नियात्रा : आँखाको धित मरेन नि येलोस्टोन !

डिसी नेपाल
२१ साउन २०७९ ६:३१

मैले त्रिभुवन विश्वविद्यालयमा ऐतिहासिक पर्यटन विषय पढाउँदा पहिलोपल्ट येलोस्टोन नेसनल पार्कको नाम सुने÷पढेको थिएँ। पर्यटनबारे चासो राख्ने भएपछि संसार नै सुन्दर सङ्ग्रहालय लाग्नु स्वाभाविक हो। तर ती सबै सुन्दरता आँखाले पान गर्न पाउनु भनेको दुर्लभ हो।

अनि म त्यो बेला बाँचेको सरदर जीवनमा नेपालमा बसेर अमेरिकाको येलोस्टोन भ्रमणको कुरा गम्य हुने त परै जाओस्, कल्पनामा पनि आउने कुरा थिएन । तर जीवन भन्ने वस्तु अचम्मको रहेछ। घुर्‍यानको बराहाक्षेत्र नजुरेको हुनसक्छ, वनारसको गङ्गा जुर्न पनि सक्छ। समयको फेरले मलाई यही संयोगात्मक जुराइमा अमेरिका ल्याइ पुर्‍याएको छ।

अब कुरा रह्यो येलोस्टोनको। यो सु-संयोगमा मेरी माइली छोरी मनुशीलाको भूमिका रहेको छ। अमेरिकाको युटाह राज्यको साल्टलेक सिटीस्थित युनिभर्सिटी अफ युटाहको कम्युनिकेसन विभागबाट उनले विद्यावारिधि नगरेको भए वा गरेर पनि दीक्षान्त समारोहमा नबोलाएको भए मेरा लागि येलोस्टोन एकादेशको परीकथा नै हुन्थ्यो पक्का।

संयोग, त्यो दिन मे ३, २०१९ को थियो । दीक्षान्त समारोह थियो। जाहिर छ, यो दीक्षान्त समारोहका लागि हामी बुढाबुढी राखेका लुगा सुटकेसमा हालेर केही दिन पूर्व नै साल्टलेक सिटी हानिएका थियौँ । नेपालमा भनिने दीक्षान्त समारोह अमेरिकामा आइपुग्दा ग्य्राजुएसन भनिँदो रहेछ।

त्यो ग्य्राजुएसनमा भेला भएका मध्ये हामी यानेकि म, मेरी अर्धाङ्गिनी सुशीला, अमेरिकाकै सान एण्टोनियोबाट जेठी छोरी अनुशीला, ज्वाइँ निरज, नातिनीहरू एनिजा, नाइसा, न्यू योर्कबाट जेठानको छोरा सुमेश, अमेरिकाकै अस्टिनबाट प्रकाश राउत र उनकी श्रीमती तथा मेरा माइली छोरी र ज्वाइँ जय गरी ११ जनाको येलोस्टोन जाने कार्यक्रम मेरो तीब्र आग्रहमा बनेको थियो।

त्यसैले हामी मे ४को बिहानै यही ११ जनाको टोली दुइटा गाडी लिएर साल्टलेक सिटीबाट येलोस्टोनतिर लागेका छौँ । यो भनेको मेरा लागि विशुद्ध पशुपतिको यात्रा सिद्राको व्यापार नै हो। मौकामा चौका नै हो।

यतिबेला ‘यलोस्टोन’मुहाँ भएको छु। साल्टलेक सिटीबाट हाइवे १५ नर्थ समातेर कुदेको छ गाडी। जतिजति गाडी बत्तिएको छ, उतिउति म फुर्र्किएको छु। रौसिएको छु। गाडीबाट देखिने घरहरू निमेषमै ओझेल भइरहेका छन्।

सहर र बस्तीहरू फनफनी घुमेझैँ लागिरहेछ। येलोस्टोनको दूरी घटाउन हाम्रो गाडी प्रयत्नरत छ। र मजाको कुरो के भने गाडीभित्रको स्टेरियोमा नेपाली गायक/गायिकाहरू भाका हाली हाली नेपाली गीत गाइरहेका छन्। नेपाली भाषा बोलिरहेछ। बात मारिरहेछ। विश्वास गर्नुस्, तन र भूमि नेपाली थिएन तर हामी नेपाली थियौँ।

हेर्दाहेर्दै गाडीले युटाह राज्य छोडेर आइडिहाओ राज्य प्रवेश गरेको छ। हामी आङ तन्काउनका लागि हाइवे आइ १५ कै छेउमा बनाएको रेस्ट एरियाभित्र पसेका छौँ। सुन्दर ड्राइ पिकनिक एरिया रहेछ। भोक लागेको छ।

त्यहीँ आफूले लगेका खानेकुरा तताउन थालेका छन् टोलीका सदस्यहरू। कुलर, ग्यास तथा ग्यासचुलो तथा पकाएर खाने सारा कुरा बोक्ने चलन रहेछ। बाथरुम निकै सफा रहेछ। भुइँमा टायल टलक्क टल्केका हुँदारहेछन्।

अचम्म! मान्छे कोही हुँदा रहेनछन्। यात्रु सबै सफाइका लागि आफैँ सचेत हुनुपर्ने रहेछ। बाथरुमको अगाडिको करिडोरमा मेसिनमा कोकाकोला, चिप्स जस्ता सामाग्री बेच्न राखिएको हुँदो रहेछ। पैसा छिराएपछि ती सामग्री फुत्त बाहिर निस्कने रहेछन्।

करिडोरमै येलोस्टोनका बारे प्रकाशित भएका बुकलेटहरू राखिएका छन्। त्यो भने सित्तैँमा लिन पाइने रहेछ । यसै रेस्टरुमलाई उपयोग गरेर बाहिर निस्कँदा नेपालमा लामो यात्रा गर्दा बाटाका ट्वाइलेट/व्यवस्था सम्झेर दिक्क लागेको छ।

तर गर्न के पो गर्न सकिन्छ र ! रेस्टरुम बाहिरको चउर नै निकै आकर्षक छ। हरियो चउरमा फुलेका ती जङ्गली फूलका कारणले चउर नै लमतन्न गलैँचाजस्तै देखिएको छ।

हाइवे १५ नोर्थबाट गइरहँदा बाटामा ठूला ठूला फार्म र र्यान्चहरू देखिएका छन्। आँखाले नभ्याउने गरी जग्गाजमिन र तिनमा लगाइएका बालीहरू हराम्य देखिएका छन्। आफू किसानको छोरो भएकाले खेती किसानीले छोइहाल्दो रहेछ। मूल रूपमा यो राज्य कृषिप्रधान रहेछ। यो राज्यको आलु निकै प्रसिद्ध रहेछ। काठमाडौँमा बसेर मुढेको आलु भनेर खाएको सम्झना आएको छ।

गाडीबाट देखिएको त्यहाँको सिँचाइ व्यवस्थाले त मलाई चकित नै पारेको छ। बाटोबाट नजिकै निकै लामो पाइप वा काठको पुलमा पानीको पाइप पुर्याएर पानीको हल्का फोहोराले सिँचाइ हुँदोरहेछ। मजाको कुरा त के भने त्यो पुल खेतभरि आफैँ विस्तारै विस्तारै सर्दोरहेछ। यो पद्दतिलाई स्पिङ्कलर सिस्टम भनिँदो रहेछ। परपर डाँडामा ठूला ठूला पङ्खा हावाको सारमा घुम्दै थिए र बिजुली बाल्दै थिए।

यतिबेला हामी येलोस्टोन छिर्ने पश्चिमी गेटका समीपमा छौँ । गेट पस्नुभन्दा पहिले नै काठका तखतामा कुँदेर बनाइएको ठूलो काठको साइनबोर्डका अगाडि बसेर पोज पोजमा फोटो खिचेका छौँ र गेटबाट दस्तुर बुझाएर भित्र छिरेका छौँ ।

दस्तुर बुझाउने ठाउँमा येलोस्टोन नेसनल पार्कभित्र भएका पर्यटकीय स्थलहरूको नक्सासहितको जानकारी पुस्तिका सित्तैँमा पाएकाले त्यही अनुरूप हामीले यात्रा सुरु गरेका छौँ । म खासमा यही पुस्तिका हेर्दै र बाहिरको प्रकृतिको रसस्वादन गर्दै रमाएको छु।

आमाम्मा कत्रो हो हौ यो नेसनल पार्क ! यो नेसनल पार्कले अमेरिकाको मोन्टाना, आइडिहावो, र वोमिङ राज्यका भूभाग ओगटेको रहेछ। निकै ठूलो रहेछ । ५ वटा त प्रवेशद्वार नै रहेछन् । आइडिहाओ राज्यबाट येलोस्टोन प्रवेश गर्नेले पश्चिमी द्वार प्रयोग गर्नु पर्ने रहेछ।

त्यसैले हामी पश्चिम द्वारबाट छिरेका छौँ । यो बेला मलाई खप्तडको विशालताको याद आएको छ । अक्षाम, बाजुरा, बझाङ र डोटी जिल्लाका भाग ओगटेर बनेको खप्तड प्रवेशका पनि ३/४ वटा प्रवेश द्वार भएको सम्झेको छु । फरक के छ भने येलोस्टोनभित्र पहुँच सहज छ। खप्तडभित्र जटिल छ।

यो ठाउँको नाम येलोस्टोन हुनमा नेटिभ अमेरिकन वा हाल आएर रेड इन्डियन भनिने आदिवासीको योगदान रहेको भनिदो रहेछ । नदीका किनारमा पहेँला बालुबामिश्रित ढुङ्गाहरू हुने र त्यो छेउका ढुङ्गे पहाड पनि पहेँला देखिने भएकाले यो क्षेत्रको नाम येलोस्टोन भएको रहेछ । नदीको नाम पनि येलोस्टोन नै रहेछ ।

पुस्तिकाले बताइरहेथ्यो कि मार्च १, १८७२ मा अमेरिकाका राष्ट्रपति एस. ग्राण्टले नेसनल पार्कको रूपमा स्थापित गर्ने कानुन ल्याएर येलोस्टोन क्षेत्रलाई नेसनल पार्क बनाएका रहेछन्। संसारभरिमा यो पहिलो नेसनल पार्क हो रहेछ। सन १९७८ मा यसले युनेस्कोबाट विश्वसम्पदाको सूचिमा सूचिकृत हुन पाएको रहेछ। सरदर उचाइ ८००० फिट रहेछ।

पार्कको सबैभन्दा अग्लो स्थान इगल पार्कको उचाइ ११३५८ फिट रहेछ । यो पार्कमा साना ठूला गरी १५ फिटदेखि ३०८ फिटसम्मका १२ थान झरना रहेछन्। लेक मात्र ८ वटा रहेछन्। पदयात्राका लागि ३७ वटाभन्दा बढी शिखर रहेछन्। क्यानिअन अर्थात घाटी २ थान रहेछन्। १५ वटा नदीनाला खोला रहेछन्।

नेसनल पार्कभित्रै होटलहरू, वन कार्यालय, म्युजियम, पर्यटन सूचना केन्द्र, हुलाकहरूको व्यवस्था रहेछ। फिसिङ गर्ने ठाउँ छुट्याइएको रहेछ। युएस रुट १४, २०, ८९, १९१, २१२, २८७ जस्ता हाइवेहरू पार्कभित्रैबाट छिचोलिँदा रहेछन्।

यसबाहेक यहाँ स्तनधारी जीव पनि असाध्य धेरै रहेछन्। ६० थरिका घस्रने जीव रहेछन्। बाह्रसिङे, काठ ब्वाँसाहरू, बाइसन, भालु, हरिण, भेडा आदिले यलोस्टोनको शोभा बढाएका रहेछन्। यलोस्टोनको क्षेत्रफलको ८० प्रतिशत भागमा जङ्गल रहेछ। यो जङ्गल एकदम घना रहेछ।

यसो हुनुमा वनकार्यालयको सक्रियता रहेछ। यो वनमा वनस्पतिका १३५० प्रकारका प्रजाति पाइने रहेछन् । यसबाहेक येलोस्टोन गिजर, हट स्प्रिङ, गहिरो गल्छी, नदी, छाँगा, जङ्गल, पहाड, जङ्गल जीवनका लागि प्रसिद्ध रहेछ।

यो बेला मलाई येलोस्टोनको भिमकाय स्वरूप बुझेपछि उत्सुकता जागेको छ र मेरो दिमाग नेपालतिर फर्केको छ। आकारको हिसाबमा नेपालको २ नं. प्रदेशको क्षेत्रफल ३७३० वर्गमाइलको ९३ प्रतिशतभन्दा बढी भूभाग यो येलोस्टोन नेसनल पार्क ३४७१ वर्गमाइलले ओगटेको रहेछ। जबकि यो नेसनल पार्क अमेरिकाको आठौँ ठूलो नेसनल पार्क हो रहेछ।

यलोस्टोनका बारेमा यति थाहा पाएपछि मलाई अमेरिकाको सबभन्दा ठूलो नेसनल पार्क र संसारको सबभन्दा ठूलो नेसनल पार्क कत्रो होला भन्ने खुल्दुली लागेको छ। अमेरिकाको सबैभन्दा ठूलो अलास्काको र्याङगेल स्टेट इलियास नेसनल पार्कले नेपालको ६० प्रतिशत जति भूभाग ओगटेको रहेछ।

तर अचम्म संसारको सबभन्दा ठूलो नर्थ-इस्ट ग्रिनल्याण्ड नेसनल पार्क नेपालको पूरै क्षेत्रफल भन्दा झण्डै ७ गुना ठूलो रहेछ । यो धरातलमा उभिएर मैले ७ वटा प्रदेशको बोझ थेगेको नेपाललाई सतत् नमन गरेको छु। धन्य पशुपतिनाथ बाबा !

मे महिना हुनाले ठिक्कको तर जाडो तापक्रम छ। हाम्रो गाडीले गाडीबाहिरको तापक्रम २० डिग्री सेल्सियस बताइरहेको छ । नत्र त जनवरीमा -१३ डिग्रीसम्म हुँदोरहेछ। पर्यटकको कुँडुलो लाग्दो रहेछ।

किनभने त्यो हिँउ परिरहेको बेलामा पनि पार्कभित्र यति धेरै मान्छे छन् कि लाग्दछ कुनै मेला लागिरहेको छ। त्यसैले त येलोस्टोन नेसनल पार्कले होटल, तथा अन्य सबै सेवा गरी ४५००० रोजगारी उपलब्ध गराएको रहेछ।

येलोस्टोनको भिमकाय स्वरूप थाहा पाएपछि हामीले बुझेका छौँ कि जम्मा दुई दिनको बसाइमा घुमिसक्ने सम्भावना होइन रहेछ । आगो लिन आएसरि ठाडठाडै आएर यलोस्टोनको घुमाइ असम्भव रहेछ।

यसको लागि त कम्तिमा हप्ता÷दस दिन पार्कभित्रै बास बसेर घुमेमा मात्र हुने रहेछे । तर हामीसँग त्यस्तो योजना, समय र स्रोत थिएन । मान्छे बाचुञ्जेल यो स्रोत र समयको पर्याप्तता हुने कुरै होइन रहेछ।

त्यसकारण हामीले छानी छानी, पायक पर्ने तथा मुख्य मुख्य घुम्नु पर्ने अवस्था आयो। यो परिवेशमा हाम्रो छनौटको पहिलो गन्तव्य ग्य्राण्ड प्रिज्म्याटिक हट स्प्रिङ भएको छ।

पश्चिमी गेटबाट भित्र पस्ने बित्तिकै सेताम्य हिउँले स्वागत गरेको छ हामीलाई। वनका खोल्सामात्र होइन सडक किनारामा पनि हिँउका रासहरू छन्। वनका रुखका हरिया पातमा हिँउका चुम्वनले लजाएझैँ लाग्छ परिवेश। सडक कालो रेखी जस्तो मात्र देखिन्छ। तर बाटो फिलिलिलि छ।

गाडीबाहिर मीठा होलान् जस्तो मधुर घाम लागेको छ। गाडी जिपिएसको सहायताले बाटो खोज्दै कुद्दै छ। तर हाम्रो बाटो लगभग १०० वटाजति बाइसनका बथानले छेकेको छ । बाइसन भनिनु एकप्रकारका भैँसी हो रहेछन्।

ती बाइसन सडकै-सडक निर्धक्क हिँडिरहेका छन्। पाखातिर फर्काउन रेञ्जरको टोली सक्रिय देखिन्छ । तर ती आफ्नै तालमा हिँडिरहेका छन्। नेपालको भाषामा भन्ने हो भने जाममा परिएको छ। तर यो जाममा पनि बाइसनको रमाइलो भने हेर्न पाइएको छ।

भर्खर जन्मिएको बच्चो बाइसन आमाको दूध चुस्तै कति मजाले लुखुर–लुखुर हिँडिरहेको छ । आमा बाइसन एकछिन उभिएर बच्चालाई दूध चुसाएर फेरि बथानमा मिसिएको देखिएको छ । धन्य छ संसारको मातृत्व ! भाले बाइसन पोथी बाइसनसँग सम्मोहन भएको छ।

सायद ऋतुराग भएकी होली पोथी। अरू भाले बाइसन आएमा त्यो बलियो भाले बाइसन सबैलाई लखेट्दै छ । र पोथी बाइसनमाथि उक्लिँदै छ । यो भाले–पोथीको सम्बन्ध जसले बनाए पनि गजब बनाएका छन्।

संसार नै यही सम्मोहनले चलाएको छ। बल्ल बल्ल बाइसन पाखा लागेका छन् र जाम भएका गाडीहरूले बाटो लिएका छन्। वास्तवमा यी बाइसनहरू येलोस्टोन नेसनल पार्कका आकर्षण रहेछन्। यसरी बाइसनको बथान देखिनु सुसंयोग रहेछ।

बाइसनका बथानलाई पर्खँदे छिचोल्दै हामी अमेरिकाको सबैभन्दा लामो तथा संसारकै तेस्रो ठूलो तातोपानीको मुहान ग्य्राण्ड प्रिज्म्याटिक स्प्रिङको पार्किङ लटमा आइपुगेका छौँ । गाडी पार्किङ् गरेर हामी तिर्पायाँ तिर्पाया उकालोजस्तो लाग्ने बाटोबाट स्प्रिङ हेर्न हिँडिरहेका छौँ।

बाटो लाग्ने बित्तिकै एउटा खोलामा काठका तखताले बनाइएको पुल आएको छ र त्यो पुलपारिबाट नै प्रिजम्याटिक स्प्रिङ सुरु भएको छ। तातोपानी भलकभलक उम्लिँदै बग्दै गरेको आफ्नै आँखाले देख्दा र त्यो पानीमा देखिने प्रिजम्याटिक कलर (रातो, सुन्तले, पहेँलो, हरियो, तथा निलो) ले मन थाहै नपाइ चोरिरहेछ।

लगभग २/३ किलोमिटर लामो र त्यस्तै चौडाइ होला त्यसको सम्पूर्ण भूभागको। स्प्रिङभित्रै काठका टाँड पुल बनाएर राखिएको छ। त्यही काठे टाँडे पुलबाट मान्छेहरू आइरहेछन्। गइरहेछन्। फोटो खिचिरहेछन्। चिसो छ। कसैले निकै बाक्लो लुगा पनि लगाएका छन्।

कोही कोही त्यो जाडोमा आफ्नो प्रेमी प्रेमिकालाई आलिङ्गन गर्दै चुम्मा चुम्माको रसले जिउ तताउँदै पनि देखिएका छन् । त्यो तातो पानीमा देखिने रङले जताततै कैयौँ ईन्द्रेणी बनाइरहेको छ। कोही मान्छे त्यही देखिने ईन्द्रेणीको पारिपट्टि देखिएका छन्।

त्यसैभित्र एउटा तातोपानीको पोखरी रहेछ जसको परिधि ३७० फिट मानिँदो रहेछ। त्यहाँका महत्त्व तथा इतिहासका बारेमा सिसाले छोपेर धेरै ठाउँमा फोटोसहित सूचना राखिएको छ।

जसअनुसार त्यो पोखरी १६० फिट गहिरो रहेछ र ७० डिग्री सेल्सियस तापक्रम भएको २७०० लिटर तातो पानी प्रति मिनेटमा फ्याँक्दो रहेछ। कस्तो अचम्म भने त्यो क्षेत्रमा जतातजै तातो पानीका फोहोराहरू, कुण्डहरू भुलुकभुलुक उम्लिएको देखिइरहेका छन्। यस्ता भुलुकभुलुक त सयौँका सङ्ख्यामा होलान् जस्तै लागेको छ।

ग्य्राण्ड प्रिज्म्याटिक स्प्रिङमा हिँड्दा हिँड्दा थकाइ लागिसकेको छ। घाम पनि ओरालो लागेको छ। चिसो बढेको छ। हाम्रा नाकलाई हुनसम्मको चिसो भएको छ । नासिकाबाट निस्केको तातो हावाले चस्मामा ठोकिएर चस्मामा बादल लागिरहेको छ।

खास भन्ने हो भने हामी सबै लखतरान परिसकेका छौँ । तर आजै ओल्ड फेथफुल गिजर जानै पर्ने निष्कर्ष निस्किएको छ। किनभने भोलि घुम्ने भनिएको ठाउँ त यहाँबाट ५० माइल भन्दा पनि डाढा छ भनिएको छ।

हामी बोकेका बिस्कुट, कुकिज तथा चिप्सलाई मुक्याउँदै गाडीभित्र बसेका छौँ र ओल्ड फेथफुलमुहाँ भएका छौँ । यो बेला उफ तातो चियाको तलतल ! भो खानको कुरा के गर्नु ! तर पनि कहाँ पाउनु ! अन्तत हामी ओल्ड फेथफुल आइपुगेका छौँ ।

यसको खुला कम्पाउण्डमा राम्रा राम्रा होटलहरू, रेस्ट एरिया रहेछन्। तर भर्खर भर्खर पार्क खुलेकाले होटलहरू खुलेका रहेन छन्। एउटा/दुईटा एयर बि.एण्ड बी. घर खुलेका देखिएका छन्। यही कम्पाउण्डमा गाडी पार्क गरेर ओल्ड फेथफुल हेर्न बनाइएको ठाउँमा पुगेका छौँ।

यो ठाउँबाट पानी फाल्ने मुख्य केन्द्र करिब ४०० फिट पर होला। तर हाम्रो दुर्भाग्य हामीलाई जति हतार भए पनि यो तातो पानीको फोहोरा भर्खर आएर गएको रहेछ र अब हामीले त्यो फोहोरालाई कुर्नुको कुनै विकल्प छैन।

ओल्ड फेथफुल गिजर भनेको तातो पानीको मुहान रहेछ। यसलाई थम्बनेल पनि भनिँदो रहेछ। जमिनको ४२ फिट मुनीबाट पानीको निकै ठूलो मुक्काजस्तो फोहोरा माथि आकाशतिर फ्याँक्दो रहेछ।

कम्तिमा ६० मिनेटदेखि बढीमा ११० मिनेटका बिचमा पानी अग्लो फोहोरा बनाएर फ्याँक्दो रहेछ। त्योे जमिनबाट निस्कने तातो पानीको फोहोराले एकपल्टमा १४००० देखि ३२००० लिटरसम्म तातो पानी फ्याँकेको अुनमान गरिएको रहेछ।

फोहोराको अग्लाइ भने १८५ फिटसम्म हुने रहेछ। करिब ७५ मिनेटको अवधि कुरेपछि भुइँमुनीबाट बाफले भरिएको तातो पानी एक्कासी आयो र एउटा ठूलो फोहोरा बनाएको छ। यो फोहोरा करिब १ मिनेटजति रह्यो । यसले फयाँकेका तातोपानीले बनाएका वाफले नजिकैको वनसमेत वाफिलो देखिएको छ।

ओल्ड फेथफुल हेर्दाहेर्दै एकदम ठूलो साँझ परिसकेको छ। जाडोले सेकिरहेको छ। कतिबेला हिटर अन गरेर गाडीमा बसौँ भन्ने आतुरी छ। भोकले गाँजेको छ। अन्तत आज हामी घुमाइ सकेर फर्किन थालेका छौँ । हाम्रो बास बस्न लिएको एयर बिएण्डबी घर येलोस्टोनको पश्चिमी गेटबाट झण्डै ८० किलोमिटर टाढा रहेछ । तर अमेरिकाका सन्दर्भमा यो दूरलिाई सामान्य मानिँदो रहेछ।

यो भनेको झण्डै डेढ घण्टाको बाटो हो रहेछ। तर बाटाभरि हिँउ भएकाले गाडीको स्पिड अलि ढिलो हुनु स्वाभाविक छ। रातको करिब ८ बजे हामी भाडाको घर आइपुग्यौँ । हिउँका रासमा टक्रक्क उभिएको देखिन्छ लस्करै घरहरू । तर अचम्म ! मान्छे कोही छैनन्।

इमेलमा एउटा नम्बर थियो। त्यही नम्बरले ढोका खुल्दोरहेछ। घरभित्र पस्यौँ । घर एकदम फाइभ स्टार जस्तै सफा। त्यो एउटा सिङगै घर हामी ११ जनाकालागि सुत्न, बस्न र खाना पकाएर खान पर्याप्त थियो। तातो-चिसो, फ्रिज, ओभन, फायर प्लेस, ओड्ने ओछ्याने, भाँडाकुँडा सबै आफ्नै घरजस्तो त्यहीँ हुँदोरहेछ।

यसबेल मैले आफ्नो पहाड यात्रा सम्झेको छु। ओडारमा स्याउला ओछ्याएर आफूले बोकेको राडीमा सुतेर रात काटेको सम्झना जब्बर भएर आएको छ। सम्झेको छु ती दिन र यी दिन । होस् यतैको कुरा गरूँ।

आफूले लगेका सामान झिकेर खाना पकाएर खाएका छौँ। खाना खाइसकेपछि त्यही घरमा रहेको तातोपानीको बाथटबमा डुबेर वाइन/बियरको चुस्की लिँदै छौँ। मेरो लागि यस्तो वासस्थान र बाथटब नयाँ अनुभव थियो। किनभने पूरै क्षेत्र हिउँमा डुबेको छ।

हामी भने मनतातो पानीको बाथटबमा आधा डुबेर वियर पिउँदै छौँ। मर्ने बेलाको हरियो काँक्रो नै सही, नमरी बाँचे देख्न पाइन्छ, भोग्न पाइन्छ भनेको साँच्ची नै रहेछ। यसरी राति अबेर भएपछि हामी आआफ्ना कोठातिर पसेका छौँ।

आफ्नो बिहानै उठेर मर्निङवाक गर्नु पर्ने बानी छ। मे ५ तारिकको बिहानै उठेर घर बाहिर निस्केर सडकमा एक्लै चिसोमा यता र उति गरिरहेको छु । हिउँका छिटाहरूले अभिषेक गरिरहेका छन् मलाई। सडक खाली कालो धर्सो जस्तो मात्र देखिन्थ्यो। अरू ठाउँ सेताम्य थियो।

हिँउ पर्न पाएको छैन, नगरपालिकाले तुरुन्त सडक सफा गरिहाल्ने रहेछ। मान्छे नदेखिनुको एउटा कारण यहाँका प्राय सबै घर एयर बिएनबिका लागि रहेछन्। मान्छेहरू दिनगन्तीका रूपमा भाडामा लिएर विदा बिताउन यो हिउँले ढाकिएको क्षेत्रमा आएर येलोस्टोन घुम्ने रहेछन्। बिहानको नास्ता दह्रो खालको खायौँ र बिहानै फेरि यलोस्टोनतिर लाग्यौँ।

पहिलो यात्रा अपर फल्सको रहेको छ। येलोस्टोन रिभरले दुईटा छाँगो बनाएको रहेछ। त्यसमध्ये एउटा अपर फल्स हो । यसलाई यलोस्टोनको ग्य्राण्ड क्यानिअन पनि भनिदो रहेछ। यो छाँगो १०० फिट गहिरो रहेछ।

हिउँमा चिप्लिँदै बाटाको छेउबाट देखिने यो छाँगो १०० फिटको रहेछ। तेह्रथुमको ह्यात्रुङ छाँगो देखेको मलाई यो येलोस्टोनरिभरको अपर फल्स त्यति ठूलो लागेन। तर बुनौट र सुबिधाको हिसाबले भने यो बडो मनमोहक छ।

छाँगो हेरिसकेपछि हामी मम्मथ हट स्प्रिङ जान भनेर हिँड्यौँ। बाटामा अग्ला भनिएका पहाड देखिएका छन्। म भने मनाङ जाँदा मस्र्याङ्दी नदीबाट देखिने टोपी खस्ने पहाड सम्झेर यी पनि के पहाड भनी सोचिरहेको छु। मम्मथ हटस्प्रिङकै पार्किङ लटमा पुगेपछि त देखियो कि यो घुम्न त जति आतुरी गरे पनि करिब ३/४ घण्टा नै लाग्ने रहेछ।

यता सुमेशको आजकै फिर्ति टिकट रहेछ आइडिहाओबाट। त्यसैले उसले त्यो मम्मथ हट स्प्रिङ घुम्ने सम्भावना थिएन। त्यसो भएकाले एउटा गाडीमा सुमेश लगायत केही फर्किएका छन् आइडिहाओतिर। हामी बाँकी रहेका भने मम्मथ हट स्प्रिङको उकालो विस्तारै विस्तारै चढ्दै छौँ ।

यो मम्मथ हट स्प्रिङ, येलोस्टोन नेसनल पार्कको एउटा निकै महत्त्वपूर्ण गन्तव्य रहेछ। यो निकै ठूलो पहाडको सबै भागबाट भुलुकभुलक पानी उम्लिरहेको र विभिन्न रङका पानी बगिरहेको देखिँदा मन रोमाञ्चक भएको छ।

यसको निर्माण प्राकृतिक रूपले हजारौँ वर्ष पहिले नै भएको हो रहेछ। एउटा निकै ठूलो पहाड नै हट वाटरको स्प्रिङग रहेछ । काठले बारेर बनाइएको टाँडे बाटाहरूमा दोहोरीलत्त मान्छेहरू हिँडिरहेका छन्।

हाम्रो गाडी फर्किएको छ। आइडिहाओको एउटा ठूलो सहर पोकटेल पुगेपछि त्यहाँ रहेको आइडिहाओ स्टेट युनिभर्सिटी हेर्न थालेका छौँ । सहर सानो भए पनि युनिभर्सिटी भने भव्य बनाएका रहेछन् अमेरिकनले।

पोकटेलमा स्याङ्जाका चिटिक्कका जोडी हरिश र सभ्यताको घरमा पाहुना लाग्नु पर्ने छ। उनीहरूले यति जिद्दि गरिरहेका छन् कि म आफैँ अचम्म परेको छु। नेपालीपनको मीठास भनेको यही होला । परदेशमा नेपाली भएर आफन्तिँदा पाइने मजा अन्त कहाँ पाउनु!

जीवनले फेरि उसरी नै त के यस्तो यात्रा गराउला र ! तथापि फेरि फर्कने गफ लगाएर हरिश जोडीलाई धन्यवाद दिँदै चित्त बुझाएका छौँ र स्वादिष्ट नेपाली खाना खाएर बाटो लागेका छौँ।

हामी फर्कँदै छौँ। जोड थाकेर भए पनि मध्यरातमा पुगेका छौँ मुकाम साल्टलेक सिटी। साल्टलेक सिटी पुगेपछि यलोस्टोनमा हेर्न छुटेका असङ्ख्य गन्तव्यलाई नक्सामा हेर्दै छु। लु जा त ! धेरै पो छुटे छन्। मर्निङ ग्लोरी पुल, लोअर गिजर बेसिन, नोरिज गिजर बेसिन, लमार भ्याली, माउण्ट वास बर्न, हिडेन भ्याली, मड भोल्क्यानो, येलोस्टोन लेक सबैका सबै छुटे छन्।

समय, स्रोत, योजना तथा संयोगले जति साथ दियो त्यतिमा चित्त बुझाउन बाध्य नै हुन्छौँ हामी। तर पनि धित मरेन भन्न त पाइयो नि ! त्यसैले भन्दैछु, अहँ पटक्कै धित मरेन। रमिते आँखालाई रउस पुगेन। आफैँ चित्त बुझाउनी, मनमनै गम्दै छु कि भाग्यले कुनैदिन जुरायो भने निकै दिन बस्ने गरी फेरि आउँला है येलोस्टोन।

सान एन्टोनियो, अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *