‘महापुरुष’ बाट डेब्यु गर्दै अञ्जना

डिसी नेपाल
३ असोज २०७९ १३:४१
136
Shares

काठमाडौँ। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत अञ्जना बराईली डेब्यु गर्दैछिन्। मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना यो फिल्ममा अडिसनमार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन्।

अञ्जनाले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी हुन्। उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले बताए।

‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौं। अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनुभएको दृश्यले हामीलाई प्रभाव छाड्यो। धेरैको अडिसन लिए पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने। उनले अडिसनमार्फत छानिएको अञ्जनाको काम फिल्ममा प्रशंसायोग्य रहेको बताए। ‘दिग्गज कलाकारहरूसँग स्क्रिनमा देखिँदा उनीमा देखिएको कन्फिडेन्टले उनको भविष्य उज्ज्वल छ भने लागेको छ। उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छिन्,’ उनले भने।

राम्रो फिल्मको खोजीमा रहेकी अञ्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन्। ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ। एक फिल्ममा सेल्केट भएर केही समय प्रतीक्षा पनि गरें। तर त्यो फिल्म बनेन। पछि यसमा अडिसन दिएँ,’ उनले भनिन्। मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ। ‘म यहाँका लागि नौलो मान्छे। मलाई रवीन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो। अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो,’ उनले भनिन्।

मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अञ्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन्। ‘उहाँको छोरी बनेर काम गर्न पाउँदा ज्यादै खुसी छु। उहाँको माया र आशीर्वादलाई सिनमा समेत फिल्म गरें,’ उनले भनिन्।

महापुरुषमार्फत अञ्जनाझैँ अरुण क्षेत्री पनि डेब्यु गर्दैछन्। उनले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन्। उनको चरित्रको नाम विज्ञान हो। उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन्। उनी पनि फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन्।

अडिसन भएको एक हप्तापछि उनलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो। यद्यपि उनले अभिनय गरेको दोस्रो फिल्म ‘महापुरुष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ। सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरुष’मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थितिलाई व्यंग्य गरिने छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन्। उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते। शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए।  यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन्।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ। कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन्। ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ। आफ्नै मौलिक कथा र नाम महापुरुष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरू भन्दा यसपटक झनै माझिएका छौँ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *