अमेरिकामा नेपालीभाषीका लागि ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

डिसी नेपाल
२५ भदौ २०७९ ७:१५

ओहायो। अमेरिकामा रहेका नेपालीभाषीहरु बीच परोपकारी काम गरिरहेको इन्ट्रा नेशनल सपोर्ट एण्ड वेलफेयर फाउण्डेशनले अमेरिकाभर रहेका नेपालीभाषी युवायुवतीका भलिबल टिमका बीच प्रतिष्पर्धा गराउने भएको छ ।

नेपालीभाषी समुदायका प्रतिष्पर्धी टीममात्र समावेश गरिने यो प्रतियोगिताको पुरस्कार राशी पनि आकर्षक राखिएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले आकर्षक पुरस्कार राशीको घोषणा गरेका छन्।

यो खेलमा पुरुषतर्फ प्रथम हुने टीमलाई ८ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको छ । त्यसैगरी दोस्रो हुने टीमलाई ६ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ।

महिलातर्फ विजयी टीमलाई ३ हजार ५ सय अमेरिकी डलर,दोस्रो हुनेलाई २ हजार ५ सय र तेस्रो हुने टीमलाई एक हजार अमेरिकी डलरले पुरस्कृत गरिने छ । प्रत्येक खेलमा म्यानअफ द म्याच घोषणा गरी छुट्टै पुरस्कारको व्यवस्था गरिएको पनि फाउण्डेशनले जनाएको छ।

नेपाली चाडपर्वहरु दशैं र तिहारको अवसर पारेर दशैं चाड सकिएपछि तिहार चाड आउनुअघि हुने यो प्रतिष्पर्धा अक्टोबरको १५ र १६ तारिकका दिन अमेरिकाको ओहोयो राज्यको कोलम्बस शहरमा हुने छ । इन्ट्रा फाउण्डेसनका अनुसार खेलको रजिष्ट्रेशन आजदेखि नै शुरु गरिएको छ।

फाउण्डेसनका तर्फबाट भलिबल प्रतियोगिताको संयोजन गरिरहेका दीपेश प्रधानले दिएको जानकारीअनुसार, यो प्रतिष्पर्धामा एउटै स्टेटबाट धेरैवटा टिमले भाग लिन पाउने छन् तर पुरुषतर्फको खेलमा भने एउटा स्टेटले अर्को स्टेटबाट खेलाडी ल्याएर प्रतिष्पर्धामा भाग लिन भने पाउने छैन।

महिला टिमलाई भने यो नियम लागू नहुने उनले जानकारी गराए । खेलाडी र व्यवस्थापकलाई खाने, बस्ने होटलको प्रबन्ध पनि फाउण्डेशनले नै गर्ने भएको छ । प्रधानले इन्ट्रा फाउण्डेनको फेसवुक पेजमा सार्वजानिक गरिएको फ्लायरमा रहेको वारकोड स्कान गरेर पनि रजिष्ट्रेशन गर्न सकिने बताए।

टीम दर्ताको अन्तिम मिति अक्टोवर ५ तारिकसम्म राखिएको छ। फाउण्डेशनले आयोजना गरेको भलिबल प्रतियोगिता यो दोस्रो हो। पहिलो प्रतियोगिता गतबर्ष सम्पन्न भएको थियो। फाउण्डेशनले खेलकुदका माध्यमबाट नेपालीभाषी समुदायका युवा युवतीहरुको सर्वाङ्गीण विकास हुने विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *