‘न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन’

डिसी नेपाल
३० भदौ २०७९ १६:५३

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफूले चलखेल नगरेको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तरगतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिन पुगेका पूर्वअध्यक्ष श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाएको आरोप निराधार भएको बताए।

बयानका क्रममा जबराले न्यायाधीश नियु्क्तिमा श्रेष्ठको पनि चलखेल रहेको आरोप लगाएका थिए। उनले श्रेष्ठलाई छलफलमा बोलाउन समितिसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार समितिले नेपाल बारका पूर्वअध्यक्ष श्रेष्ठलाई आज बोलाएको हो।

उनले भने, ‘न्यायाधीश नियुक्तिमा मेरो कुनै चलखेल छैन। म उमेरले ७१ वर्षको भएँ। उहाँभन्दा अघिबाट निरन्तररुपमा वकालत पेशा गर्दै आएको छु। गल्ती गरेको भए कारवाही होस्।’

उनले जबराले आफूमाथि लगाएका आरोपमाथि छानविनको माग गरेका छन्। श्रेष्ठले आफूले न्यायाधीश नियुक्तिमा चलखेल गरेको पाइए कारवाही गर्न पनि सिफारिससमक्ष माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *