासिन्दाको नगद आर्जनको राम्रो माध्यम बनेको सिलौटी साना किसान कृषि सहकारी संस्था फिदिम- ३ का प्रवन्धक महेन्द्र लुइँटेलले बताए। उनका अनुसार फिदिम- ३, ८, १३, १४ वडाका सुम्निमा, सिलौटी, साधुटार, तमाखे, फेजुङसमेतका गाउँमा व्यवसायिक रुपमा टिम्मुर उत्पादन भइहरेको छ ।

यो सहकारीले पाँचथरमा मात्र करिव ४ सय किलो टिम्मुर संकलन गरेको छ । संकलन र बजारिकरण गर्दै आएको सहकारीले ५ प्रतिशत रकम लिएर टिम्मुर बिक्रीमा सहयोग गरिरहेको सहकारीका अध्यक्ष गंगाबहादुर राईले बताए।

टिम्मुर खरिद गर्न काठमाडौंदेखि व्यापारी आउने गरेका छन् । यहाँ प्रतिकिलो १ हजार रुपैयाँमा खरिद गरेर लाने ब्यापारीहरुले काठमाडौं पु¥याएपछि प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री गर्छन् ।

सिलटिम्मुर उच्च क्षेत्रमा उत्पादन हुन्छ भने तल्लो क्षेत्रमा बोकेटिम्मुर उत्पादन गरिन्छ । टिम्मुरबाट राम्रो आय हुने भएपछि तल्लो क्षेत्रका किसान पनि बोकेटिम्मुर रोप्न थालेका छन् । जिल्ला वन कार्यालयका अनुसार वन कार्यालयले उत्पादन गरेको बोके टिम्मुर फिदिम नगरपालिकाको तल्लो क्षेत्रका किसानले लगेर रोपिरहेका छन् ।

करिव ५ सय बोकेटिम्मुरका बिरुवा वन कार्यालयको नर्शरीबाट बितरण गरिसकेको कार्यालयका अधिकृत लिला बिष्टले डिसी नेपाललाई बताए । बोकेटिम्मुर भने यही किलोको २ हजारदेखि ३ हजार रुपैयाँमा बिक्री हुन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *