छत्रदेवमा जुंगाको लडाई, दलीय आडम्बरले बजेट समेत प्रभावित

डिसी नेपाल
८ साउन २०७९ १७:११
124
Shares

अर्घाखाँची । विधिअनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिबेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष सुरू भएसँगै बजेट कार्यान्वयनको चरणमा पुग्नु पर्नेमा छत्रदेव गाउँपालिका यतिबेला कामविहीन भएको छ ।

पालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यही दुई पार्टीबीचकाे जुंगाको लडाईले छत्रदेव गाउँपालिकामा ८ साउन भइसक्दा पनि न त बजेट आएकाे छ न त नीति तथा कार्यक्रम मै । बजेट रोकिएपछि दैनिक कार्यसञ्चलन समेत प्रभावित भइरहेकाे छ । साथै, आर्थिक नियमावली पास नहुँदा वडास्तरमा समेत सिफारिस रोकिएको छ ।

कार्यपालिकाको पहिलो बैठकमै पालिका अध्यक्षले विषयगत समितिका सभापतिहरूको मनोनयन गरेपछि कार्यपालिकामा बहुमत रहेको एमाले सुरूमै झस्किएको हो । कार्यव्यवस्था नियमावलीले नै विषयगत समितिहरूको सभापति तोक्ने जिम्मा अध्यक्षलाई दिएका कारण यो छलफलकै विषय बन्न नसक्ने पालिका अध्यक्षको बुझाइ छ । ‘ मैले आफूलाई प्राप्त अधिकार प्रयोग गरी विषयगत समितिका सभापतिहरु चयन गरेको हुँ । अझ एमालेका तीन जना र कांग्रेसका तीन जना गरेर नियुक्त गरेको हुँ ।’ अध्यक्ष चन्द्रमान श्रेष्ठले भने, ‘पहिलो गाँसमै ढुंगा पार्ने गरी उहाँहरू अगाडि बढ्नुभएका कारण समस्या भएको छ ।’

यता, पालिका उपाध्यक्ष भने आफूहरू हलो अड्काउने पक्षमा हुँदै नभएको जिकिर गर्छन । ‘सकेसम्म समस्या नै नआउनुपर्थ्यो, आइसकेपछि विषयगत समितिको गठनलाई थाती राखेर बजेटलाई अगाडि बढाऔँ भनेका हौं । तर अध्यक्ष जबरजस्ति अगाडी बढेका कारण समस्या भयो ।’ उपाध्यक्ष मनि पन्थीले भने, ‘अध्यक्षमा समन्वयकारी भूमिका देखिएन, जबरजस्त अगाडि बढ्दा त कहाँ समाधान निस्कन्छ र ?’

आफूहरूले मध्यमार्गी बाटो अवलम्बन गर्न आग्रह गरे पनि कुरा जटिल बनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउँछन् । ‘हामीले मध्यमार्गी बाटोबाट भए पनि बजेट पास गरौं भनेको थियौं ।’ पन्थले भने, ‘विषय पालिकाभित्र भन्दा पनि जिल्लास्तरको राजनीतिमा पुगेका कारण समाधान झन जटिल भयो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *