मलाई डाको छोडेर मन्चमै रोइदिऊँ जस्तो लाग्यो

डिसी नेपाल
१९ साउन २०७९ ११:०६

जुलाई ३१ मा मनाइने वनरक्षक रेन्जर दिवस यो वर्षको नेपालले केन्द्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा मनायो जहाँ रेञ्जरहरुको उत्साजनक सहभागिता थियो। झरीमा भिज्दै लड्दै आएका रेञ्जरहरुले सभाहल भरिएको थियो।

वनबिज्ञ, प्रशासकहरु, स्थानीय र सामुदायिक वन संरक्षणकर्मीहरु, उपभोक्ता हित अधिकारकर्मीहरु, पूर्व रेञ्जरहरु, संरक्षण साझेदार संघ-संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु, वन बिज्ञानका बिधार्थीहरुको स्वस्फूर्त उपस्थितिले दिवसको शोभा बढेको थियो।

दिवसमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु आरक्ष निर्देशनालय र नेपाल प्रहरीको सिआइबी लगायत अन्य सुरक्षा निकायको प्रतिनिधित्व भएको भए सुनमा सुगन्ध हुने थियो। आधा दिन लामो रेञ्जर दिवसको कार्यक्रमले मेरो आँखा कान खुल्यो। उत्साह र उमङ्ग भरिएर रेञ्जर भै फिल्डमा कुदिहालौं लाग्यो।

निकुञ्ज र वन एक सिक्काको २ पाटा होइनन्, बरु एउटै पाटाका भित्री बाहिरी २ रिङ हुन् र बाहिरी रिङ मजबुत भए पो सिक्काको भित्री केन्द्रविन्दु मजबुत हुन्छ भनेर आफ्ना तत्कालीन संगठन प्रमुखलाई सहमत गराएको थिएँ।

वन सचिवले रेञ्जरको हक हितमा ध्यान दिन वन मन्त्रीको ध्यानाकर्षण गरे। नवनियुक्त युवा मन्त्रीले जोसिलो र दमदार भाषण ठोकेर रेञ्जर्सलाई भएभरका सेवा सुबिधा दिएर छाड्ने वाचा गरे। रेञ्जर्सले फिल्डका समस्या दर्शाए।

जनप्रतिनिधिहरुले जनताका पिरमर्का र समस्या राखे। सबैका समस्याहरुको समाधान हुने भयो। मिलिजुली सानदार ढंगले प्रकृतिको जोडदार रक्षा हुने भयो। सवैको पोजेटिभ ईनर्जी र सुन्दर भविष्य देखेर म झन् उत्साहित भएँ।

केन्द्रमा बाघ

यो वर्षको रेञ्जर दिवसले बाघलाई केन्द्रविन्दुमा राख्यो। बाघ-मानव द्वन्द्व शून्यमा झार्ने प्रण गर्‍यो। मान्छेलाई घर बाघलाई वनमा खुसी र सुखी राख्ने संरक्षण रणनीति अघि सार्‍यो। समयमा सजिलै राहत र क्षतिपूर्ति दिएर जनतालाई गुन लगाउने प्रशासनिक प्रतिवद्धता आयो। बाघ बढाउने रेञ्जर्सलाई जीवनबिमा, पुरस्कार, तक्माले सम्मान गर्ने भइयो।

बाघको बासस्थान सुधार हुने भयो। घाँसे मैदानको ठेक्कापट्टा वनदोबस्तको बाधाअड्काउ फुकेर घाँसे मैदान १२ महिना हराभरा हुने भए। कुवा, ताल, सिमसार, घोल नदी सफा सुन्दर सजीब हुने भए।

बाघलाई भित्र कोरएरियामा अड्काउन निकुञ्ज घेरिने भइयो रु. १ अर्बले। समस्याग्रस्त बाघको अनुगमन हुने भयो। नियन्त्रण र उपचार हुने भयो। आधुनिक ईक्वीपमेण्टले सुसज्जित रेञ्जर्सले समस्याग्रस्त बाघ, सिकारी, आगो, अतिक्रमणकारीलाई ठाउँको ठाउँ ठिक पार्ने भए। बाघलाई रामराज्य!

हाम्रा नयाँ रेञ्जर

युवा जोस छ। जाँगर भरिएर पोखिएला जस्तो छ । आकाश झार्ने बल र आकांक्षा छ। प्रकृतिको असीम माया छ। वनयजन्तुको उद्धार रक्षाभाव उच्च छ । धर्तीमाता जोगाउने हिम्मत छ। गिट्टी बालुवा ढुंगा रोक्ने साहस छ। प्राकृतिक श्रोत साधनको उत्खनन, विनास, दोहन, बिक्री, तस्करी रोक्ने र कानुनको दायरामा ल्याउने आँट छ।

तर तालिम, प्रशिक्षण, अभ्यास शून्य छ। समन्वय, सहकार्य कसरी? पत्तो छैन। एक्लै आईसोलेसनमा राखिएको छ। पहिचान, सुरक्षा, सहयोग, कदर, सम्मान धेरै टाढाको अथवा आकाशको जुन जस्तो भएको छ। रेञ्जर संगठन शक्तिशाली छ । तर रेञ्जरहरु निरीह र खाली हात, खाली मन।

रेन्जर्सका न्यूनतम मागहरुमा सुरक्षित बास पाऊँ। स्वच्छ पिउने पानी पाऊँ। जीउ जोगाउने मोबाईल चार्ज गर्न बत्ती पाऊँ। काम कर्तब्य थाहा पाउन तालिम पाऊँ। काम गर्न कार्यालय कोठा पाऊँ। महिला रेञ्जर्सलाई सुरक्षा पाऊँ। जीवन बिमा गरिपाऊँ। मिलापलाई वाकीटकी सेट पाऊँ।

धन्य रेञ्जर्सले रासन र युनिफर्म मागेनन्। तर निकुञ्ज बाहेक वनका रेञ्जर्सले किन युनिफर्म लगाएनन् मैले बुझ्न सकिन। नभएर हो वा हिनताबोधले हो सुंइको पाइन। तर आफू युनिफर्ममा टल्किने र अरुलाई युनिफर्ममा उतार्ने पूर्व महानिर्देशक मनबहादुर खँड्का सरलाई स-सम्मान स्मरण गरें। बाघ जस्तो स्वाभिमानी नमूना रेञ्जर।

हामी आफैं हरायौं। बिलायौं। आचार संहिता बनाऊँ। अनुशासन, स्वाभिमान, ज्ञान, दक्षता, योग्यता बढाऊँ। सम्मान कमाऊँ भन्ने रेञ्जरको माग समयसापेक्ष, सम्बेदनशील र मुटु छुने खालको थियो। खोई हाम्रो मूल्य, मान्यता, पहिचान, सम्मान भन्ने महिला रेञ्जरको अर्को मागमा उस्तै पीडा लुकेको थियो।

बिश्वको अमूल्य र सर्वाधिक सम्मानित जनशक्तिको माग, हार-गुहार र मनोबिज्ञान देखेर म भावबिह्वल भएँ। मलाई मञ्चमा गएर डाको छाडेर रोईदिऊँ र आँसुको पोखरीमा डुबेर मरुँ लाग्यो। बिरामी प्रकृति र पृथ्वीको दयामायाले छोप्यो। धर्तीभित्रको रापले पोल्यो।

मैले चित्त बुझाएँ-लिटल नलेज डेन्जरस् भनेर। सबै रेञ्जरलाई मैले धर्तीको मालिक सम्झिएको थिएँ।  प्रकृतिको कमाण्डर मानेको थिएँ। आफैंले टिकाराम, रमेश, माधव, रुपकजस्ता रेञ्जर्ससँग सहकार्य गर्न पाएको थिएँ। यो दिवसले मेरो मन र आँखाको तुवालो फटायो। प्रकृति हेर्ने नयाँ चस्मा लगाइदियो।

नवौं बिश्व रेञ्जर्स सम्मेलनमा पूर्णकालीन सहभागिताको अवसरले बिश्वका रेञ्जर्सलाई चिन्ने बुझ्ने अवसर प्राप्त भएको थियो मलाई। त्यो अपूर्व र अमूल्य अनुभवलाई आफू रेञ्जर वनेर लिपिबद्ध गर्दा एउटा पुस्तक बन्यो। “जर्नेलदेखि रेञ्जर” नामको पुस्तकको उद्देश्य सरल र सामान्य छ-आफू रेञ्जर बन्ने। बिगतको रेञ्जर डिउटीको स्मरण गर्ने र आत्मसन्तुष्टी लिने। अनि वर्तमान र भावी विश्व रेञ्जर्सलाई सम्मान र सलाम गर्ने।

बिश्व रेञ्जर्सलाई आफ्ना आ“गनमा देखेर गरेको मूल्यांकन एकीन गर्न भर्खरै महिना लामो अमेरिकाको नेसनल पार्क र नेसनल फरेष्टको निजी अध्ययन भ्रमण गरें।

कति स्वाभिमानी र शक्तिसाली ती रेञ्जरहरु। छिनमा प्रकृति र पर्यटकका सच्चा सेवकहरु। छिनमा धर्ती हल्लाउने निस्वार्थी, निडर, शक्तिशाली कमाण्डरहरु। उच्च सम्मानित व्यक्तित्वहरु।

अलपत्र पारिएको मेरो प्रस्ताव

जतिबेला म नेपाली सेनाको निकुञ्ज निर्देशनालय र अन्तर्गतमा काम गर्थे त्यो बेला निकुञ्ज बिभाग र वन बिभागका रेञ्जर्स लगायत सशस्त्र सुरक्षा गार्डलाई तालिम दिन प्रस्ताब लिएर धेरैजना तत्कालीन महानिर्देशकहरुकोमा गएँ। सचिवहरुकोमा पेस भएँ।

हरेक पेसीमा कदर र स्याबासी पाएँ। सुन्दर प्रस्ताव भन्ने पगरी पहिरिएँ। भोलि-भोलि, पर्सि-पर्सिको नया भाका पाइरहें। बिडम्वना, प्रस्ताव कार्यान्वयनको शुभ दिन कहिले आएन।

तालिम पाऊँ। तालिम चाहियो, भन्ने डिजीहरुको जायज मागलाई के ले छेकथुन ग¥यो त्यो पनि थाहा पाउन सकिन। तर तालिम चाहियो भन्ने ती दूरदर्शी डिजीहरुलाई आजपनि सम्मान गर्दछु।

निकुञ्ज र वन एक सिक्काको २ पाटा होइनन्, बरु एउटै पाटाका भित्री बाहिरी २ रिङ हुन् र बाहिरी रिङ मजबुत भए पो सिक्काको भित्री केन्द्रविन्दु मजबुत हुन्छ भनेर आफ्ना तत्कालीन संगठन प्रमुखलाई सहमत गराएको थिएँ।

नेपाली सेनाको भुपु सशस्त्र सुरक्षा गार्डको तालिम, अनुशासन, कल्याणकारी, मनोबल बढाउने नैतिक जिम्मेवारी हाम्रो हो र त्यो हाम्रो राष्ट्रिय निकुञ्ज निर्देशनालयले पूरा गरिदिनुपर्दछ भनेर कुरा बुझाएको थिएँ।

हिम्मतिला ती संगठन प्रमुखले वनका रेञ्जर्सलाई हतियार तालिम र फायरिङसमेत गराउने अधिकार दिएका थिए। कार्यान्वयनमा आउन नसकेका ती आपसी र क्रस तालिमका संभावना अझपनि डस्टविनबाट झिकेर ब्युँताउन सकिन्छ।

वन रेञ्जर्सले १० राउण्ड फायर गरेर अदम्य साहसबोध गरेर फिल्डमा जान सक्दछन्। तालिम प्राप्त ती रेञ्जरले सेनासँग मिलेर समन्वयमा सहकार्य गरी प्रकृति रक्षा गरुन्। र, तिनको वन बिज्ञान ज्ञान, फिल्ड अनुभव हामीलाई दिएर प्रशिक्षित गरुन्। कार्यान्वयन विनाको अतितले मलाई धिकार्‍यो। अरुलाई के दोष दिनु आफैंलाई दोषी मुकरर गर्‍यो।

तर, ढोका बन्द भएको छैन। त्यो प्रस्ताव नयाँ बर्तमान दुरदर्शी र साहसिक महानिर्देशक र निर्देशकले कार्यान्वयन गरुन्। देशभरिका वन हेरालु देखि सिबिएपियु रेञ्जर्सलाई अर्ध-सैनिक तालिम दिएर नेपाली सेनाले साहसिक र स्वाभिमानी रेञ्जर्स उत्पादन गर्न योगदान गरोस्।

अनि मात्र प्रकृति रक्षाका पत्र पत्र पर्खालहरु खडा हुने छन्। समन्वीकृत संरक्षण अभ्यासको नविन र अर्थपूर्ण प्रयोग हुनेछ। र, प्रकृति एवं प्रकृतिका उपहार बाघ लगायतको वन्यजन्तुहरुको युग युगसम्म साँच्चो र संयुक्त रक्षा कल्याण सम्मान भइरहने छ।

हरेक वर्ष १ हजार बढी रेञ्जर्सको मृत्यु हुने खबरले उसै स्तब्ध थिएँ। अमेरिकामा समेत चोरी सिकार, अबैध ब्यापारको चुनौती रहेको र रेञ्जर्सहरुको ज्यान जोखिममा रहेको देखेर झन् चिन्तित भएँ।

कार्यक्रममा यो बर्ष मृत्यूबरण गरेका १५० रेञ्जर्सको सम्मानमा १ मिनेट मौनधारण गर्दा आफ्ना देशका सहिद सैनिक, निकुञ्ज-वन कर्मचारी र स्थानीय संरक्षणकर्मीहरुको बलिदान स्मरण गरें। न रेञ्जरमा न सहिदमा दर्ज ती सच्चा संरक्षणकर्मीहरुको पहिचान र दर्जा खोजतलास गरें। रेञ्जर हुन र बन्न छुटेका ती वास्तविक रेञ्जरहरुको आश्रित परिवारको कन्तबिजोक सम्झेर भावबिह्वल भएँ।

तिनका टुहुरा नाबालक बालिकालाई शिक्षा, स्वास्थ्य र रोजगारको सुबिधा दिइनु पर्ने थियाे, तर यसतर्फ ध्यानाकर्षण हुन नसक्नु दुखको कुरा हो। यी पीडित परिवारका बालवालिकाको शिक्षाको जिम्मेवारीबाट सरकार पछि सरे नेपाली सेनाले अग्रसरता लिनु पर्दछ। अन्यथा गैरसरकारी परोपकारी संस्थाहरु अघि सरुन्।

ती प्रकृति पुजक हुँदा हुँदै पनि जीवन गुमाएका त्यागीहरुलाई पो हो त राज्यले सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने तर खोइ राज्यले यता सोच्दै सोचेन। कार्यक्रम चलिरहँदा आएका यी यावत कुराले मन भक्कनिएर आएको थियो मलाई।

बिश्व रेञ्जर दिवसलाई शुभकामना।।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *