दाङमा चुनावी रौनक : पोखरेल भर्सेस महरा

शरद रिजाल
२३ साउन २०७९ १२:२६

काठमाडौं। निर्वाचनको मिति घोषणासँगै दाङमा दलहरु आन्तरिक रुपमा चुनावी तयारीमा जुटिसकेका छन्। यसपालीको निर्वाचनमा दाङको तीन वटै संघीय र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा संभावित उम्मेदवारको चर्चा सुरु हुन थालेको छ।

दाङको तीन वटा संघीय निर्वाचन क्षेत्रमध्ये गत निर्वाचनमा  बाम गठबन्धनले एक प्रदेशसभाको क्षेत्रबाहेक अन्य सबै निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। यद्यपि वर्तमान सत्ता गठबन्धनका बाबजुद एमालेले स्थानीय निर्वाचनमा भने दाङका दुई उपमहानगरमा आफ्नो सानदार जित हासिल गरेको छ ।

दलका नेताहरुले आन्तरिक तयारी तीब्र बनाइरहेका छन्। चुनाव घोषणा भएसँगै नेताहरु कार्यकर्ता र जनतासँग भेटघाटमा ब्यस्त रहेका छन्। कतिपय नेताहरु चुनावको टिकटका लागि राजधानीमा केन्द्रीय नेतालाई धाउने क्रम समेत बढेको छ।

दाङ कांग्रेसका कतिपय नेताहरु राजधानीमा आएर आफ्नो पक्षमा लबिङ गरेर समेत फर्किएका छन्। उनीहरु आफ्नो दलका कार्यकर्ताको मनोभावना अनुरुप उम्मेदवार चयन गर्न पार्टी नेतृत्वलाई दबाव दिन राजधानीमा आएको उक्त टिममा सहभागी एक नेताले बताए।

गत स्थानीय निर्वाचनमा घोराही उपमहानगर आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस अन्तिममा गठबन्धनको केन्द्रीय निर्णय बमोजिम माओवादीलाई प्रमुखमा सघाउँदै कांगसले उपप्रमुखमा चित्त बुभाउनु पर्‍याे।

दुबैमा पराजित भएपछि एक अर्कालाई अन्तर्घातको आरोप लगाएका थिए। तर यस पटकको संघ र प्रदेशको निर्वाचनमा गठबन्धनमा आबद्ध दलको सांगठनिक अबस्था र कार्यकर्ताको मनोभावनालाई नेतृत्वले मनन् गर्नेमा आश्वस्त भएको केन्द्रीय नेतासँगको भेटमा सहभागी दाङ कांग्रेसका ती नेताले बताए।

सत्ता गठबन्धनले सिट बाँडफाँड गर्दा कुन दलले कुन क्षेत्र पाउने हो त्यो भने अझै आधिकारिक रुपमा निक्र्यौल नभइसकेको नेताहरु बताउँछन्।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको भने निश्चित जस्तै भएको छ। परिस्थितिमा फेरबदल नआएमा उनी यसपटक पहिलेकै निर्वाचन क्षेत्र नं २ बाट चुनाव लड्ने छन्।  क्षेत्र नं २ मै एमालेबाट पार्टी महासचिव शंकर पोखरेलले पनि उम्मेदवारी दिने निश्चित भइसकेको छ ।अन्य क्षेत्रमा संभावित उम्मेदवार र आकांक्षीको दौडधुप सुरु भएको छ।

क्षेत्र नं १ मा गठबन्धनबाट मेटमणिको दाबी, एमालेबाट गंगा चौधरी र रेवती रमण शर्मा मध्ये एकको संभावना

दाङको निर्वाचन क्षेत्र नं १ मा शहरी विकास मन्त्री मेटमणि चौधरीले दाबी गरेका छन्। उनी यस अगावै पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन्। नेकपा (एकीकृत समाजवादी) को स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा उल्लेख्य मत भने देखिएन।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा कांग्रेसकी सुशीला चौधरीलाई मन्त्री चौधरीले पराजित गरेका हुन्। उनले मन्त्री चौधरी ३७ हजार ९०८ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत ल्याएकी थिइन्।

चौधरीको यस पटक भने गठबन्धनमा सहमति जुटे फेरि उम्मेदवार बन्ने छन्। यस क्षेत्रमा एमालेबाट गंगा चौधरी र रेवतीरमण शर्माको संभावना रहेको एमाले निकट नेताहरु बताउँछन्।

एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासे पनि गठबन्धनको तर्फबाट हालका शहरी विकास मन्त्री नै उम्मेदवार हुने बताउँछन्। यद्यपि सिट बाँडफाँडमा गठबन्धनले जे निर्णय गर्छ त्यसकै आधारमा आफ्नो पार्टीले पाए चौधरीलाई नै उम्मेदवार बनाउने उनको भनाइ छ ।

एमालेकी सांसद समेत रहेकी गंगा चौधरीले भने पार्टीले गर्ने निर्णय आफूले शिरोधार्य गर्ने बताइन्। त्यस्तै प्रदेशसभातर्फ भने हालसम्म अन्य पार्टीबाट खुलेर आएका छैनन्। माओवादी केन्द्रबाट भने असअघि निर्वाचित हाल प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका इन्द्रजित चौधरीले आकांक्षा राखेका छन्। सत्तागठबन्धनमा आबद्ध दलहरुले छलफल गरेर भागबण्डाको आधारमा तय गर्ने बताएको छ।

क्षेत्र नं २ मा एमाले महासचिव पोखरेल र माओवादी उपाध्यक्ष महराको रोचक भिडन्त

यसपटकको निर्वाचनमा लुम्बिनी प्रदेशको राजधानी दाङको तीन वटा क्षेत्रमध्ये क्षेत्र नं २ को चुनावी भिडन्त रोचक हुने देखिएको छ। दुई पार्टीका उपाध्यक्ष र महासचिवबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको हो।

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा उम्मेदवार बन्ने सुनिश्चित भएसँगै जिल्लामा रहेका छन्। उनी नेता कार्यकर्ता र जनताबीच भेटघाटमा ब्यस्त छन्।

यस्तै एमालेबाट पार्टीका महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने निश्चितप्राय छ। गत निर्वाचनमा क्षेत्र नं २बाट प्रदेश सभामा निर्वाचित भएका पोखरेल यसपाली संघीय निर्वाचनको प्रमुख दाबेदार भएको एमालेकै जिल्लास्तरका नेताहरुले बताउँदै आएका छन्।

यी दुबै नेताहरु आफ्नो पार्टीका शिर्ष नेतृत्व नै हुन्। एमालेका पोखरेल चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित महासचिव हुन् भने महरा माओवादीबाट भर्खरै उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

यी नेताद्वय राष्ट्रिय राजनीतिका प्रभावशाली ब्यक्तित्व मानिन्छन्। महरा माओवादीबाट पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन्। उसो त पोखरेललाई पनि एमालेको किङ मेकर भनिन्छ। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा चिनिन्छन्।

अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट निर्वाचन लडेका उनीहरु त्यसपश्चात एउटै पार्टीमा समेत रहेका थिए। सर्वोच्चको एमाले माओवादी पूर्ववत अबस्थामा फर्काउने निर्णयसँगै उनीहरु अलग भएका हुन्। गत निर्वाचनमा सँगै भएका यी नेताद्धय यसपाली आमने सामने हुने निश्चित देखिएको छ।

अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट निर्वाचित भएका यी दुबै यसपटक भने महराले गठबन्धनको साथ पाउदा पोखरेलले सामना गर्ने छन्।
क्षेत्र नं २ मा एमालेबाट महासचिव पोखरेल निर्वाचन लड्ने निश्चित जस्तै भएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत बताउँछन्। यस्तै माओवादी केन्द्रबाट महराको पनि निश्चित भएको माओवादी नेताहरुले सार्वजनिक अभिब्यक्ति समेत दिइसकेका छन्।

यसपटकको निर्वाचनमा २०७० मा निर्वाचित भएका कांग्रेसका संविधानसभा सदस्य राजु खनाल समेत यसै क्षेत्रबाट निर्वाचन लड्ने आकांक्षा राखेको भएपनि संघमा उनले पाउने संभावना न्युन रहेको गठबन्धनका एक नेताले बताए।

केन्द्रको जोडबलमा प्रचण्डको दबावमा गठबन्धनले महरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाउने ती नेताको दाबी छ। खनालले यही बुझेरै प्रदेशमा लड्ने आकांक्षा ब्यक्त गरिसकेका छन्।

गत २०७४ को निर्वाचनमा बाम गठबनधनका कृष्णबहादुर महरासँग पराजित खनाल महराले ४० हजार ४२ मत ल्याउदा खनालले २५ हजार ८९७ मत ल्याउका थिए। यस्तै प्रदेशमा एमालेबाट बलिभद्र रानाको संभावना रहेको बताइन्छ। कांग्रेसका अर्का नेता खगराज पाण्डेले दाबी गरेका छन्।

क्षेत्र नं ३ मा गठबन्धनबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे र कोमल वलीको संभावना

कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी पनि यही क्षेत्रका बासिन्दा हुन्। उनी यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन्। गठबन्धनबाट उनी ३ नं क्षेत्रबाट उम्मेदवार हुने संभावना प्रबल रहेको दाङका गठबनधन दलका नेताहरु बताउँछन्।

अघिल्लो निर्वाचनमा एकीकृत समाजवादकिा नेता तथा हालका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसँग गिरी पराजित भएका थिए। राज्य मन्त्री केसीले ४० हजार २८७ मतसहित विजयी हुँदा गिरीले ३३ हजार ७३० मत प्राप्त गरेका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नं-३ मा यस पटकको निर्वाचनमा गठबन्धनबाट राज्यमन्त्री केसीले आकांक्षा ब्यक्त गरेको बताइएको छ। तर एकीकृत समाजवादीका केसी र अर्का मन्त्री चौधरी मध्ये एक जना भन्दा धेरैले सिट पाउने संभावना छैन।

क्षेत्र नं १ मा मेटमणिले उम्मेदवारी दिए हिराचन्द्र केसीे उम्मेदवार हुन पाउने छ्रैनन्। माओवादीबाट पनि यस क्षेत्रमा प्रदेश सभामा उठेर पराजित भएका हाल राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा समेत आकांक्षी छन्। दाङका सबै क्षेत्र तत्कालीन बाम गठबनधन (पछि नेकपा) ले जित्दा क्षेत्र नं ३(क)मा शर्मा कांग्रेसका डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।

संघीय निर्वाचन क्षेत्रमा गठबन्धनबाट कांग्रेस, माओवादी र समाजवादीले क्रमशः प्रत्येकले एक सिट पाउने हो भने ३ नं क्षेत्रबाट दिपक गिरी यस पटक निर्विकल्प उम्मेदवार बन्ने छन्।

उनको प्रतिस्पर्धा एमालेका निवर्तमान तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेसँग या राष्ट्रिय सभाकी सांसद कोमल वलीमध्ये एक जनासँग हुने छ। एमालेले क्षेत्र नं २ मा महासचिव शंकर पोखरेलबाहेक अन्यको हकमा भने कुनै खुलासा गरेको छैन।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत २ नं क्षेत्र बाहेक अन्यत्रका उम्मेदवारको बिषयमा अझै यकिनका साथ भन्न नसकिने बताउँछन्।

उनले डिसी नेपालसँग भने, ‘२ नं क्षेत्रबाट पाटीको उम्मेदवार्र महासचिव शंकर पोखरेलमात्रै निर्विकल्प हुनुहुन्छ ,अन्यत्रको हकमा अहिले कुनै टुंगोमा पुगेका छैनौं। अन्य क्षेत्रमा आकांक्षी कमरेडहरु हुनु स्वभाबिकै हो तर अझै त्यस बिषयमा छलफल हुन बाँकी छ कसरी उम्मेदवार छनोट गर्ने भन्ने संस्थागत निर्णय हुन बाँकी छ।’

दाङका तीन संघीय र छ प्रदेश सभाको निर्वाचन क्षेत्रमा एमाले माओवादी गठबन्धनले क्षेत्र नं ३ (क) बाहेक सबैमा जित हासिल गरेको थियो। यस पटक फेरिएको समिकरणले चुनावी मतपरिणाममा कति प्रभाव पार्ने हो त्यो निर्वाचनको परिणाम अगावै अनुमान गर्न मुश्किल छ।

यसपालीको निर्वाचनमा क्षेत्र नं २ मा दुई शीर्ष नेताको प्रतिस्पर्धा भने सबैले चासोका साथ हेरेका छन्। गत निर्वाचन भन्दा फेरिएको सत्तासमिकरणले निर्वाचनको परिणामलाई नै फरक पार्न सक्ने दाङका राजनीतिका जानकारहरु बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *