प्रधानमन्त्रीको ‘अतृप्त मोह’ ले वामदेवमा अस्थिरता

शरद रिजाल
४ भदौ २०७९ ८:१९

काठमाडौं। नेपालको राजनीतिमा हक्की स्वभाव, प्रष्ट वक्ता र आफ्नो अडानबाट पछाडि नहट्ने नेताको रुपमा चिनिएका वामदेव गौतम पछिल्लो समय प्रधानमन्त्रीको अतृप्त मोहले उनलाई एक अस्थिर नेताको रुपमा परिचय दिलाएको छ।

निर्वाचन अगावै संचार माध्यममा आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका गौतम २०७४ को निर्वाचनमा पराजयसँगै सांसद बन्न भगिरथ प्रयत्न गरे। प्रधानमन्त्रीको अतृप्त मोहले प्रतिनिधिसभाको सांसद हुन गरेको उनका अनैकौ प्रयत्न अस्थिरताका द्योतक थिए।

नेपालको राजनीतिमा हक्की र प्रष्ट स्वभावका गौतम बारम्बार अनेकौ अस्थिर तवरले चर्चामा आइरहन्छन्। आफूलाई लागेको कुरा प्रष्ट बोल्ने र आफ्नो हठ नछाड्ने नेताको रुपमा परिचित यिनै गौतम आफ्नो हठ सितिमिति छाड्दैनन्।

आफ्नो प्रधानमन्त्रीको अतृप्त चाहना पूर्ती गर्न उद्धत उनी प्रधानमन्त्रीको मोहले छटपटिएको घटनाक्रमले दर्शाउँछ। पटक पटक उपप्रधानमन्त्री भइसकेका उनको पछिल्लो हठ हो प्रधानमन्त्री बन्ने। यिनै वामदेवमा केही समयदेखि ब्याप्त प्रधानमन्त्री बन्ने अतृप्त मोहले आफूसँगै नेपालको राजनीति अस्थिर बनाएको राजनीतिका जानकारहरु बताउँछन्।

उनी गत २०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा समेत बर्दियाबाट पराजित भए त्यस यता निरन्तर अस्थिरताको सिकार बनिरहे। तत्कालीन नेकपाकालमा होस् या नेकपा बिभाजन भएर माओवादी र एमाले पूर्ववत अबस्थामा फर्कँदा, निरन्तर आफ्नो अस्थिर चरित्र प्रदर्शित गरिरहेका छन्। उनको अस्थिरताको मूल कारण उनमा रहेको प्रधानमन्त्रीकोे अतृप्त मोह र बन्ने तीब्र मनोकांक्षा नै हो।

उनमा सवार प्रधानमन्त्रीको अतृप्त मोहले उनलाई यतीसम्म अस्थिर बनायो कि उनले आफू के हुँ भन्ने समेत हेक्का राख्न सकेनन्। कुनै यथोचित आधार र अबस्था नहुँदा समेत प्रधानमन्त्री बन्ने बालहठ त्याग्न सकेनन्। पफलस्वरुप उनको अस्थिरताले उनी स्वयमसँगै तत्कालीन अबस्थामा नेपालको राजनीतिमा एक समस्याको बिजारोपण गरे।

उनको ब्यबस्थापन नहुँदा त्यसबखत उनको पार्टी (तत्कालीन नेकपा) मा राजनीतिक स्थायित्व नहुने अबस्था सृजना भएको थियो। नेकपाकालमा स्थिर रहन नसकेका गौतम अध्यक्षद्वय केपी ओली र प्रचण्डमध्ये कुनै एकसँग रहन सकेनन्।

समयक्रममै एक अर्काको बिरुद्ध प्रयोग भएका गौतम कतै अडिग रहन सकेनन्। पार्टी भित्र तीब्र अस्थिरता प्रदर्शन गरेका उनलाई बिधानमै नभएको उपाध्यक्ष बनाइएको थियो। यी र यस्तै ढुलमुले प्रवृत्तिले पछिल्लो समय अस्थिरताको पर्याय बनेका गौतम आसन्न मंसिर ४ को निर्वाचनमा माओवादीको चिन्हबाट निर्वाचन लड्ने भएका छन्। उनको यो नयाँ निर्णयले फेरि उनको अस्थिर चरित्रको अर्को पाटो उजागर भएको छ।

बिगत देखिनै बर्दियाबाट निर्वाचन लड्दै आएका गौतम यसपालीको निर्वाचनमा प्युठानको तयारी गरेका छन्। उनको आगामी राजनीतिको एक मात्र उद्देश्य प्रधानमन्त्री बन्ने उनको ब्यबहार र अभिब्यक्तिले पुष्टि गर्दछ।

उपप्रधानमन्त्री भइसकेका उनले गत निर्वाचनमा प्रधानमन्त्रीको दाबेदार हुँ भनेकै कारणले आफूलाई पार्टी भित्रैबाट निर्वाचनमा अन्तर्घात गरि पराजित गराइएको सार्वजनिकरुपमा बताउँदै आएका छन्। आफूलाई पार्टीभित्रैबाट हराइएको बताउने गौतमले पराजय ब्यहारसँगै जनताको अभिमतलाई स्वीकार्न सकेनन्।

पाँच वर्षसम्म बर्दियाबासी जनताले उनलाई संसद प्रवेशमा लगाएको रोकलाई लत्याउँदै निरन्तर संसद बन्ने प्रयत्न गरिरहे। कहिले बहालवाला सांसदलाई राजीनामा गर्न लगाउने चलखेल गरे त कहिले कास्कीबाट दिवंगत रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्ने आकांक्षा ब्यक्त गरे।

पराजित भइसकेपछि पनि जनताको मतलाई अवमूल्यन गर्दै निरन्तर संसद बन्ने प्रयत्नमा लागिरहेका गौतम अन्ततः बिरोधका बाबजुद प्रतिनिधिसभा नभइ राष्ट्रिय सभाको सांसद बन्न पुगे। प्रतिनिधिसभामा आउन भगिरथ प्रयत्न गरेका उनी अन्तत राष्ट्रिय सभामा आउन भने सफल भए।

उनी प्रधानमन्त्री बन्ने मनोकांक्षा भने त्याग्न सकेनन्। राष्ट्रपतिले मनोनित गर्ने कोटामा राष्ट्रिय सभाको सांसद बनेका गौतम नेपालको प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक प्रावधान विपरीत राष्ट्रिय सभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने फेरि अर्को हठ सदनमै प्रकट गरे।

माओवादीको निर्वाचन चिन्हबाट चुनाव लड्ने बताएका गौतम उनको नेकपा (एकता राष्ट्रिय अभियान) को तर्फबाट संयुक्त निर्वाचन चिन्हको लागि गत मंगलबार निर्वाचन आयोग पुगेका थिए। उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको बिषयमा बोल्नु भनेको आफू बिग्रिने जनाउँदै यस बिषयमा नसोध्न आग्रह गरेका थिए।

उनलाई सञ्चारकर्मीहरुले निर्वाचनपश्चात प्रधानमन्त्रीको संभावनाको बिषयमा प्रश्न गर्दा ‘मलाई चिप्लाउन खोज्दै हुनुहुन्छ’ भन्दै रोष प्रकट गरेका थिए। त्यस बिषयमा नबोल्ने बताएका उनले प्रधानमन्त्रीको बिषयमा आफू बोल्दा बित्तिकै सबै काम बिग्रने उनको भनाइ थियो।

बिगतदेखि नै उनमा ब्याप्त प्रधानमन्त्री बन्ने मोह र उच्च महत्वाकांक्षाले आजपर्यन्त उनी अस्थिर र चुनाव जित्ने दाउमा छन्। माओवादीसँग संयुक्त निर्वाचन चिन्ह लिएर निर्वाचनमा होमिन लागेका गौतमले माओवादीको हसिया हथौडा चिन्ह लिएर निर्वाचनमा जाँदा गठबन्धनका कारणले सहजै जित हासिल हुने हुँदा आफू उक्त निर्णय गरेको सार्वजनिक अभिबयक्ति दिएका छन्।

यसपाली हार्ने चुनाव आफू नलड्ने बताउदै जसरी पनि चुनाव जित्नुपर्नेे उनको दाबी छ। उनको यस अभिब्यक्तिले उनमा निर्वाचनपछि प्रधानमन्त्री बन्ने मोह अझै अतृप्त रहेको प्रष्ट हुन्छ।

२०५४ सालमा महाकाली सन्धीको बिषयलाई लिएर एमाले बिभाजित गरेका गौतम राष्ट्रियताको बिषयमा खरो बहस गर्ने नेतामा पर्दथे। नेपालको राजनीति इतिहासमा कालापानीको मुद्दालाई राष्ट्रियकरण गर्ने उनै गौतम हुन्। भारतीय पक्षबाट अतिक्रमित भूमी कालापानीको मुद्दालाई राष्ट्रियस्तरमा उजागर गर्ने श्रेय गौतमलाई नै जान्छ।

कालापानी मार्च उनकै पार्टी तत्कालीन नेकपा(माले) निकट बिघार्थी संगठनले गरेको थियो। जतिबेला योगेश भट्टराई लगायत बिद्यार्थी नेताहरु कालापानी नेपालको भूमी हो भन्दै काठमाडौंबाट कालापानीसम्मको यात्रा गर्दा गौतम पार्टीको नेतृत्वमा थिए। उनको बिगत हेर्दा कुनै समय राष्ट्रियताको बिषयमा आवाज बुलन्द गर्ने नेताको रुपमा परिचय बनाएका उनले समयक्रममा त्यो साख कायम राख्न सकेनन्।

वामदेव निकट रहेर काम गरेका अधिकांश नेताहरु उनको अस्थिर चरित्रले गर्दा उनी एक्लिएको बताउँछन्। लामो समयदेखि वामदेव निकट रहेर काम गरेका हाल एकीकृत समाजवादी सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्ष बालाराम बाँस्कोटा प्रधानमन्त्री बन्न गौतमले गरेको अस्थिर चरित्र नै उनको एक्लोपनको कारण रहेको बताए।

बिगतमा प्रधानमन्त्री बन्ने कुनै पर्याप्त आधार नहुँदा समेत गौतमले प्रधानमन्त्री बन्न ब्यक्त गरेको बालहठ नैे अस्थिरताको मूल कारण भएको उनी बताउँछन्। गौतमको अस्थिरताले उनीसँगै तत्कालीन नेकपालाई समेत अस्थिर बनाएर बिभाजनको अबस्थासम्म पुर्याउन गौतमको भूमिका महत्वपूर्ण रहेको बाँस्कोटाले स्वीकार गरे।

‘जतिबेला उहाँ प्रधानमन्त्री बन्ने कुनै छिद्र नहुँदा प्रधानमन्त्री बन्ने उत्कट चाहना र ओलीको आश्वासनमा परेर नेकपाका अन्य नेताबिरुद्ध देखिनुभयो त्यतिबेलादेखि नै उहाँमा अस्थिरता बढेको हो। अहिले फेरि हामीसँग एकता गर्न पार्टी गठन गरेको हुँ भनेर छलफल गरिरहनु भएको थियो। अचानक माओवादीको चिन्हमा चुनाव लड्ने घोषणा सुनियो अब एउटा निश्चित अडान नै नभएको जस्तो उहाँमा देखियो’,उनले डिसी नेपालसँग भने।

बाँस्कोटाका अनुसार गौतम पछिल्लो समय एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने तयारी गरिरहेका थिए। तर, अचानक उनले माओवादी निर्वाचन चिन्ह प्रयोग गरी गठबन्धनको तर्फबाट जित सुनिश्चित हुने अभिप्रायले युटर्न लिएको बाँस्कोटाको भनाइ छ।

गौतमको बिद्यमान अस्थिरताले उनको बिगतको साख गुमेको बास्कोटाको कथन छ। उनले आफ्नो कद प्रधानमन्त्री बन्ने मोहले ब्याप्त अस्थिर क्रियाकलापले गुमाउदै गएको बाँस्कोटाले बताए।

प्युठानमा गठबन्धनको तर्फबाट गौतम उम्मेदवार हुने संभावना न्यून

वामदेव गौतमले यसपटकको निर्वाचनमा प्युठानबाट उम्मेदवारी दिने बताइरहँदा जिल्लाका नेताहरु भने उनलाई स्वीकार्ने पक्षमा छैनन्। प्युठान र बर्दियाबाट २०७० मा मा निर्वाचित भएका गौतम दुई मध्ये एक निर्वाचन क्षेत्र रोज्नुपर्दा बर्दिया रोजेका थिए। उनको प्युठानबाट उम्मेदवारी दिने चाहनामा स्थानीय नेताहरु सन्तुष्ट छैनन्।

प्युठानबाट निर्वाचित माओवादी केन्द्रका नेता लुम्बिनी प्रदेशका अर्थ मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले यसपटक वामदेवको संभावना प्युठानबाट नभएको बताए। उनले गठबन्धनको निर्णय बेगर कसैको मनोगत चाहनाले उम्मेदवार नहुने बताउँछन्। खड्का आफै उम्मेदवारको आकांक्षी समेत हुन्। उनी गत निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका थिए। यसपटक संघमा आकांक्षा राखेको स्वयम खड्का बताउँछन्।

‘वामदेव दाइको बिषयमा अझै खुलिसकेको छैन। उहाँले इच्छा ब्यक्त गर्नु भएको होला। आधिकारिक रुपले गठबन्धनको निर्णय नहोउञ्जेल सत्य मान्न सकिँदैन। उहाँले चुनाव चिन्ह हाम्रो लिने भन्ने सहमति भयो तर आफ्नो लागि हो या उहाँको पार्टीको लागि हो अझै स्पष्ट भइसकेको छैन।

उहाँ प्युठानबाट उठ्ने अनुकुल वातावरण छैन जनताको तहबाट,’ उनले डिसी नेपालसँग भने, ‘अब केन्द्रले निर्णय गर्ने बिषय भएकाले हामीले ठोस निर्णय गर्न त मिल्दैन तर जनताको चाहना र गठबन्धनका कार्यकताको मनोभावनालाई दृष्टिगत गरेरै केन्द्रले निर्णय गर्ला।’

राष्ट्रिय सभाको सांसद भइरहेको ब्यक्ति राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लड्न जाँदा जनतामा राम्रो सन्देश नजाने र राज्यको मर्यादित अंगको अवमूल्यन हुने खड्काको तर्क छ।

वामदेवको उम्मेदवारीले प्युठानमा कुनै प्रभाव नपार्ने एमालेको दाबी

प्युठानबाट उम्मेदवारी दिने बताएका वामदेवको उम्मेदवारीले कुनै प्रभाव नपार्ने एमाले प्युठानका इन्चार्ज सूर्य थापा बताउँछन्। प्युठानी जनतालाई धोका दिएकाले वामदेवको पक्षमा कोही नरहेको उनले बताए।

उनका अनुसार वामदेवलाई २०७० को निर्वाचनमा प्युठानबाट पार्टीले विजयी गराएको तर उनले धोका दिएर प्युठान छाडेर बर्दिया पलायन भएको थापाको आरोप छ।

‘उहाँलाई २०७० मा प्युठानी जनता र पार्टीले जिताएकै हो तर धोका दिएर बर्दिया जानुभयो। उहाँको एमाले र प्युठानसँग कुनै सम्बन्ध छैन, उहाँको धोकाको हिसाब किताब प्युठानी जनताले निर्वाचनमा गर्ने छन्,’ उनले डिसी नेपालसँग भने, ‘प्युठानमा वामदेव या अन्य जो सुकै भए पनि एमालेलाई केही फरक पर्दैन। उहाँको अस्थिरता र ढुलमुले चरित्रका बारेमा सबै जानकार छन् अब प्युठानमा कोही भ्रममा पर्दैनन्।’

यसपालीको निर्वाचनमा वामदेवको जनमत प्युठानमा शून्य भएकाले उनको उम्मेदवारीले कुनै प्रभाव नपार्ने थापाको दाबी छ।  यसपटकको निर्वाचनमा एमालेबाट थापाले उम्मेदवारी दिने प्रबल संभावना छ।

तर, उनले पार्टीले संस्थागत निर्णय नगर्दै उम्मेदवारको बारेमा टुंगो नलागेको बताए। यही भदौ ९ गते बस्ने एमाले पोलिट्ब्यूरो र १०–११ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि मात्र उम्मेदवारको टुंगो लाग्ने उनको भनाइ छ।

थापा एमालेका पोलिट्ब्यूरो सदस्य हुन्। आशन्न निर्वाचनमा प्युठानबाट एमालेका संभावित उम्मेदवारमध्ये थापासहित स्थायी समिति सदस्य मणि थापा र अर्का नेता हरिप्रसाद रिजालको चर्चा छ। मंसिर ४को निर्वाचनमा यी तीनमध्ये एक जनाले संघमा र प्रदेशमा टिकट पाउने थापा बताउँछन्। रिजाल यसअघि प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। थापाद्वय भने हालसम्म निर्वाचन लडेका छैनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *