कथाः हजुरबा

खेमराज पोखरेल
१४ साउन २०७९ ६:५२

म किन पग्लिँदै गएको हो कुन्नि? टाँडे घरको ओसारीबाट पूर्वतर्फ हेरेँ। यो घर मेरो हजुरबाले बनाउनु भएको हो। सूर्य उदाउनै लागेको थियो। घरअगाडिका बरपीपलको चेपबाट सूर्य मनजिक आउँदै थियो। टिनका छानाबाट शीतका थोपाहरू पग्लिँदै झर्दै थिए। बरपीपलका पातहरू स्थिर थिए।

घरभित्रका भित्तामा हजुरबा र हजुरआमाको ठूलो फोटो छ त्यसै मुन्तिर बसेको छु। हजुरबा, हजुरआमा बितेको वर्षौं भइसक्यो। बुवा आमालाई जीवनको खुड्किलोले पछार्दै लगेको छ।

०००००

म एकोहोरो घोरिएको छु। मैले जीवनमा भोगेको रातो उनलाई नीलो हुन्छ, उनको रातो मलाई नीलो हुन्छ। उनी याने रमा। रमा याने मेरी श्रीमती। एउटा बोध भएको छ ममा।

आफूलाई जीवनका हरेक गल्छेडाहरूमा टुक्य्राउँदै हिँडिरहेको छु। म आज आफैँसँग प्रश्न गर्दै छु के मैले नाति हुनको र छोरो हुनाको कर्तव्य पालन गरेको छु? के मैले पति हुनाको बोध गरेको छु? पिता हुनुको कर्तव्य निर्वाह गरेको छु?

रमा मनजिकै आएर बसिन्। अक्सर उनलाई मेरो माया बिछट्टै लाग्यो भने त्यसो गर्छिन्। मलाई रमाको यति धेरै कुरा थाहा छ कि उनी हिँड्दा के सोचिरहेकी छन्। उनले मेरो कपाल चलाउन थालिन् र भनिन्ः ‘हेर यो मान्छेको कपालमा चाया?, नुहाउने होइन, अब त बुढो सप्पै फुलिसक्यो।’

एउटा मजाको कुरा के छ भने जब रमाले अरू मान्छे देख्छिन् अनि मलाई ‘तपाईँ, हजुर, वा ठाउँअनुसार सियोस् पनि ठोकिहाल्छिन्। तर जब एक्लै भेट्यो उनी सोझै तिमीमा झर्छिन्। मलाई उनको ‘तिमी’ असाध्य मन पर्छ।

हजुर्बा बित्नु भो। सुद्धि छउन्जेल उहाँ भन्नु हुन्थ्योः ‘बुढीले बोलाएकी छे, अब जानु पर्छ’  म टुहुरो भएको छु। म बेगलकाँटे भएको छु। र पनि अझै बुझेको छुइनँः ‘के मैले बाँचेको सन्सार मिथ्या हो?, के हजुरबाले हजुरआमालाई गरेको माया बेकामे हो?’

मैले गौर गरेर उनलाई हेरेँ । तिलचामले भएकी छिन् उनी। स्वाँ स्वाँ हुन थालेको छ उनलाई। उनी भाँडा माझ्दै गरेको लुँडो हातैमा लिएर खुसी भए झैँ भन्दै थिइन्ः ‘सुन्नु भो छोरा बुहारी र छोरी ज्वाइँ सवैले उतैको नागरिकता पाएछन्’ विदेशिएका छोराछोरी नआएको पीडा पनि भुलेकी छिन् रमाले। यो पीडा पनि लुकाएकी छिन्।

खोई किन हो कुन्नि उनले बिहेपछि मलाई असाध्य माया गरिन्। बिहे पहिले त देखेकै थिएन। तर मैले अनुभव गर्न थालेको थिएँ कि जेठो छोरो जन्मेपछि उनले मलाई त्यति वास्ता गरेकी छैनन्। छोरी जन्मेपछि त उनले झन् के माया गर्थिन्। अहिले छोराछोरी विदेशिएपछि हामी टक्य्राक् टुक्रुक दुई जना छौँ, बृद्ध आमाबवा हुनुहुन्छ यो घरमा। अचेल उनी घनघोर माया गर्न थालेकी छिन् मलाई। म सम्झिरहेको छु। अहिले पनि सम्झेको छु।

श्रीमतीले भान्सा बाटै कराएकी थिइन्ः ‘फिसको व्यवस्था गर्नु भो त?’

मैले उनलाई भनेथेँः ‘रमा, मास्टरका छोराछोरी सरकारी विद्यालयमा नपढाए कारवाही गर्ने रे। पैसाको पनि सङ्कट परेकै छ। छोराछोरीलाई सरकारी स्कुलमै हालूँ, आखिर भाग्य आफ्नो आफ्नो, कर्म आफ्नो आफ्नो’

उनी एकदम रिसाएकी थिइन्। आँखा पनि राता र ठुला बनाएकी थिइन्ः

‘कस्तो नामर्द लोग्ने मान्छे हो यो ?, तल्ला घरे साइँलाले पनि बनी गरेरै छोरा छोरीलाई बोर्डिङ्मै पढाएको छ ए। तपाईँ मास्टर भएर पनि छोरा छोरीको भविष्यप्रति खेलवाड गर्ने? बरु एकछाक खानु पर्छ, एकधरोको सट्टामा आधा धरो लगाउनु पर्छ। तर छोराछोरीलाई बोर्डिङमै पढाउनु पर्छ’।

मैले खुइय गर्दै प्रष्टिकरण दिएथेँ ‘हामीसँग पैसा पनि छैन, कारवाही पनि गर्ने भन्दैछन्, के गर्ने त?’

यसबेला सम्म उनी झन् क्रोधित भइसकेकी थिइन्। उनी भन्दै थिइन्ः ‘भुत्रो पढाउँछ तपाईँको सरकारी स्कुलले। चोर नेताका छोराछोरी विदेशी स्कुलमा पढाउन हुने, भ्रष्ट कर्मचारीका छोराछोरी ठुलठुला अङ्ग्रेजी बोर्डिङमा पढाउन हुने। अनि पिलन्धरे मास्टरका छोराछोरी चाहिँ सरकारी स्कुलमै पढाउनु पर्ने, कस्तो नियम हो यो?’

मसँग कुनै जवाफ थिएन। उनी एकोहोरो भन्दै थिइन्ः ‘छोराछोरी बोर्डिङमा पढाउन पाइन्न भने छोड्दिनू त्यो खैराँते जागिर। छोराछोरीको भविष्यमाथि खेलवाड गर्न पाइन्न। बरु सहरमा गएर माडेको जागिर खानुस्। तपाईँ हाम्रो जीवन त के यस्तै भयो, छोराछोरीलाई त गरिखाने बनाउनु परेन?’

०००००

मङ्सिर महिना, बिहान छ बजे नै उठेको छु। कुइरो लागेकाले यो बिहान मध्यरातको जस्तो डम्म फुलेको छ। यो मध्य रात जस्तै देखिने बिहानीमा अनायासै परिवारबोध भएको छ। यस मानेमा म भाग्यमानी छु कि मैले पूर्ण परिवार भोग गरेको छु। मैले लामो समय हजुरबा र हजुरआमाको माया पाएँ।

पछिसम्म पनि एककाँधे हजुरबाको सन्सर्ग भेटेँ। जब म बिचलित हुन थाल्छु हजुरबालाई सम्झन्छु। एककाँधे हजुर्बा हजुरआमाको यादमा भाव विह्वल भइरहेको सम्झन्छु। डाँडाबाट देखिने गहिरा दुई ताल जस्ता आँखाबाट एकतमासको भएर आकाश र परपर देखिने आकाश हेर्नु हुन्थ्यो। एकटकले हेर्नुहुन्थ्यो हजुर्बा।

आमाबुवा एउटा आश, एउटा सुखद सुदूर भविष्य देख्नु हुन्छ मेरा आँखामा। र म भने खोई कहाँ छु कुन्नि?। तर म जहाँ छु, आमा बुवासँगै छु। अहिले कस्तो अनुभूत गर्नुहुन्छ होला तर पक्का पिण्डपानी खान पाउने कुराले भने स्वर्गको ढोका खुलेको महसुुस गर्नुहुन्छ। यत्ति मै पनि गर्व गर्नु हुन्छ।

श्रीमती छिन् मेरो नजिकै। उनी मलाइ नै हेर्छिन्। उनले मलाई सुम्पन केही बाँकी छैन। शरीरको मात्र त कुरो भएन, विश्वास सुम्पेकी छिन्, सुरक्षित ठान्छिन् क्यार। कहिलेकाहिँ उनको टोकसो पनि कति मिठो लाग्छ कि म जानीजानी काम बिगार्छु। उनी भन्छिन्, ‘कहिल्यै पाको नहुने भो यो मान्छे, सधैँ अल्लारेको अल्लारे’।

यो सुन्दा मलाई अपार आनन्द लाग्छ। उनको यो अल्लारे शब्दमा म कुदेको छु। म जस्तै मन दगुरेको छ। मन जस्तै तन दगुरेको छ। तन जस्तै भ्रान्ति दगुरेको छ। इच्छा दगुरेको छ र फगत दगुरेको छ। दगुर्दा दगुर्दा बाटो हेर्छु जहीँको त्यहीँ छ। र पनि म म निर्विवाद रमेको छु। मैले रम्नु परेको छ।

हिजो, एककाँधे हजुरबाका शारीरिक र मानसिक समस्याहरू थिए होलान्। कसले गुदानेको थियो र? कसले सोधेको थियो र? के उच्छवास थियो होला? जीवनलाई कसरी बुझ्नु हुन्थ्यो होला। उहाँ यो घरको केवल एक बृद्ध सदस्य हुनुहुन्थ्यो।

घरमा हुने परिवर्तन र निर्णयहरूमा उहाँको केही भूमिका थिएन। भूमिका खोज्नु पनि भएन। केवल नियमित खानपान, औषधी उपचार र हेरचाह मात्र त हो। घरिघरि एक्लै बर्बराउनु हुन्थ्योः ‘झेक्नेहरूले आज खानै दिएनन्’

तर यो मेरो परिवार किन चेसको गोटीको जस्तो अडबाङ्गे तालमा हिँड्छ होला?, किन चाल फरक छन्?, दाउ किन फरक छन्? मेरो यो जीवन चेसको गोटी जस्तो भएको छ। चेसको चाल जस्तो भएको छ। मैले मेरी श्रीमतीलाई भनेँः ‘रमा, आमा बुवाको अझै ख्याल गर न’।

उनले मतिर हेरेर भनिन्ः ‘कस्तो नासमझ होला हगि यो मान्छे? सासू ससुरा पालेको मान्छेलाई सोध्नु नि, मलाई करकर गर्नुको साटो, जति गरे पनि नहुने’

हो त नि, मैले आफ्नै कानले सुनेको छु, आफैँले देखेको छु, उफ, बिचरा रमा।

विदेशको एक्लो छोरालाई भन्छुः ‘अब के गर्ने होला?’

ऊ भन्छः ‘बेचबिखन गर्नु, अनि आउनू, घर किन्नु पर्छ’

विदेशिएकी छोरीलाई भन्छुः ‘तिमी नआएको ७ वर्ष भो छोरी, नभेटी मरिन्छ कि’

छोरीको उत्तर आउँछः ‘पख्नुस् न, बल्ल सिटिजन भइएको छ । ऋण तिरी सकूँ’

मेरा विचारहरू, भनाइहरू पानीका फोका जस्तो खस्न नपाउँदै प्याट्ट फुटेका छन्। अस्तित्व विलीन भएका छन्। एउटा कलिलो चिस्यान बनाएर भुइँभित्र विलाएका छन्।

०००००

टेन्सन्ले घेरिएको बेला हजुरबाको यादसँग बस्छु। अहिले बसिरहेको छु। उहाँको हात मेरो टाउकोमा हुन्थ्यो। म उहाँका हातलाई हेरिरहन्थे। पुरै अनुहार नियालिरहन्थेँ। गमिरहन्थेँ। अन्ठानब्बे पुग्नु भएको थियो हजुरबा। धुजाधुजा फाटेको थियो उहाँको अनुहार।

नाकभित्र खैरा रौँहरू बाक्लिएका थिए। लगाएका लुगाहरू दुरुस्त र ठिक ठाउँमा थिएनन्। लौरी बाँसको लौरोले जीर्ण शरीर थेगेको थियो। मुखबाट र्याल चुहिरहेको थियो। मैले एउटा धोतीको फेरले राल पुछिदिन खोजेथेँ। सिँगान पुछिदिन खोजेथेँ। हजुरबाले सकिनसकी आफैँ पुछ्न थाल्नु भएको थियो। उहाँ भन्दै हुनुहुन्थ्योः
‘हुम, नाथे, पर जा, आफ्नो काम आफैँ गनुपर्छ’

म सोचिरहेको छु। यो कस्तो ईच्छा होला? यो कस्तो स्वाबलम्वन होला? कस्तो अहम् होला? वा कस्तो जिद्दी होला? । मैले हजुरबाप्रति गौरब त गरेँ तर मेरा मनमा एउटा जिजिविषा आइरहन्छ। के म हजुरबा जस्तै स्वतन्त्र र स्वावलम्वी भएर बाँच्न सकुँला?, के हजुरबाले जीवन यापनका क्रममा अव्यवस्थित परिस्थितिसँग सम्झ्यौता गर्नु भएन? जीवनका आबडे खाबडे गल्छेडाहरूमा ठेस लागेन?।

हजुर आमा हुँदै मैले सोधेको थिएँः ‘हजुर आमा, हजुरलाई हजुरबाले यति माया गर्नु हुन्छ, जीवनमा कहिल्यै कुट्नु भएन?’

हजुर आमाको दाँतविहीन मुख मज्जाले हाँसेको थियो। र भन्नु भएको थियोः ‘त्यसरी त कहिल्यै कुट्नु भएन’

मैले प्रतिप्रश्न गरेँथेँः ‘कहिल्यै कुट्नु भएन त ?’

उहाँको उत्तर थियोः ‘एकपल्ट कुट्नु भएथ्यो’

मैले सोधेँथेँः ‘किन ?’

हजुरबा त्यहीँ हुनुहुन्थ्यो। हजुरआमा मजाले हाँस्नु भएथ्यो। हाँस्दा उहाँको नाकको बुलाकी थरथर हल्लिरहेका थिए। अनुहारका धाँजाहरू पनि चलायमान भएका थिए।

उहाँले भन्नु भएथ्योः ‘कम्तिको हो र? भात खान बसेथ्यौँ। तेरो बाउ चकचके थियो। बाहिर खेल्दै थियो। उसलाई खुवाइसकेको थिएँ। चुल्होको चौकोभित्र हामी थियौं। चौको छोडेपछि जात जान्थ्यो। तेरो हजुर्बालाई धानको भात हुन्थ्यो। आसामे झर्के थालमा पस्किदिएकी थिएँ। हामी अरू मकैको भात खान्थ्यौँ। उहाँ भात खादै हुनुहुन्थ्यो। मैले खाने थाल उहाँको पछाडिपट्टि थियो। मैले उहाँसँग ‘नानीको बा, हजुर पछाडि मेरो थाल छ दिनुस् त’ उहाँले ‘तँ अब मलाई काम लाउने भइस्’ भन्दै त्यही थाल टिपेर मेरा थाप्लामा हान्नु भएथ्यो बाबु’

म अचम्म मान्न थालेँ। ओ हो, हजुरबालाई धानको भात, हजुरआमालाई मकैको च्याँख्ला? यो कस्तो विभेद? पछाडिपट्टिको थाल माग्दा कुट्नु पर्ने कस्तो सामन्ती सोच थियो होला?

तर मैले उहाँहरूको जीवनको उत्तरार्ध रमाइलो देखेको थिएँ। हजुरबा र हजुरआमा सधैँ सँगै हुनुहुन्थ्यो। दुवै मिलेर सुर्ती कुट्नु हुन्थ्यो। छुवा मिसेर तमाखु बनाउनु हुन्थ्यो। अगेना ओर्तिर पर्तिर बसेर हुक्का ट्वाँर ट्वाँर पार्नु हुन्थ्यो। घरि हजुर्बा घरि हजुर्मा पालै पालो तान्नु हुन्थ्यो। हुक्काबाट निस्कँने आवाजको तालमा जीवन सुखमय थियो।

०००००

तराईको मङ्सिर महिना। शीत लहर डम्म जमेको छ। एकैपल्ट मुटुभित्र पस्ने छुचो चिसो छ। मलाई निँदले बिहानको चार बजे नै छोडेको छ। परपर देखिने सोलर बत्तीका उज्यालाहरू कमजोर देखिन्छन्। डम्म ढाकिएको कुइरोको राज छ। मभित्र एउटा वैराग्य उत्पन्न भए जस्तो छ। म सोच्न थालेको छु के सोलार बत्ती सत्य हो?, के अँध्यारो सत्य हो? यस्ता बगालछाँटे कुरा सुन्दा हजुरबा खुसी हुनुहुन्थ्यो। मैले फेरि हजुर्बालाई सम्झेको छु।

कार्ल मार्क्सले जस्तै हजुरबा पनि दुइटा तत्वका बिचमा सङ्घर्ष गराउनु हुन्थ्यो र भन्नु हुन्थ्योः

‘नाति, यो संसार सबै असत्य छ, त्यो कुइरो, यो जाडो, गर्मी सबैका सबै असत्य छन्। घाम लाग्छ कुइरो फाट्छ, खोई कुहिरोको अस्तित्व?, अर्कोतर्फबाट सोच्यो भने दुवै सत्य हुन्। किनकि कुहिरो र जाडोगर्मीको अस्तित्व छ’

मैले प्रश्न गरेँथेँः ‘हजुरबा, संसारको एउटै कुरो कसरी सत्य र असत्य दुवै बन्न सक्छ ?’

उहाँले जवाफ दिनु भएथ्योः ‘हो, ज्ञान भनेको त्यही हो। जब मान्छेले आफ्ना र बिराना, जन्म र मृत्यु, अँध्यारो र उज्यालो समतुल्य देख्न थाल्छ र सबै कुराले एउटै प्रभाव पार्न थाल्छ त्यो ज्ञान हो, परमार्थ हो, मुक्ति हो, र त्यो एकमात्र भगवान प्राप्ती हो’

मैले सोधेँथेँः ‘त्यो कसरी सम्भव छ हजुर्बा? आफ्ना आफ्ना हुन्, बिराना बिराना हुन, जन्म जन्म हो, मृत्यु मृत्यु हो, अँध्यारो अँध्यारो हो। यी कुराहरू नितान्त विपरीत कुरा हुन् । कसरी एउटै हुन सक्तछ?’

उहाँले उत्तर दिनु भएथ्योः ‘हो, नाथे, तेरो बुझाइ लौकिक हिसाबमा सत्य हो र अलौकिक हिसाबमा असत्य हो। हामी कुन संसारमा बस्छौँ, त्यही कुराले यो सबै निर्धारण गर्छ’

०००००

बाबु आमाका आफ्नै गुनासाहरू छन्। मान्छे भेट्ने बित्तिकै कुरो सुरुहुन्छ। छोरा छोरीले देश छोडे। रमालाई केही भन्यो तातोतेलमा पानी परे झैँ गर्छिन्। म मेरै स्याँसाहार र फुसाहारले ग्रसित छु। समाजलाई चियाएर हेर्छु। देशलाई भोग्दै गर्दा हेर्छु। आफन्त साथी भाइ सबैका सबै भोग्दै छु र जीवनको परिभाषा खोज्दैछु। किनकिन मलाई लागिरहेको छ।

नलाग्नु पर्ने थियो लागिरहेको छ। यो सन्सार, म, मेरा आमाबुवा, श्रीमती, छोराछोरी, इष्टमित्र, आफन्त, म बाँचेको धरातल सबै असत्य हो। प्याट्ट पानीका फोका जस्ता। भाव विह्वल भएको छु । के मैले गलत बाँचेँ ? के म असत्य बाँचेँ? र जबजब म यस्तो बेकाइदे हुन्छु अनि हजुरबालाई सम्झन्छु।

एकरात हजुर्बा ओछ्यानमा देखिनु भएन। घडी हेरेको थिएँ बिहानको दुई बजेको थियो। शीतका थोपाहरू पुराना टिनका छानाबाट सघन तप्पतप्प खसिरहेका थिए। जाडो महिनामा तराईमा लाग्ने घनिभूत कुइरो बैँसालु भएको थियो। सघन अँध्यारो भित्र टर्च बालेँ र हजुरबालाई खोज्न बाहिर निस्केको थिएँ।

परालको टालको आडमा मेरो टर्च लाइटले एउटा मानवाकृति देखाएको थियो। दौडिएर गएर हेरेको थिएँ। हजुरबा हुनुहुन्थ्यो। एकछिन मन स्थिर भएको थिएँ। हजुरबाको झोलिएको हातलाई समातेको थिएँ र भनेको थिएँः

‘हजुरबा कता हिँड्नु भएको ?’

हजुरबा भन्दै हुनुहुन्थ्योः ‘बुढीले यतै आउँछु भनेकी थिई, खोई कता गई खोजिदेऊ न बाबु’

मैले भनेँथेँः ‘को बुढी हजुरबा ?’

उत्तर आएथ्योः ‘नाथे, तम्री हजुर्मा क्या’

हजुर्बा सर्वाङ्ग चिसो हुनुहुन्थ्यो। शीतले भिज्नु भएको थियो। लिएर घर आएको थिएँ। लुगा फेरि दिएको थिएँ। घुर बालेर आगो ताप्न लगाएको थिएँ। अबोध बालक जस्तै खुरुखुरु मान्नु भएथ्यो। ओछ्यानमा सुताएँ र म पनि सुत्न गएको थिएँ। कोठाभित्र श्रीमती सुतिरहेकी थिइन्। सिरक फालेकी रहिछिन्।

उनको म्याक्सीले पनि सेता तिघ्रा छोपेको थिएन। अस्तव्यस्त थियो। त्यसैत्यसै माया लागेर आएको थियो। लुगा मिलाइ दिएको थिएँ। सिरक ओढाइ दिएको थिएँ। मलाई मेरी श्रीमती राम्री लागेको थियो। अब्बल लाग्यो। असल लाग्यो। दिव्य लाग्यो । उनको अनुहार हेरिरहेको थिएँ।

०००००

हजुर्बा बित्नु भो। सुद्धि छउन्जेल उहाँ भन्नु हुन्थ्योः ‘बुढीले बोलाएकी छे, अब जानु पर्छ’  म टुहुरो भएको छु। म बेगलकाँटे भएको छु। र पनि अझै बुझेको छुइनँः ‘के मैले बाँचेको सन्सार मिथ्या हो?, के हजुरबाले हजुरआमालाई गरेको माया बेकामे हो?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *