महारानी एलिजाबेथ द्वितीयाको जीवनः कर्तव्यभावले ओतप्रोत एक लामो जीवन

डिसी नेपाल
२४ भदौ २०७९ ६:४३

बीबीसी। ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ। ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु बनिन्।

अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ। त्यसमाथि उनको जन्मको बेला उनको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान्।

एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन्। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ‘ड्यूक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्। एलिजाबेथ र सन् १९३०मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए।

एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन्। छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी ‘कन्ट्री लेडी’ बन्न चाहेको बताएकी थिइन्। निकै कलिलो उमेरदेखि उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो। त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिललाई उद्धृत गर्दै उनमा ‘एउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएको’ बताउने गरिन्थ्यो।

विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइन् र संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन्। उनी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन् भनेर उनीहरूको एउटा विशेष समूह ‘गर्ल गाइडस् कम्पनी’ बनाइएको थियो।

सन् १९३६ मा जोर्ज पाचौँको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौँ भए। तर दुईपल्ट छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो। वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो। अनिच्छुक हुँदाहुँदै ड्यूक अफ योर्क राजा जोर्ज छैटौँ बने।

उनको गद्दीआरोहणले एलिथाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो र पछि उनले त्यो अवसर ‘असाध्यै अद्भुत’ भएको लेखेकी थिइन्। युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी–रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनर्स्थापित गराउने अभियानमा लागेका थिए। त्यो उदाहरण उनीहरूकी ठूली छोरीको हकमा पनि खेर गएन।

सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमथस्थित रोयल नेभल कलेज पुगिन्। आफ्नी बहिनी मार्गरेटसँगै उनलाई उक्त कलेजमा अध्ययरनत मध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए।

यो उनीहरूबीच भेट भएको पहिलो अवसर थिएन। तर उनले फिलिपमा चाख लिएको पहिलो पटक थियो। नौसेनाबाट छुट्टीमा आएका बेला राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न आउँथे। सन् १९४४ सम्ममा त, जब एलिजाबेथ १८ वर्षकी थिइन्, उनी फिलिपसँग प्रेममा परिसकेकी थिइन्। उनले फिलिपको तस्वीर आफ्नो कोठामा राखेकी थिइन् र उनीहरू एकअर्कासँग पत्र आदानप्रदान गर्दथे।

युद्धको अन्त्यतिर युवती राजकुमारी ब्रिटिश सेनाको महिला शाखा ‘अक्जिलरी टेरिटोरियल सर्भिस'( एटीएस) मा भर्ना भइन्। उनले त्यहाँ गाडी चलाउन र सामान बोक्ने ‘लरी’को मर्मतसम्भार कसरी गर्ने भन्नेबारे सिकिन्। युरोपमा युद्ध जितेको खुशियालीमा मनाइने दिन ‘भीइ डे’मा उनी बकिङ्गम राजदरबारमा शाही परिवारसँगै देखिन्।

त्यतिबेला युद्धमा प्राप्त जित मनाउन राजदरबार अगाडिको मूल सडक ‘द मल’मा हजारौँ भेला भएका थिए। “हामीले बुवाआमासँग हामी बाहिर गएर हेर्नसक्छौं भनेर सोध्यौँ”, उनी सम्झन्छिन्, “मलाई याद छ, हामी परिचित हुन डराउँथ्यौँ। धेरै अपरिचित मानिसहरूको हुल एकले अर्को हात समातेर ‘ह्वाइटहल’ (सिटी अफ वेस्टमिनस्टरको सडक)बाट तल झर्दै गरेको सम्झन्छु। हामी सबै त्यही खुशी र राहतको आँधीमा समाहित भयौँ”।

युद्धपछि राजकुमार फिलिपसँग विवाह गर्ने उनको चाहनामा थुप्रै व्यवधान आए। राजा आफूले अत्यन्तै रुचाएकी छोरी गुमाउन अनिच्छुक थिए र फिलिपलाई उनको विदेशी वंश नस्वीकार्ने संस्थापन पक्षको पूर्वाग्रह तोड्नुपर्ने चुनौती थियो।

अन्तत: यो जोडीको इच्छाले जित हात पार्‍यो र १९४७ नोभेम्बर २० मा ‘वेस्टमिनस्टर याबी’मा उनीहरूले विवाह गरे। फिलिप ‘ड्यूक अफ एडिनबरा’ भए तर उनले नौसैनामा कार्यरत हुन छाडेनन्। कम्तीमा छोटै समय भए पनि माल्टामा गरिएको सरुवाले नवजोडीलाई तुलनात्मक रूपमा सामान्य जीवन जिउन मद्दत गर्‍यो। उनीहरुको पहिलो सन्तान चार्ल्सको सन् १९४८ मा जन्म भयो। सन् १९५० मा चार्ल्सकी बहिनी यान जन्मिइन्। युद्धका वर्षहरूको तनाव झेलिरहेका राजा आफ्नो धूमपान गर्ने बानीले गर्दा फोक्सोको क्यान्सरले निकै थलिए।

सन् १९५२ जनवरीमा २५ वर्षीया एलिजाबेथ र फिलिप आफ्नो विदेश यात्रामा निस्किए। चिकित्सकहरूको सल्लाहको विपरीत राजा यो दम्पत्तीलाई बिदा गर्न विमानस्थल पुगे। त्यो नै एलिजाबेथका लागि आफ्ना पितालाई अन्तिम पटक देख्ने घटना भयो। केन्यामा रहेका बेला एलिजावेथले आफ्ना पिताको निधनको खबर सुनिन् र नयाँ महारानीका रूपमा तुरुन्तै लन्डन फर्किन्।

उनले पछि त्यो क्षणको सम्झना गर्ने गर्थिन्। “एक प्रकारले भन्दा मलाई कुनै अनुभव थिएन। मेरा पिता कम उमेरमै बित्नुभयो। त्यसैले यो जिम्मेवारी लिनु र आफूले सक्दो राम्रो गरी निर्वाह गर्नु एक किसिमले अचानक जस्तै थियो”।

सन् १९५३ जुनमा उनको राज्यारोहण टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। प्रधानमन्त्री विन्स्टन चर्चिलको विरोध भए पनि त्यसो गरिएको थियो। रानी एलिजाबेथले शपथ ग्रहण गरेको लाखौँ मानिसले टेलिभिजनमा हेरेका थिए। युद्धपश्चात्‌को मितव्यययीता खेपिरहेको ब्रिटेनमा राज्यारोहणलाई नयाँ ‘एलिजाबेथन’ युगको उदयका रूपमा धेरै टिप्पणीकर्ताले हेरे।

दोस्रो विश्वयुद्धपश्चात्‌ ब्रिटिश साम्राज्यको धमाधम अन्त्य भयो र नयाँ महारानी १९५३ नोभेम्बरमा राष्ट्रमण्डलीय मुलुकहरूको लामो भ्रमणमा निस्कने बेलासम्ममा ब्रिटिश नियन्त्रणमा रहेका भारतसहितका धेरै मुलुकले स्वतन्त्रता प्राप्त गरिसकेका थिए।

एलिजाबेथ अष्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी भइन्। करिब एकतिहाइ अष्ट्रेलियाली उनलाई प्रत्यक्ष हेर्ने पुगेको अनुमान गरियो। सन् १९५० को दशकभरि धेरै देश ब्रिटिश नियन्त्रणबाट स्वतन्त्र भइसकेका थिए। ती देशहरू अहिले एउटा स्वेच्छिक सङ्गठन मातहत एकताबद्ध भएका थिए। धेरै राजनीतिकर्मीले नयाँ राष्ट्रमण्डल भर्खरै उदाउँदै गरेको युरोपेली आर्थिक समुदायलाई टक्कर हुनसक्ने ठानेका थिए। केही हदसम्म ब्रिटिश नीति महादेशबाट त्यतातिरै मोडियो।

तर ब्रिटिश प्रभाव सन् १९५६ को सुयज प्रकरणपछि झन् खस्कियो। उक्त घटनाले सङ्कटको बेला राष्ट्रमण्डलमा एकीकृत रूपमा काम गर्न सक्ने सामूहिक इच्छाशक्ति नरहेको देखायो। सुयज नहर राष्ट्रियकरण गर्ने इजिप्टको प्रयास रोक्न ब्रिटिश सैनिक पठाउने निर्णय लाजमर्दो फिर्तीमा टुङ्गियो।

त्यसपछि प्रधानमन्त्री एन्थोनी इडेनले राजीनामा दिनुपर्‍यो। यो घटनाले रानीलाई राजनीतिक सङ्कटमा पारिदियो। कन्जर्भेटिभ पार्टीसँग नयाँ नेता चयन गर्ने कुनै संयन्त्र थिएन र शृखलाबद्ध छलफलपछि रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठनका लागि निम्तो दिइन्। रानीले आफैलाई लर्ड अल्ट्रिनमको व्यक्तिगत आलोचनाको विषयवस्तुको रूपमा पनि पाइन्।

अखबरमा प्रकाशित एउटा लेखमा उनले एलिजाबेथको अदालत ‘असाध्यै ब्रिटिश’ र ‘उच्च वर्ग’को भएको दाबी गरे र लिखतविना एउटा सामान्य भाषण पनि गर्न रानीसक्षम नभएको आरोप लगाए। उनको टिप्पणीले सञ्चारमाध्यममा व्यापक विवाद र बहस निम्त्यायो। लर्ड अल्ट्रिनमलाई ‘लिग अफ एम्पायर लोयलिस्टस्’ भनिने राजतन्त्र पक्षधर समूहका सदस्यले सडकमा भौतिक आक्रमण पनि गरेका थिए। तथापि उक्त घटनाले राजतन्त्रप्रति ब्रिटिश समाज र हेराइ तीव्र गतिमा बदलिरहेको देखायो।

आफ्ना पतिको हौसलाले रानीले नयाँ सुधारहरू अपनाउन थालिन्। ‘द मोनार्की’ पदावलीलाई क्रमश: ‘द रोयल फ्यामिली’ले विस्थापित गरियो। सन् १९६३ मा ह्यारोल्ड म्याकमिलन प्रधानमन्त्री पदबाट बाहिरिएपछि रानी फेरि राजनीतिक विवादको केन्द्रमा परिन्। कन्जर्भेटिभ पार्टीले नयाँ नेता चयन गर्ने संयन्त्र अझै पनि बनाएको थिएन। उनको स्थानमा गृहमन्त्रीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने म्याकमिलनको सल्लाह महारानीले पालना गरिन्।

त्यो रानीका लागि अप्ठ्यारो समय थियो। संविधान पालना र तत्कालीन सरकारबाट राजतन्त्रलाई पर राख्ने विषय रानीको शासनका पहिचान थिए। रानीले आफू सुसूचित हुने, आफूले सल्लाह दिने र चेतावनी दिने आफ्ना अधिकारलाई गम्भीर रूपमा लिइन्। तर उनी त्यसबाट बाहिर जान कहिल्यै खोजिनन्। रानी त्यस्तो अप्ठ्यारोमा पर्ने अवस्था त्यो नै अन्तिम थियो। कन्जर्भेटिभहरूले अन्तत: जथाभावी नयाँ पार्टी नेता चुन्ने प्रणाली अन्त्य गरी व्यवस्थित विधि अपनाए।

सन् १९६० को दशकको अन्त्यतिर बकिङ्गम राजदरबारले शाही परिवारलाई कम औपचारिक र सजिलो पहुँच भएको देखाउन सकारात्मक कदम चाल्नुपर्ने आवश्यकता रहेको निर्णय गर्‍यो।

त्यसको परिणाम थियो, ऐतिहासिक वृत्तचित्र ‘रोयल फ्यामिली’। बीबीसीलाई राजदरबार भित्रको गतिविधि खिच्ने अनुमति दिइयो। क्रिसमस रूख सिँगारेको, खुलास्थलमा आगोमा खानेकुरा पोलेको, बालबालिकालाई गाडीमा घुमाउन लिएर गएका तस्वीरहरू थिए।

राजपरिवारका त्यस्ता सामान्य गतिविधि यसअघि पहिले कहिल्यै देखिएको थिएन। रिचर्ड कस्टनको उक्त वृत्तचित्रले शाही परिवारको रहस्य ध्वस्त पारेको आलोचकहरूले दाबी गरेका थिए। तर वृत्तचित्रले त्यति बेलाको तनावमुक्त मनोदशा दर्शायो र राजतन्त्रमा जनआस्था पुनर्स्थापित गराउन मद्दत गर्‍यो। सन् १९७७ मा रजत उत्सव सडकहरूमा जमघट र देशैभरि कार्यक्रम गरी ठूलो उत्साहका साथ मनाइयो।

राजतन्त्रले जनताको स्नेह पाएको जस्तो देखियो। दुई वर्षपछि ब्रिटेनले मार्गरेट थ्याचरलाई आफ्नो पहिलो महिला प्रधानमन्त्रीका रूपमा पायो। महिला राष्ट्रप्रमुख र महिला सरकार प्रमुखबीच अप्ठ्यारो सम्बन्ध रहेको बेलाबेलामा बताइने गर्थ्यो। एउटा जटिल क्षेत्र भनेको राष्ट्रमण्डलप्रति रानीको भक्ति थियो जसको प्रमुख उनी थिइन्।

एलिजाबेथ अफ्रिकाका नेताहरुसँग राम्ररी परिचित थिइन् र उनीहरुको उद्देश्यप्रति सहानुभूति राख्थिन्। उनले थ्याचरको शैली ‘बुझ्न नसकिने खालको’ रहेको पाएको बताइन्छ–रङ्गभेदी दक्षिण अफ्रिकाविरुद्ध प्रतिबन्ध लगाउने विपक्षमा प्रधानमन्त्री उभिएको विषयमात्रै होइन अरू थुप्रै पक्षमा पनि। वर्षैपिच्छे रानीका सार्वजनिक दायित्वहरुले निरन्तरता पाए।

सन् १९९१ को खाडीयुद्धपछि उनी अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो ब्रिटिश शाही सदस्य भइन्। राष्ट्रपति जर्ज बुसले उनी आफूहरूले “सम्झन सकेसम्मको अवधिदेखिकै स्वतन्त्रताको मित्र” भएको बताए। तथापि एक वर्षपछि शृङ्खलाबद्ध विवाद र दुर्घटनाहरूले शाही परिवारलाई प्रभावित तुल्यायो। रानीको दोस्रा छोरा ‘ड्युक अफ योर्क’ र उनकी पत्नी सारह छुट्टिए।

मार्क फिलिप्ससँग राजकुमारी यानको विवाह पनि सम्बन्धविच्छेदमा टुङ्गियो। त्यति बेलाका वेल्सका राजकुमार र राजकुमारी पनि एकअर्कासँग अत्यन्तै बेखुशी रहेको खुलासा भयो र अन्तत: उनीहरू पनि छुट्टिए। वर्षको अन्त्यतिर रानीको प्यारो बासस्थान ‘विन्डसोर क्यासल’मा भीषण आगलागी भयो। त्यो अप्ठ्यारोमा परेको राजदरबारको प्रतीक जस्तो देखिन्थ्यो। मर्मतका लागि करदाता वा रानी स्वयंले खर्च बेहोर्ने भन्ने विषयमा चर्किएको विवादले अवस्था थप जटिल बनायो।

रानीले सन् १९९२ लाई आफ्ना लागि ‘दुर्भाग्यले भरिएको वर्ष’का रुपमा व्याख्या गरिन्। सिटी अफ लन्डनमा गरेको आफ्नो सम्बोधनमा उनले कम आलोचक सञ्चारमाध्यमको बदलामा थप खुला राजतन्त्रको आवश्यकतामा जोड दिइन्।

“कुनै पनि संस्था, शहर, राजतन्त्र कसैले पनि आफूप्रति निष्ठावान र आफूलाई समर्थन गर्नेहरुको समीक्षाबाट मुक्त हुन्छु भनेर अपेक्षा गर्नुहुन्न। हामी सबै राष्ट्रिय समाजको एउटै धागोको अंश हौँ। भद्रता, हास्य रस र समझदारी अपनाइयो भने समीक्षा थप प्रभावकारी हुनेछ”।

राजतन्त्र एकदमै रक्षात्मक अवस्थामा थियो। विन्डसोरको मर्मतसम्भारका लागि पैसा जुटाउन बकिङ्गम राजदरबार सर्वसाधारणका लागि खुला गरियो र महारानी र वेल्सका राजकुमारले लगानीको आम्दानीमा कर तिर्ने घोषणा गरियो। देशबाहिर चाहिँ एलिजाबेथको शुरूवाती शासनकालमा राष्ट्रमण्डलका लागि देखिएको आशा पूरा हुन सकेन।

युरोपमा नयाँ व्यवस्थासँगै ब्रिटेनले आफ्ना पुराना सहयात्रीहरूलाई ढाड फर्कायो। रानीले तैपनि राष्ट्रमण्डलको महत्त्व देखेकी थिइन्। दक्षिण अफ्रिकाले रङ्गभेदी प्रणाली अन्त्य गर्दा रानी अत्यन्तै कृतज्ञ थिइन्। त्यो कृतज्ञता उनले सन् १९९५ को मार्चमा त्यहाँ भ्रमण गरेर दर्शाइन्।

देशभित्र राजसंस्थाको कुनै भविष्य रहेको वा नरहेको भन्नेबारे सार्वजनिक बहस भइरहँदा रानीले राजतन्त्रको प्रतिष्ठा कायमै राख्ने प्रयास गरिन्। ब्रिटेनले नयाँ गन्तव्य पहिल्याउन सङ्घर्ष गरिरहँदा उनले सबैलाई आश्वास्त पार्न सक्ने व्यक्तित्वका रूपमा आफू रहने प्रयास गरिन्।

तर सन् १९९७ अगस्टमा प्यारिसमा एउटा कार दुर्घटनामा वेल्सकी राजकुमारी डायनाको निधन भएपछि ‍राजसंस्था स्तब्ध भएको थियो र रानी स्वयंको असामान्य आलोचना भएको थियो। लण्डनस्थित दरबारहरूमा सर्वसाधारण फूल लिएर श्रद्धाञ्जलिका लागि आए। तर राष्ट्रिय महत्त्वको घडीमा केन्द्रित हुने चरित्र देखाउने रानी यसपटक भने अनिच्छुक जस्तो देखिइन्।

उनले एकजना मायालु हजुरआमाको हैसियतमा परिवारभित्र डायनाका छोराहरूलाई सान्त्वना दिनुपर्ने आवश्यकता महसुस पनि गरिन्। अन्तत: उनले एउटा प्रत्यक्ष प्रसारणमा आफ्नी बुहारीप्रति श्रद्धाञ्जलि व्यक्त गरिन् र राजसंस्थाले अपनाउनुपर्ने विषयबारे प्रतिबद्धता जनाइन्। सन् २००२ मा आमा र बहिनीको निधन भएपछि उनको राज्यारोहणको ५० वर्ष पुगेको अवसरमा देशभर कार्यक्रमहरू गर्ने वा नगर्ने भन्नेबारे अन्योल उत्पन्न भयो।

तथापि बकिङ्गम राजदरबार अगाडिको सडक ‘द मल’मा ५०औँ वर्षगाँठको उत्सव मनाउन साँझ करिब १० लाख मानिस भेला भए। सन् २००६ को एप्रिलमा आफ्नो ८०औँ जन्मदिनको अवसरमा रानी अनौपचारिक रूपमा सर्वसाधारणलाई भेट्न निस्कदा हजारौँ शुभेच्छुक विन्डसोरका सडकहरुमा लामबद्ध थिए। सन् २००७ नोभेम्बरमा वेस्टमिनस्टर याबीमा दुई हजार मानिसको उपस्थितिमा प्रिन्स फिलिप र रानीले आफ्नो विवाहको ६०औँ वर्षगाँठ मनाए।

सन् २०११ एप्रिलमा अर्को खुशीको क्षण थियो जब रानीले आफ्ना नाति अर्थात् क्याम्ब्रिजका ड्युक विलियम र क्याथ्रिन मिड्लटनबीचको विवाहमा उपस्थिति जनाइन्। आइरिस भाषामा दिएको भाषणमा उनले मेलमिलापका लागि आह्वान गरिन्। एक वर्षपछि हीरक महोत्सवको अङ्गको रुपमा आयरल्यान्डको भ्रमण क्रममा रानीले आइआरएका पूर्वकमाण्डर मार्टिन म्याकगिनिससँग हात मिलाइन्।

सन् १९७९ मा आइआरएको बम आक्रमणमा आफ्ना नातेदार लर्ड लुइ माउन्टब्याटेन गुमाएकी रानीका लागि त्यो क्षण मार्मिक थियो। हीरक महोत्सवमा लाखौँ मानिस सडकमा उत्रिए र लन्डनमा एक सातासम्म उत्सव मनाइयो। सन् २०१४ को सेप्टेम्बरमा स्कटल्यान्डको स्वतन्त्रतासम्बन्धी जनमत सङ्ग्रह महारानीका लागि एउटा परीक्षणको घडी थियो।

सन् १९७७ मा उनले संयुक्त अधिराज्यप्रति प्रतिबद्धता दर्शाउँदै संसद्‌मा गरेको भाषण कमैले बिर्सिएका होलान्। स्कटिश जनमत सङ्ग्रहको पूर्वसन्ध्यामा उनले बाल्मोरलमा शुभेच्छुकहरूसँग कुरा गर्दै जनताले आफ्नो भविष्यबारे अत्यन्तै सावधानीपूर्वक ख्याल गर्ने अपेक्षा गरेको बताएकी थिइन्। मतपरिणाम आएपछि उनको सार्वजनिक वक्तव्यमा संयुक्त अधिराज्य एकढिक्का रहेकोमा उनले राहत महसुस गरेको झल्कन्थ्यो।

तथापि बद्लिँदो राजनीतिक अवस्थालाई उनले बुझेकी थिइन्। सन् २०१५ सेप्टेम्बर ९ मा उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने महारानी बनिन्। योसँगै आफ्नी जिजुहजुरआमाकी पनि हजुरआमा रानी भिक्टोरियाको इतिहास उनले तोडिन्। एप्रिल २०१६ मा उनले आफ्नो ९०औँ जन्मोत्सव मनाइन्। महारानीको शासनकालको शुरूवातमा जस्तो अहिले राजतन्त्र बलियो नभए पनि ब्रिटिश जनताको हृदयमा रानीप्रति स्नेह र सम्मान निरन्तर पाइन्छ।

खासगरी ड्यूक अफ एडिनबराले सन् २०१७ मा अवकाश लिएपछि उनले नब्बेको दशकको उमेरमा पनि एक्लै आफ्नो सार्वजनिक दायित्व निर्वाह गरिरहिन्। त्यसैबीच परिवारमा तनाव उत्पन्न हुने कार्य पनि भइरहे। जस्तो कि उनका श्रीमान्‌को कार दुर्घटना, द ड्यूक अफ योर्कको अपराधी घोषित गरिएका अमेरिकी व्यवसायीसँगको मित्रता र प्रिन्स ह्यारीको शाही परिवारिक जीवनप्रतिको अस्पष्टता।

अझ पनि स्थिति आफ्नो नियन्त्रणमा राखिरहेकी महारानीको नेतृत्वdf ती केही व्यग्र बनाउने घटनाहरू थिए। उनको हिरक जयन्तीका बेला उनले पहिले दक्षिण अफ्रिका भ्रमणका बेला गरेको प्रतिबद्धता स्मरण गरिन्।

“मैले २१ वर्षको उमेरमा मेरो जीवन हाम्रा जनताका प्रति समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिएँ र ईश्वरसँग मेरो प्रतिबद्धता कायम गर्न सक्षम बनाऊन् भनेर प्रार्थना गरेकी थिएँ। मैले मेरो जवानीका बेला गरेको त्यो प्रतिबद्धताबाट एक कदम पनि म पछाडि हटेकी छैन र मलाई त्यसको पछुतो पनि छैन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.