अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन् खर्च विवरण, नतिरे ६ महिनाभित्र पद जानसक्ने

डिसी नेपाल
१ असोज २०७९ १८:२८

अर्घाखाँची । गत स्थानीय तहको निर्वाचनबाट अर्घाखाँची जिल्लाका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा निर्वाचित अध्यक्ष उपाध्यक्ष मध्ये ५ जनालाई छिटो जरिवाना रकम तिर्न निर्वाचन आयोगले ताकेता गरेको छ ।

निर्वाचनमा निर्वाचित भएपनि १२ जनामध्ये ५ जनाले खर्च विवरण बुझाएका छैनन भने ७ जनाले मात्रै खर्चको विवरण समयमै बुझाएको देखिएको छ ।

खर्च विवरण ढिलो बुझाएकाहरुको हकमा पनि कानूनले फरक व्यवस्था नगरेकोले खर्च विवरण नबुझाएकाले सरह जरिवाना गर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुखमा निर्वाचित बालकृष्ण बन्जाडेले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्नेछ भने छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले ३ लाख ५० हजार जरिवाना तिर्नुपर्नेछ ।

शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले पेश गरेका छैनन भने गिता भाटले समयमै पेश गरेकी छन् । नगरप्रमुखमा उम्मेदवार बनेका मध्ये नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका केदार बेल्वासेले ढिलो गरी विवरण बुझाए पनि अरु कसैले खर्च विवरण वुझाएका छैनन् ।

शितगंगामा प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका मध्ये उपप्रमुख गिता भाट बाहेक सवैले जनही ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।

सन्धिखर्क नगरपालिकामा निर्वाचित नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ र उपप्रमुखमा निर्वाचित मिश्रा आचार्यले ढिलो गरी विवरण बुझाउदा प्रमुखका उम्मेदवार शान्ता आचार्य र राजेन्द्र नेपालीले मात्र समयमै खर्च विवरण बुझाएका छन् । त्यस्तै उपप्रमुखमा पराजित भएकामध्ये माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले मात्र समयमै खर्च विवरण बुझाएका छन् ।

यसर्थ सन्धिखर्क नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका मध्ये शान्ता भण्डारी, राजेन्द्र नेपाली र राजेन्द्र भुसाल बाहेक सवैले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।

यता भूमिकास्थानमा नगर प्रमुखमा निर्वाचित झविलाल थापा र पराजित भएका अर्जुन खनाल ले समयमै खर्च विवरण बुझाउदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रेशम थापाले खर्च विवरण बुझाएका छैनन । त्यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी बसन्ता पौडेलले विवरण समयमा बुझाएकी भएपनि निर्वाचित भएका बालकृष्ण बन्जाडेले समयमा खर्च विवरण बुझाएनन । यहाँ रेशम थापा र बालकृष्ण बन्जाडेले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।

पाणिनीमा अध्यक्षमा निर्वाचित टेकराज न्यौपाने र उपप्रमुखमा निर्वाचित नर्मदा पौडेलले समयमै खर्च विवरण बुझाउदा प्रमुख तथा उपप्रमुखमा पराजित भएका अन्य कुनैपनि उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन । प्रमुख र उपप्रमुखमा पािरजित भएका सवै उम्मेदवारहरुले ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्नेछ ।

छत्रदेव गाउँपालिकामा अध्यक्षमा निर्वाचित चन्द्रमान श्रेष्ठले ढिलोगरी विवरण बुझाउदा उपाध्यक्षमा निर्वाचित मनी पन्थीले भने समयमै खर्च विवरण बुझाएकी छन् । छत्रदेवमा पनि अध्यक्ष र उपाध्यक्षमा पराजित कुनैपनि उम्मेदवारले खर्च विवरण बुझाएका छैनन । मनि पन्थी बाहेक अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेका सवैले समान ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।

मालारानी गाउँपालिकामा निर्वाचित अध्यक्ष दलबहादुर भट्टराई र उपाध्यक्षमा निर्वाचित दिपा पोख्रेलले खर्च विवरण समयमै बुझाएका छन् भने अध्यक्षमा पराजित भएकाहरुमध्ये राप्रपाका पदम महतले मात्र समयमै विवरण बुझाउदा उपाध्यक्षमा पराजित नेपाली काँग्रेसका शोभाखर खनालले पनि खर्च विवरण समयमै बुझाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *