नयाँ ‘मिस लिटिल आइडल’को खोजी

डिसी नेपाल
३ साउन २०७९ १२:४५
28
Shares

काठमाडौं। प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२२’ को खोजी सुरु गरेको छ। आयोजकका अनुसार शैक्षिक कोर्षमा नसमेटिएका, तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन आयोजना हुँदै आएको यो प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष रोकिएको थियो।

प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउने जानकारी दिए । ‘बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मद्दत पुर्‍याउने छ’, राईले भने, ‘प्रतियोगिता २८ साउनमा सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना हुने छ।’

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई दाहालले प्रतियोगितामा परिचय राउन्ड, कल्चरल राउन्ड, स्पिच राउन्ड, टप १५ राउन्ड र टप ७ राउन्ड गरी पाँच चरणमा प्रतिस्पर्धा गराइने जानकारी दिइन्।

‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार आवश्यक ज्ञान दिन र छात्राहरूमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भनिन्, ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ। यो समयको माग हो।’

प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राईको संयोजकत्वमा सूर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित पाँच सदस्यीय कार्यक्रम संयोजन समिति गठन गरेको छ। आयोजकका अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरूलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने छ।

७ साउनदेखि प्रशिक्षण सुरु गरी २८ साउनमा अन्तिम प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । सन् २००९ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौं संस्करण हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *