प्रेमको चरित्र, उत्सर्ग र समर्पण

डिसी नेपाल
२२ साउन २०७९ १०:४१

संसारको दुःख पीर र पीडाबाट मानिस छटपटाउँदछन् भने संसार भित्रै रहेको प्रेम कुनै कुराबाट पनि डराउँदैनन्। उ आफ्नो कर्तव्यमा अडिग छ। आफ्नो चरित्रमा खम्बा छ, जसको उचाइको उत्सर्गमा प्राणीहरु समाहित र समर्पित बन्दछन्।

उसको आफ्नो चरित्र नहेरी अरुको दुःख पीर र शोकमा साथ दिनेमात्र देखिन्छ। अरुले प्रेम र दया प्रदान गरेमा उ आफ्नो ज्यानसम्म दिने प्रण गर्दछ। प्रेम अरुका आँखाबाट आँशुका धारा देख्न सक्दैन र ती सब दुःख र आँशुका धारा आफ्नो मुुटुमा राख्न चाहन्छ निष्कपट र निश्वार्थ रुपले।

अरुका सारा दुःख चिन्ता आफ्नो शिरमा बोक्न सक्ने शक्ति यो प्रेममा अखण्ड छ। प्रेमको साथ पाए बाँचेका चिन्तित मानिसहरुको त के कुरा, लाश पनि खित्का छोडी हास्न्न पछि पर्दैनन्, किनकि प्रेम अखण्ड बलेको द्विप हो। यो बालेर सिद्धिने तेलमा भिजाइएको शिखा जस्तो होइन।

प्रेमको उत्सर्गमा नै देवी देवताहरु रमाएको देखिन्छ। हरेकको आआफ्नो सत्य शक्तिको प्रेमिका साथ लिई आनन्दमा रमाएको देखिन्छ। स्वर्गका राजा इन्द्रदेव पनि स्वर्गमा अप्सरा नचाउँदछन् र आफूलाई प्रेममा समाहित गर्दछन्।

भगवान शिव पनि पार्बतीको अचुक प्रेममा मग्न छन्। आफ्नो शिरमा रहेकी गंगाधाराले सिञ्चन गरी आफ्नो कण्ठ बिषले जलेको सारा शरीलाई सदा शितल बनाउँदछन्। किनकि प्रेम ताप होइन, शितलताको खानी हो।

प्रेम एक फूल हो जसको कुनै तौल हुँदैन र सधैं सुवास दिइरहन्छ। प्रेम एक घस्रिरहेको बादल जस्तो हो, जसको कुनै आकार हुँदैन। यसलाई आकारमा ल्याउने यसको प्रयोग कर्ता नै हो। यसले सधैं सही प्रयोगको अपेक्षा राखेको हुन्छ।

त्यही प्रेमको कृतिम अवशानमा देवादी देव महादेबले पनि आफ्नो प्रेमिकाको लाशलाई काँधमा बोकी पागल जस्तो बनी संसार भ्रमण गरेका थिए र अन्त्यमा उत्तरापन्थमा गई कैलाश हिमगिरीमा बिश्राम लिएका थिए।

त्रेता युगमा भगवान रामचन्द्र पनि सीताजीको निश्वार्थ प्रेममा समर्पित थिए भने द्वापर युगका परमेश्वर भगवान श्री कृष्ण स्वयम् प्रेमकी महारानी राधासँग बेजोड प्रेममा रंगिएका थिए। तर भौतिक रुपमा राधाको देहावशान पश्चात भगवान श्री कृष्ण पनि रोइ रोइ गोकुल पुगेका थिए।

तसर्थ प्रेम त्यो भाव हो जसको साथमा सबै प्राणी आनन्दित रहन्छन् भने त्यसको अभावमा मान्छे रोइ रोइ आफ्नो जीवनलाई धिक्कार ठान्दछन्। तसर्थ प्रेम लिने चिज नभइ दिने चिज हो जुन दिँदा आफूमै पुनरावृत्ति भइ फर्की आउने एक अमुक शक्ति हो।

प्रेम एक फूल हो जसको कुनै तौल हुँदैन र सधैं सुवास दिइरहन्छ। प्रेम एक घस्रिरहेको बादल जस्तो हो, जसको कुनै आकार हुँदैन। यसलाई आकारमा ल्याउने यसको प्रयोग कर्ता नै हो। यसले सधैं सही प्रयोगको अपेक्षा राखेको हुन्छ। यसलाई घमण्ड ,इष्र्या रिस र कुभाव देखाए यो झन्डै कालकुट बिष समान हुन्छ।

र यसको स्वच्छ र सदभाब सधैं राखे अमृत पान पनि गर्न सकिन्छ। यसको उत्सर्गमा सारा हृदय मन र शरीर शान्त हुन्छ। सारा संसार शान्त रहन्छ। युद्ध, झगडा र कलहको नामो निशान रहन्न।

प्रेमको हाँसो र शान्त मनले मानिसलाई स्वर्गीय आनन्दमा पुर्याउँदछ र मानिसलाई झण्डै दैवी संसारमा पुर्याउँदछ जहाँ आनन्दै आनन्दमा निरन्तर रमाइरहने ‘सतचितआनन्द’को महशुस गर्न सकिन्छ।

प्रेम त्यस्तो ज्ञान हो जसको अध्ययनले मानिस हाँसी हाँसी मर्दछ नकि विज्ञान जस्तो रोइ रोइ मर्ने। ‘ग्यान मर्दछ हाँसेर रोई बिज्ञान मर्दछ।’
प्रेमको अभाबमा सारा संसार छटपटाएको छ भने प्रेमको आलिंगनमा हरेक प्राणीहरु शान्त बनी सन्तोषको शास फेरिरहेका छन्।

प्रेमको अभावमा मान्छे लुटिएका छन्, बलात्कार भएका छन्, ठगिएका छन्, अपराध बढेको छ, वैमनस्यता बढेको छ र हरेक मानिसहरु बिना आगो जलिजली मरेका छन्।

भनिन्छ, ‘जली जली म मलाइ बिर्सी जाउँ बरु नसम्झुँ’ प्रेम हृदयको त्यो पंक्षी हो जसले हरेकलाई आकाशमा घुमाउँदछ र संसार भ्रमण गराई आनन्दको शिखरमा पुर्‍याउँदछ। यसको सामिप्यमा हरेक जिवहरु जीवन्त बन्दछन् भने यसको अभाबमा सारा संसार निर्जीव सरह बन्दछ।

प्रेमको मन एकाग्र हुन्छ भने यसले योग मार्गको बाटो पनि प्रशस्त गर्दछ, जसले स्वर्गको द्वार पनि स्वचालित खुल्दछ। आपसको शुद्ध मनको प्रेमको मिलनले मानिसलाई समाधि स्थलमा पुर्याउँदछ।

त्यसैले त होला बिशाल ज्ञानका भण्डार नाइके,योग गुरु र दार्शनिक ओशो रजनीशले ‘सम्भोगबाट समाधिसम्म’ नामक पुस्तक लेखी संसारलाई शुद्ध प्रेमको गाँठो र बन्धनबारे ज्ञानको प्रबचन दिन सफल भए। प्रेम एक भक्तिको अघिल्लो सोपान हो।

प्रेमबाट भक्तिको सृजना भइ मीराबाइले भगवान श्री कृष्णको दर्शन प्राप्त गरिन् भने भक्तिबाट नै सुदामाले भगवान श्रीकृष्णको दर्शन पाए। प्रेम र भक्तिकै सम्झनामा शहंशा शाहले आफ्नी प्रेमिकाको सम्झनामा विश्व प्रशिद्ध ताजमहल बनाउन सफल भए भने यसको अभावमा कैयौं तडपिएर अकालमा मरेका छन्। तसर्थ प्रेम एक दीप हो जो कहिल्यै पनि मर्दैन। अजर र अमर छ।

तसर्थ प्रेमको चरित्र, उत्सर्ग र समर्पणमा आफूलाई समाहित गरेका प्रेमका सारा उर्जाहरु आफ्नै शरीर वरिपरिको नव किरणमा सधैं ताज बनी झिल्मिलाई रहने कुरा निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *